ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

चितवनमा सुन्तलाको उत्पादकत्वसँगै उत्पादन पनि घट्यो 

२०७८ मंसिर, २२  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

मंसीर २२, चितवन । चितवनमा पछिल्ला वर्षहरुमा सुन्तलाको उत्पादन घट्दै गएको छ ।

कृषि ज्ञान केन्द्र चितवनका अनुसार अघिल्लो वर्षभन्दा यो बर्ष २५ प्रतिशतले सुन्तला उत्पादनमा ह्रास आएको हो । चितवनको पहाडी क्षेत्र ईच्छाकामना गाउंँपालिकाको वडा नं २, ३, ४, ५, ६ मा किसानहरुले सुन्तलाखेती गर्दै आएका छन् । 

गाउँपालिकाको  तामिन कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिबहादुर नेपालले केही वर्षयता सुन्तलाका बोट मर्न थालेसंँगै उत्पादनमा ह्रास हुँदै गएकोे बताए । 

‘कहिले असिना र हावापानीले  फूल झारेर पूर्ण रुपमा फल लाग्दैन’,  उनले भने, ‘कहिले फल्ने र पाक्ने बेलामा रोग लागेर उत्पादन हुँदैन ।’यहाँको स्थानीय जातको सुन्तलाको माग र फाईदा राम्रै भएपनि बर्षैपिच्छे उत्पादन घटिरहेको उनको भनाइ छ ।

राम्रै हावापानी र मलबीउको व्यवस्थापन गर्दा पनि बोट सुक्ने, पहेंलो हुदै गएका कारण उत्पादन हुन नसकेको उनले बताए । अघिल्लो वर्ष झण्डै प्रतिहेक्टर ८ दशमलब ८ टनको हाराहारीमा घटेको र अहिलेपनि प्रतिहेक्टर ८ टनले उत्पादनमा गिरावट आएको ज्ञान केन्द्रले जनाएको छ । 

ज्ञान केन्द्रका अनुसार उक्त गाउँपालिकामा सुन्तलाखेती योग्य जमीन २५० हेक्टर भएपनि करीब १२५ मा मात्रै हुँदै आएको छ । शुरुवाती क्षणमा सुन्तलाको उत्पादन र उत्पाकत्व वृद्धि भएपनि पछिल्ला बर्षहरुमा यसको उत्पादन घट्दो क्रममा छ । 

ज्ञान केन्द्रका सूचना अधिकारी मिन बहादुर पुनले यो वर्ष  प्रतिहेक्टर ८ टनले उत्पादनमा ह्रास  भएको बताए । ‘उत्पादनमा मात्र होइन प्रतिहेक्टर उत्पाकत्वमा पनि ह्रास आएको छ’, सूचना अधिकारी पुनले भने । 

उनका अनुसार सुन्तलाको बोट पुरानो हुँदै जानु, किसानमा बगैंचा व्यवस्थापनको ज्ञानको कमी, सिंचाईको अभावलगायत निषेधाज्ञाका कारण सुन्तला ब्लक कार्यक्रमलाई सुचारु गर्न नसकिएका कारण पनि उत्पादनमा ह्रास आएको हो । एउटै प्रकारको फलफूल विरुवा कलमी नगरी  उत्पादन घट्ने र रोगको जोखिम पनि उत्तिकै हुने पुनको भनाई छ । 

कृषि विज्ञका अनुसार कुनैपनि अन्नबालीमा एकैप्रकारको बीउ र वागवानी बाली नियमित कलमी नगरिकन विरुवा रोप्दा त्यसले अपेक्षित उत्पादन दिन सक्दैन । १ देखि २ वर्षको फरक पारेर कलमी गरेको फलफूलको विरुवा प्रतिस्थापन गर्दा  उत्पादन पनि बढ्ने र रोगपनि कम लाग्ने गरेको उनीहरुको भनाइ छ । 

कृषि ज्ञान केन्द्रले इच्छाकामनाको वडा नम्बर ५ मा रहेको तामिन क्षेत्र, वडा नम्बर २ मा रहेको तल्लो काउले क्षेत्र, ३ नं वडामा रहेको ढाप र साठीमुरेको केही भागलाई सुन्तला पकेट क्षेत्र घोषणा गरेको थियो । यहांँ सबै पकेट क्षेत्रलाई मिलाएर झन्डै १०० हेक्टरलाई ज्ञान केन्द्रले सुुन्तलाको ब्लक क्षेत्र घोषणा गरेको छ । 

इच्छाकामनाको वडा नम्बर  ३ मा सबैभन्दा बढी सुन्तलाखेती गरिएको छ । यहाँ १०० बीघाभन्दा बढी जमीनमा सुन्तलाखेती गरिएको छ । यसैगरी वडा नम्बर ५ मा ५० बीघामा, वडा नम्बर २ मा करीब ३० बीघाभन्दा बढीमा सुन्तलाखेती गरिएको  छ । यहाँ उत्पादन भएका सुन्तला रसिलो र स्वादिलो हुने गरेकोले पनि यसको माग उत्तिकै छ ।  यहाँको सुन्तला विशेषगरी मुग्लिन बजार, पोखरा एवं काठमाडौंमा विक्रीवतरण हुने गरेको छ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्