ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

देशभर चिसो बढ्दै : वर्षा र हिमपातको सम्भावना        

२०७८ मंसिर, १७  
समाचार
Image Not Found

मंसिर १७, काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।     
     
काठमाडौं उपत्यकाको आकाशमा बिहानैदेखि बदली छ । घाम राम्रो नखुलेका कारण उपत्यकामा बढी चिसो महसुस गरिएको छ । न्यूनतम तापक्रम स्थिर अर्थात् १० डिग्री सेल्सियस रहे पनि बदलीका कारण चिसो बढेको छ । पछिल्लो साता काठमाडौँको न्यूनतम तापक्रम छदेखि आठ डिग्री सेल्सियस हाराहारी थियो । शुक्रवार काठमाडौंको न्यूनतम १० दशमलव ८ र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ ।     
     
महाशाखाका अनुसार दिउँसो सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशको पहाडी भूभागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र देशको उच्च पहाडी र हिमाली भेगका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।     
     
रातिको समयमा पनि कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने छ । देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली, लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुनका साथै देशको उच्च पहाडी र हिमाली भेगका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।     
     
 शनिवार दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश नं १ का पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आइतवार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement