ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

२५ ओटा कम्पनीद्वारा ६ अर्ब ८० करोड बराबरको आईपीओ निष्कासन गर्ने तयारी

२०७८ मंसिर, १७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १७, काठमाडौं । २५ ओटा अलग - अलग कम्पनीहरु आईपीओ निष्कासन गर्ने तयारीमा रहेका छन् ।

उक्त कम्पनीहरु कुल रू. ६ अर्ब ८० करोड ७६ लाख ४०० बराबरको ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेका हुन् ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएसँगै आईपीओ निष्कासन गर्ने तयारीमा रहेका हुन् । २५ ओटा कम्पनीमध्ये ६ ओटा लघुवित्त वित्तीय संस्था, दुई ओटा इन्स्योरेन्स कम्पनी, १५ ओटा हाइड्रोपावर कम्पनी र दुई अन्य समूहका कम्पनी रहेका छन् । अन्य समूहका कम्पनीहरुमा इमर्जिङ नेपाल र डिस मिडिया नेटवर्क रहेको छ ।

यी २५ ओटा कम्पनीमध्ये सबैभन्दा बढी ग्रीन भेञ्चर लिमिटेडले ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीको विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

त्यसैगरी, दोस्रोमा रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले रू. ११२ प्रिमियम थप गरी प्रतिकित्ता रू. २१२ मा ६० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ। विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

ती २५ ओटै कम्पनीले धितोपत्र बोर्डले स्वीकृति दिएपछि मात्र आईपीओ निष्कासन गर्नेछन् । पछिल्लो सयमा आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दै गएको देखिन्छ । छोटो समयमा नै शेयर सूचीकृत भइ दोस्रो बजारमा कारोबार शुरु हुने भएकाले र थोरै लगानीबाट आकर्षक प्रतिफल प्राप्त हुनाले पनि यसप्रति लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।

यसको पछिल्लो उदाहरणमा जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओलाई लिन सकिन्छ । उक्त कम्पनीको आईपीओमा रू. १ हजारको लगानी गर्दा एकै महीनामा ५५ हजार रुपैयाँसम्म पुगेको थियो । थोरै लगानीबाट आकर्षक प्रतिफल प्राप्त हुने हुनाले कतिपयले आईपीओ भर्नका लागि भएपनि डिम्याट खाता खोलेको पाइन्छ । 

विगत एक वर्षयतादेखि शेयर बजारबारे धेरै प्रचार- प्रसार बढी भएकाले पनि डिम्याट खाता खोल्नेको संख्या बढ्दै गएको छ । प्रविधिको विकास र विस्तारले सबै कार्य अनलाइनमार्फत गर्न सकिने भएकाले प्राथमिक तथा दोस्रो बजारमा कारोबार गर्न सहज भएकोे हो । आज अर्थात् मंसिर १७ गतेसम्ममा डिम्याट खाता खोल्ने सर्वसाधारणको संख्या ४७ लाख १२ हजार ७४ पुगेको छ ।

पछिल्लो समय सर्वोत्तम सिमेन्ट शेयर खरीद प्रकरणमा मुछिएपछि धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना* बर्खास्त भएका थिए । अध्यक्ष बर्खास्त भएसँगै लामो समय भइसक्दा पनि बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छैन ।

अध्यक्ष नियुक्तिको प्रक्रिया अझै केहि महीना लम्बिने संकेत देखिएपछि अब भने क्रमश : सबै प्रक्रिया पूरा गरेका कम्पनीहरुलाई आईपीओ निष्कासनको अनुमति दिने धितोपत्र बोर्ड स्रोतले जानकारी दिएको छ ।

*अद्यावधिक गरिएको

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement