ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

विकासका लागि प्रदेश नं १ मा निजी क्षेत्रलाई प्रशस्त ठाउँ छ : मुख्यमन्त्री राई 

२०७८ पौष, १४  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

पुस १४, विराटनगर  । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको विकासका लागि सरकारले निजी क्षेत्रलाई पर्याप्त ठाउँ दिने बताएका छन् ।

सरकारसँग बजेट सानो भएकाले निजी क्षेत्रलाई स्वतः अवसर रहेको भन्दै उनले प्रदेशको विकासमा सरकारले सहयोग र समन्वय गर्न चाहेको बताए।

प्रदेश नं १ को लगानी प्राधिकरणको आयोजनामा मंगलवार आयोजित दीर्घकालीन आर्थिक विकास, लगानी प्रवर्द्धन र निजी क्षेत्रको भूमिका विषयक कार्यशाला गोष्ठीका अवसरमा बोल्दै मुख्यमन्त्री राईले निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए ।

उनले विकासको नाममा वस्तुको विकासलाई मात्रै प्राथमिकता दिएको र मानवीय क्षेत्रको विकासमा ध्यान नदिइएको भन्दै आफू विकेन्द्रिकृत विकासको पक्षमा रहेको स्पष्ट पारे ।

‘विकासका नाममा एकैठाउँमा थोपर्ने काम भयो, शहरमा मात्रै महंगा अस्पताल बने, दुरदराजमा धामी झाँक्रीकै भर छ’, मुख्यमन्त्री राईले भने, ‘विकासले मान्छेको विकासलाई केन्द्रमा राख्नुपर्छ, मान्छेले नपाउने खालको विकासलाई सरकारले अघि बढाउनु हुँदैन ।’

उनले औद्योगिक तथा प्राविधिक रुपमा देखिने खालका ठूला विकासका संरचनाहरु निर्माण पश्चात प्राप्त हुने निश्चित मुनाफा प्रतिशत सम्बन्धित क्षेत्रमै खर्च गर्नुपर्ने गरी विकासको मोडल अघि बढाउनु पर्ने बताए । साथै वातावरणीय दृष्टिले उचित देखिएका कामलाई मात्रै विकास संरचनाका रुपमा निर्माण गर्नुपर्नेमा मुख्यमन्त्री राईले जोड दिए ।

कार्यक्रममा प्रदेश नं १ सरकारका प्रमुख सचिव डा रामप्रसाद घिमिरेले संघीयताकै कारण नागरिकहरुमा विकासप्रतिको आकांक्षा बढेकाले सरकारले गर्ने कामले नागरिकको विश्वास जित्न सक्नु पर्ने बताए ।

उनले सरकारले गर्ने लगानी कारोबार केन्द्रितलाई भन्दा उत्पादन केन्द्रित अर्थतन्त्रका लागि बढि केन्द्रित हुने जानकारी दिए । विकासका लागि निजी क्षेत्रले पनि आफ्नो क्षमता विकास गर्दै जानु पर्नेमा जोड दिंदै घिमिरेले सरकारले आवश्यक ठाउँमा सहयोग लिन र दिनसक्ने स्पष्ट पारे ।

मुख्यमन्त्री राईका आर्थिक सल्लाहकार राजेन्द्र राउतले शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा प्रदेश नं १ मा लगानी बढ्दै गएकाले अब कृषि क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाजगदीशचन्द्र पोखरेल, नेपाल सरकारका पूर्वसचिव किशोर थापा, लगानी बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत राधेश पन्त, द एशिया फाउण्डेशनका कार्यकारी प्रबन्धक आश्रय पाण्डे लगायतले प्रदेशको विकासका लागि लगानीका क्षेत्र, लगानीको स्रोत, मोडल र मापदण्डबारे आ आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा प्रदेश लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत डा सरोज कोइरालाले प्रदेश नं १ को आर्थिक विकास र लगानीका अवसरबारे जानकारी गराएका थिए । त्यसमा प्रदेश योजना आयोगका सचिव जयकुमार घिमिरे र निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले टिप्पणी गरेका थिए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement