ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

शुक्लागण्डकीमा सामूहिक च्याउखेती

२०७८ मंसिर, २२  
गण्डकी प्रदेश
Image Not Found

म्याग्दी । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ तार्कुडाँडाका किसानले सामूहिक रूपमा च्याउखेती शुरू गरेका छन् । गत वर्षबाट यहाँका किसानले सामूहिक रूपमा च्याउखेती शुरू गरेका हुन् । १६ जना किसान मिलेर सिताके च्याउखेती शुरू गरिएको छ ।    

पाँच सय कटुसको मुढामा च्याउ लगाइएकोमा पहिलो वर्ष अपेक्षित उत्पादन नभएको तार्कुडाँडा भंगरा कृषक समूहका अध्यक्ष उदयराज खनालले बताए । उक्त वर्ष ४७ केजी च्याउ उत्पादन भएको थियो ।

यस वर्ष भने रहर लाग्दो गरेर च्याउ उत्पादन भएको छ । मुढामा फलेका च्याउले किसानलाई उत्साहित बनाए पनि बजार नपाएपछि भने उनीहरू निराश बनेका छन् । बजार नपाएपछि किसान आफैले च्याउ उपभोग गर्न बाध्य छन् । अन्य च्याउले जस्तो सिताके च्याउले बजार पाउन नसकेको खनालले बताए । ‘मेहनेत गरेर च्याउ फलायौँ । एउटै मुढामा सयको हाराहारीमा च्याउ फलेको छ । तर बजार पाउन सकेको छैन,’ उनले भने । सिताके च्याउको मूल्य महँगो पर्ने भएकाले बजार नपाएको उनले बताए । शुरूमा ७०० प्रतिकेजीमा विक्री गरेको च्याउ उत्पादन बढ्न थालेपछि ६०० मा विक्री भइरहेको छ ।

यो वर्ष असोज अन्तिमयता २०० केजी बढी च्याउ उत्पादन भइसकेको छ । अझै चार महिना उत्पादन हुने भएकाले कसरी बेच्ने यही चिन्ताले किसानलाई सताएको छ । अहिले उत्पादित च्याउ यहाँका कोत्रे, दुलेगौंडा, खैरेनीटार बजार क्षेत्रका घरघरै लगेर विक्री गरिन्छ । सिताके शुक्लागण्डकीमा नयाँ प्रजाति भएकाले विषालु हुने आशंका गर्दै ग्राहकले खरीद गर्न नखोज्ने किसान समूहका सचिव खेम गुरुङले बताए ।

किसानले च्याउ खेतीमा हालसम्म झन्डै ५ लाख लगानी गरेका छन् । शुक्लागण्डकी नगरपालिका–२ कार्यालयले बीउ खरिदमा गत आर्थिक वर्षमा ५० हजार अनुदान दिएको थियो । त्यसका लागि समूहमा आबद्ध किसानले ४८ हजार लगानी गरेका थिए ।

तार्कुडाँडा भंगरा खानेपानी उपभोक्ता समितिले निःशुल्क आवश्यक पानी उपलब्ध गराएको छ । कटुसको स्याउलाले छाएर स्थानीय स्रोतसाधन प्रयोग गरी च्याउ लगाउन टनेल बनाइएको छ । छानोमा स्याउलाको सट्टा जुट राख्न उपयुक्त भए पनि उत्पादित च्याउले बजार नपाएपछि रकम अभावमा राख्न नसकेको गुरुङले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement