ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

अर्थतन्त्रमा चलचित्र, गीतसंगीत क्षेत्रको योगदान

२०७८ मंसिर, २२  
लेख | दृष्टिकोण
Image Not Found

कुनै पनि देशको अर्थतन्त्रका मूल हाँगाबिँगा र अवयव सँगसँगै असंख्य अरू सहायक र परिपूरक पक्ष हुन्छन् । कुनै पनि देशको अर्थतन्त्र र विकास एकांगी ढंगले बढेको नभई अनुसन्धान, आर्थिक प्राविधिक सहयोग र उत्पादन एवम् वितरण प्रक्रियामा समेत मुलुकहरूका बीचको सहकार्यले उन्नत हुँदै गएको छ । २१औं शताब्दीको विश्वबजार व्यवस्थामा सूचना र प्रविधिमा आएको क्रान्तिले अभूतपूर्व परिवर्तन ल्याएको छ । देश आधुनिकतातर्फ बढ्दै जाँदा अर्थतन्त्र र विकासको क्षेत्र, स्वरूप, लक्ष्य र आयतनमा अकल्पनीय र सकारात्मक परिवर्तन आएको छ । समकालीन नेपालमा गीत, संगीत र चलचित्र क्षेत्र नेपालको अर्थतन्त्रको एक सशक्त पाटोका रूपमा स्थापित भएको छ । सांस्कृतिक जागरण र मनोरञ्जनमा मात्रै नभई गीत, संगीत र चलचित्र क्षेत्र आयआर्जन र रोजगारी सृजना गर्ने राम्रो व्यवसायका रूपमा स्थापित भएको छ । यो क्षेत्रलाई आफ्नो पेशा र व्यवसाय बनाएका लगानीकर्ता र कलाकर्मीहरूमार्फत प्राप्त जानकारीका आधारमा यस क्षेत्रले अभूतपूर्व फड्को मारेको देखिन्छ । गीत, संगीत र मनोरञ्जनको क्षेत्रमा रेडियो नेपालको स्थापना (सन् १९५१ ) लाई कोसेढुंगाका रूपमा लिन सकिन्छ । त्यसपछि राष्ट्रिय नाचघर (सन् १९६१) रत्न रेकर्डिङ संस्थान (सन् १९६२) नेपाल चलचित्र संस्थान (सन् १९७१) र नेपाल टेलिभिजन (सन् १९८४) सरकारी संस्थानका रूपमा खुलेपछि कलाकारिताको क्षेत्रले गति लिन थालेको थियो । नेपाल टेलिभिजन खुलेपश्चात् सरकारले निजीक्षेत्रलाई प्रोत्साहित गर्ने, सहयोग गर्ने कुनै ठोस कार्य गरेको देखिँदैन । २०४६ सालपछि आर्थिक उदारीकरणको नीतिस्वरूप भएका सरकारी संस्थान र उद्योग बेच्नेबाहेक निजीक्षेत्रका मनोरञ्जन, गीत, संगीत, कलाकारिता क्षेत्रमा नीति निर्माणबाहेक अरू उल्लेखनीय सहयोग गर्ने कार्यमा अग्रसरता लिएको पाइँदैन ।

तैपनि यस क्षेत्रमा निजीक्षेत्रले ठूलो लगानी गरेको छ । देशभरि १००औं एफएम, रेडियो स्टेशन, रेकर्डिङ स्टुडियो, नाचघर, नृत्यसंगीत पाठशाला, तालीम केन्द्रलगायत ठूलो संरचनामा निजीक्षेत्रले अर्बाैं लगानी गरेको अनुमान गर्न सकिन्छ । अहिले हरेक वर्ष १०० भन्दा बढी नेपाली चलचित्र बजारमा आउने गरेका छन्, अनुमानित ५ हजारभन्दा बढी नयाँ गीत धून, ४ हजारको हाराहारीमा म्युजिक भिडिओ र १००औं सांगीतिक कार्यक्रम आयोजना गरिने गरेका छन् ।

कलाकारितालाई आफ्नो पेशा बनाएर काम गर्ने युवायुवतीको संख्याले निकै ठूलो आकार लिएको छ भने निजी लगानीकर्ताको ठूलो धनराशीले गीत, संगीत र चलचित्र क्षेत्र बृहत् उद्योगका रूपमा विस्तारित भएको छ । नेपाली भाषा, भाषिका, जातजातिको संस्कृति वेशभुषालाई जीवन्त राख्दै गीत, संगीत, नाचगानले सामाजिक चेतना, सद्भाव र मनोरञ्जनमा अतुलनीय योगदान पुर्‍याएको छ । यस्तो सामाजिक चेतना र उत्थानको आर्थिक लेखाजोखा नभए पनि सामाजिक सद्भाव बढाउन र देश विकासमा अहम् भूमिका रहन्छ ।

यस उद्योगसँग प्रत्यक्षअप्रत्यक्ष संलग्न जनशक्ति १ लाखभन्दा बढी रहेको उद्योगीहरू बताउँछन् । दुःखद कुरा, यो उद्योगमा भएको लगानी र रोजगारीलगायते आधिकारिक तथ्यांक र जानकारी कतै पनि छैन । सरकार र निजीक्षेत्रलाई आआफ्ना कार्यक्रम बनाउन आवश्यक तथ्यांक र सूचनाको अभावले उपयुक्त योजना बनाउन अप्ठ्यारो परेको कुरा सजिलै बुझ्न सकिन्छ । यस उद्योग देशभित्र मात्रै सीमित नभई विश्वव्यापी हुँदै गएकाले यसलाई प्रोत्साहित र सहयोग गर्ने कार्यमा सरकारी भूमिका महत्त्वपूर्ण रहन्छ । यो विदेशी मुद्रा आर्जनको नयाँ स्रोत बनेको छ । युट्युब, टिकटक आदि अन्तरराष्ट्रिय कम्पनीमार्फत नेपाली कलाकारहरूले प्राप्त गर्ने रोयल्टी पनि दिनदिनै बढ्दै गएको छ । यसरी नेपाली कलाकारहरूले सालाना प्राप्त गर्ने रकमको आंकडाले ठूलै आकार लिएको अनुमान गर्न सकिन्छ ।

अहिले धेरै कलाकार कलाकर्मबाटै आफ्नो र परिवारको जीविका चलाउन समर्थ भएका छन् । २ दशक पहिला कलाकारहरूले पाउने पारिश्रमिक नगण्य हुन्थ्यो । फलस्वरूप कलाकारिता पेशाभन्दा एमेच्योरका रूपमा (फुर्सदको कामका रूपमा) गर्ने गरिन्थ्यो । तर, अहिले यसले पेशाको रूप लिएको छ र सृजनात्मक पनि बनेको छ ।

मनोरञ्जन उद्योगले छोटो समयमा फड्को मारेको हेर्दा यसले बृहत् राष्ट्रिय उद्योगको स्थान लिने कुरामा कुनै द्विविधा छैन । कम लगानीमा देशको दुर्गम र पिछडिएको वर्गलाई सामाजिक, आर्थिक र सांस्कृतिक फाँटमा अघि बढ्न प्रेरित गर्न सकिने भएकाले पनि यो क्षेत्रको अझै बढी महत्त्व छ । सूचना प्रविधिको विकास र सामाजिक सञ्जालका माध्यमले विपन्न र दुर्गम भेगमा बस्ने सुविधाविहीन समुदाय गीत, संगीत र कलाकारिताको क्षेत्रमा अत्यधिक आकर्षित भएको पाइन्छ । खासगरी विगत २ दशक यता नेपाली लोकगीत संगीतको अकल्पनीय विकास भएको छ । अहिलेको अवस्था नेपाली लोकगीत संगीतको स्वर्णयुग नै भन्दा पनि अत्युक्ति नहोला । हिजो पाखे गीत भन्ने जमात अहिले लोकगीत संगीतको प्यान भएका छन् । संवाद, सम्पर्क र प्रचारप्रसारको कमीले गर्दा मौलिक भाका र सृजनाको मिठास अनि महत्त्व बुझ्न र बुझाउन गाह्रो भएको थियो । अब त्यो खाडल पुरिएको छ, सम्पूर्ण देशले एकअर्काका भाका, मौलिकता र नाचगान बुझ्न थालेका छन् । त्यसैले उत्कृष्ट सृजना प्रस्फुरित भएका छन् भने बजार विस्तार भएको छ । यस्ता बहुसंख्यक नवप्रतिभाहरू दुर्गम गाउँ र पिछडिएको पेशागत जातिबाटै निस्किएका छन् । यसले गर्दा जातीय भेदभावको खाडल पुर्न पनि मद्दत पुर्‍याएको छ । सरकारी सहयोग र प्रोत्साहनको कमि हुँदा पनि यसरी फस्टाएको यो उद्योगलाई सरकारी, गैरसरकारी र निजीक्षेत्र मिलेर हौसला र ऊर्जा थपिदिने हो भने उद्योगका स्वरूपमा कायापलट हुने थियो । साधनस्रोत, तालीम, छात्रवृत्ति, हल, भवन, वाद्यवादन सामग्री आदि उपलब्ध गराउन सके उद्योगले अझै उचाइ प्राप्त गर्न सक्नेछ ।

पर्यटन उद्योगजस्तै असीमित सम्भावना भएको मनोरञ्जन उद्योगको अल्प, मध्यम र दीर्घकालीन विकासका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गरी योजना तर्जुमा र कार्यान्वयन गर्नु जरुरी भइसकेको छ ।

लेखक संयुक्त राष्ट्रसंघका पूर्वकर्मचारी हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्