ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

अब क्रिप्टोबारे बहस आवश्यक

२०७८ मंसिर, २०  
लेख | दृष्टिकोण
Image Not Found

गैरकानूनी भनिए तापनि क्रिप्टो मुद्राको बारेमा खुलेरै बहस हुन थालेको छ । तथ्यांकले पनि के देखाउँछ भने क्रिप्टोमा लगानी गर्ने त्यही मुलुकका धेरै छन् जहाँ यसलाई गैरकानूनी मानिएको छ । आजको प्रविधियुक्त समयमा कुनै पनि अनलाइन वस्तु वा सेवालाई रोक्न वास्तकमै कठिन कार्य हो । फलस्वरूप दक्षिण एशियाली मुलुकले यस्तो मुद्रालाई गैरकानूनी भनी पारिभाषित गरे तापनि यसको चाख उत्तिकै देखिन्छ ।

मुलुकको केन्द्रीय बैंकभन्दा बाहिर रहेर कारोबार गर्दा समग्र मुद्राको परिचालन नै बिग्रने डर छ भनेर विरोधीहरू तर्क गर्छन् भने क्रिप्टोको वकालत गर्नेहरू यसलाई भविष्यको मुद्रा मान्छन् । यसले महँगी नियन्त्रण मात्र गर्दैन नयाँ प्रचलन पनि सृजना गर्छ भनेर वकालत गरिन्छ । गतवर्षमात्र विश्वप्रसिद्ध संस्था टेस्लाले बिटक्वाइन नस्वीकार्ने निर्णय गर्दा समग्र क्रिप्टोको भविष्यमाथि प्रश्न उठेको थियो । तर, उसले पुनः बिटक्वाइन स्वीकार्ने सोचमा रहेको भनी १ अर्ब ५० करोड अमेरिकी डलर बराबरको करेन्सी खरीद गरेपछि विश्व मुद्रा बजार अहिले दोधारमा पर्न थालेको देखिन्छ ।

भारतको संसद् भवनमै भारतले पनि क्रिप्टो मुद्राको थालनी गर्नुपर्ने विषयले प्रवेश पाएको छ । भारतीय केन्द्रीय बैंकले पनि यस विषयलाई गम्भीरताका साथ लिएको छ । अहिले बिटक्वाइनबाहेक इथेरम, डोजक्वाइनलगायत क्रिप्टो मुद्राको रौनक विश्व बजारमा बढ्दै गएको देखिन्छ । गैरकानूनी भनिएको क्रिप्टो मुद्रा अहिले नेपाली र भारतीय जमातले कुनै न कुनै तरीकाले कारोबार गरिरहेको देख्न सकिन्छ ।

पारदर्शिता सुनिश्चित गराएर कारोबार सम्पन्न हुने हुँदा क्रिप्टो मुद्राले गरीब मुलुकमा वित्तीय सहभागितासमेत सुनिश्चित गर्ने दाबी भइरहँदा विकेन्द्रीकरणमार्फत ४०० खर्ब अमेरिकीभन्दा बढी बचत हुने विश्वास लिइएको छ । कारोबार खर्च घटाएर, पहिचानयुक्त भुक्तानी माध्यममार्फत कारोबार गर्दा विश्व मुद्राको बजार थप सुरक्षित हुने विश्वाससमेत लिइएको देखिन्छ । गोपनीयता कायम गर्दै ठूलो पहुँच सम्भव भएको हुँदा यसको प्रयोग बढेको देखिन्छ ।

बजारमा चल्ने हल्ला र आर्थिक गतिविधिले क्रिप्टोको मोल निर्धारण गर्ने भएकाले यसमा लगानी गर्नेहरूले खेप्नुपर्ने मुख्य जोखिम भनेको मुल्यमा देखिने उतारचडाव हो । हिजो के मूल्यमा किनिएको थियो र भोलि के मूल्य हुन्छ भन्ने कुराको सीमा हुँदैन । यस प्रकारको मुद्रालाई न सरकारले नियन्त्रण गरेको हुन्छ, न केन्द्रीय बैंकले गरेको हुन्छ । यसमा ह्याक भएर पैसा लुटिन सक्ने जोखिम छ । गतवर्ष मात्र ६० करोड अमेरिकी डलर बराबरको क्रिप्टो चोरी भएको थियो । यो मुद्रा सञ्चालनमा समस्या आउने हो, र बन्द हुने हो कि भन्ने डरसमेत रहिआएको छ । त्यसैले ठूलो मात्रामा लगानीकर्ताहरू यो एक्कासि बन्द होला कि भन्ने डरमा रहेको देखिन्छ । सहजै प्रवेश गर्न सकिने क्रिप्टो कारोबारमा बाहिरिन उस्तै कठिनसमेत छ । यसले मुलुकभित्र आपराधिक गतिविधि र आतंककारीसँग आबद्ध लगानी प्रवर्दन हुने हो कि भन्ने डर पनि रहन्छ ।

विश्वबजारमा क्रिप्टोको अवस्था हेर्ने हो भने एल सल्भेडरले बिटक्वाइनलाई कानूनी टेन्डरको मान्यता दिएको देखिन्छ । अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत मुलुकमा बिटक्वाइनलाई कानूनी मान्यता प्रदान गरिएको छ ।

बिटक्वाइनको निर्माण गर्ने समूह आजसम्म को हो थाहा छैन । यसले तेस्रो पार्टीको भूमिकाविना नै समग्र वितरण र कारोबार सम्पन्न गरिरहँदा डर कायम हुनु स्वाभाविक हो । यो अहिले नेपालजस्तो मुलुकमा कानूनी मान्यता दिन नसकिने अवस्था होला । तर, यसको बारेमा थप अध्ययन गर्न आवश्यक छ । यसभित्र लुकेका अवसरहरू खोज्न पनि आवश्यक छ र सम्भावनाबारे थप अध्ययन गर्ने समय आएको छ । यदि यो भविष्यमा सफल भएमा नेपाल र नेपाली लगानीकर्ताले ठुलो मूल्य चुकाउनुपर्ने समेत हुन जान्छ ।
नाइजेरियाको राजधानीमा एउटा सफ्टवेर निर्माताले बिटक्वाइनबाट आफ्नो भुक्तानी लिन्छ । ब्राजिलमा एउटा डेन्टिस्टले मासिक तलबको केही रकम क्रिप्टोमा लगानी गर्छ । रकमान्तर गर्न सस्तो भएर मात्र होइन, यस प्रकारको मुद्राले मुद्राको भाउ कमजोर बनाउने डरसमेत पन्छाउने गरेको भेटिन्छ । नेपाल जस्तो हुन्डी अत्यधिक हुने मुलुकमा यसको जोखिम झन् बढी हुने हुन्छ । यदि क्रिप्टोलाई व्यवस्थित तरीकाले चलायमान गर्न सकियो भने उतारचडाव हुने डलरको मूल्यबाट हाम्रो अर्थतन्त्र जोगिने हुन्थ्यो । यसले बैंकलाई प्रयोग नगरी अन्तरराष्ट्रिय कारोबारसमेत सञ्चालनमा ल्याउन सहयोग गर्छ । खुला बजारको सिद्धान्त अवलम्बन गर्ने हो भने क्रिप्टोबाट हुने लाभसमेत आकलन गर्न सक्नुपर्छ । यस प्रकारको मुद्राको वितरण वा आपूर्ति निश्चित हुने हुँदा अर्को विश्वास रहने हुन्छ । यद्यपि दक्षिण एशियाली मुलुकमा रहेकाहरूले यसलाई हाल लगानी गर्ने ठाउँकै रूपमा प्रयोग बढी गरेको देखिन्छ ।

विदेशमा भएको कैयौं अनुसन्धानले के पुष्टि गर्छ भने यस्तो मुद्राले आज परिचालन भएको मुद्राको तत्काल विकल्पका रूपमा प्रस्तुत हुन सक्दैन । कैयौं अनुसन्धानकर्ताले यस प्रकारको मुद्रालाई कारोबार हुने मुद्राभन्दा पनि डिजिटल सम्पत्ति भनेर स्वीकारेको समेत देखिन्छ ।

भनिन्छ विजेता ऐतिहासिक परिवर्तन गर्न सफल हुनेबाट जन्मन्छ । हिजो प्रतिस्पर्धा को अगाडि अन्तरिक्षमा पुग्ने भन्ने थियो । त्यो परिमार्जित भयो । पछि कोसँग परमाणु शक्ति छ, त्यसमा मूल्यांकन हुन थाल्यो । बदलिँदो युगमा अहिले को सूचना प्रविधिमा अब्बल छ, उही शक्तीशाली हुने देखिन्छ । अहिलेको होडबाजीमा हामीले केही मात्रामा भए पनि यसका बारेमा परीक्षण गर्दा जोखिम त होला, जोखिम लिए बापतको मुनाफा पनि हुन सक्ने हुन्छ ।

बजारशास्त्रमा एउटा शब्द छ ‘लग्गार्डस’ । यसको अर्थ पछि मात्र चलायमान हुने, वा समग्र बजारले प्रयोग गरिसकेपछि अन्तिमतिर प्रयोग गर्ने भन्ने हो । वाशिङटन पोस्टमा प्रकाशित एक लेखमा जनाएअनुसार शंका गर्ने र जोखिम लिन डराउने भोलि सोहि ‘लग्गार्डस’ समूहमा परेर पछुतो मान्ने अवस्था नआओस् । यदि क्रिप्टो हाम्रो अर्थतन्त्रलाई हानिकारक छ भने त्यो पनि बहसबाट निर्धारण हुनुपर्छ, वित्तीय साक्षरताको अर्को महŒवपूर्ण बहस, अब आवश्यक भइसकेको छ ।

रेग्मी बैंकर हुन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Monish Pokhrel

[Dec 10, 2021 09:19am]

Very good article Dwaipan Sir, Keep it up.



   

Nepali PatroRiddhi Siddhi Cement