ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

राष्ट्रिय आविष्कार केन्द्रमा इजरायलले बनाइदियो हाई- टेक कक्षाकोठा

२०७८ पौष, २२  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २२, काठमाडौं । इजरायल सरकारले नेपालमा पहिलो पटक हाई–टेक संरचना निर्माण गरेको छ ।

काठमाडौंको कीर्तिपुरमा रहेको राष्ट्रिय आविष्कार केन्द्रमा इजरायलले रिसर्च एन्ड डेभलपमेन्ट (आर एन्ड डी) हब र हाई–टेक कक्षाकोठा स्थापना गरिदिएको हो । हब तथा कक्षाकोठामा ल्यापटप, वेबक्याम, डिजिटल डिस्प्ले स्क्रिन, इन–बिल्ट साउन्ड सिस्टम, ग्लास बोर्ड, एयर–कन्डिसनिङसहितका उपकरण जडान गरिएका छन् ।

नेपालका लागि इजरायलका राजदूत हनन गोडर, मिसन उपप्रमुख तल स्भर्टस्मन र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बिहीवार हाई - टेक संरचनाको  उद्घाटन गरेका हुन् । इजरायली तौरतरिकामा बनाइएको उच्च–प्रविधियुक्त कक्षाकोठा तथा आर एन्ड डी हबको साँचो एक समारोहका बीच पुनलाई हस्तान्तरण गरिएको छ ।

‘७० वर्षको छोटो अवधिमा सानो देश इजरायलले प्रविधि र नवप्रवर्तनको मद्दतले विकासमा ठूलो फड्को मारेको छ,’ राजदूत गोडरले भने, ‘यसबाट नेपालले सिक्न, यहाँ के गर्न सकिन्छ भन्ने बुझ्न सक्छ ।’ उनले बाजेको पालाको प्रविधि प्रयोग गरेर कतै कहीं नपुगिने भन्दै नयाँ आविष्कारको काममा लागेकोमा आविष्कार केन्द्रलाई बधाइ पनि दिए ।

कार्यक्रममा मिसन उप- प्रमुख स्भर्टस्मनले पछिल्लो समय इजरायलले स्याउ (कृषि) होइन, हाई–टेक आइडिया निर्यात गर्दै आएको बताए ।

नेपालमा पहिलो हाई–टेक स्टार्ट–अप शुरु भएकोमा खुसी व्यक्त गरे । केन्द्रका अध्यक्ष पुनले नेपालभन्दा झन्डै सात गुणा सानो, सुक्खा र थोरै जनसंख्या भएको देश इजरायलले प्रविधि र नवप्रवर्तनमा ठूलो फड्को मारेको बताए । उनले नवउद्यम, उच्च–प्रविधि र आविष्कारबारे कुरा गर्दा आफूले सँधै इजरायलको उदाहरण दिने गरेको बताए ।

‘भौगोलिक रूपमा इजरायल सुक्खा, मरुभूमियुक्त देश हो तर इन्नोभेसन (नवप्रवर्तन) का लागि यो निकै उर्बर ठाउँ छ,’ उनले भने, ‘नेपाल भने भौगोलिक रूपमा हरियालीयुक्त र उर्बर भए पनि नवप्रर्वतनको मामिलामा सुक्खा, खडेरी परेकोजस्तो छ ।’ उनले अनेकौं समाधानमुखी आइडियासहित केन्द्रमा आउने युवाहरूलाई साथ दिन इजरायली विज्ञता निकै काम लाग्ने  पनि बताए ।

इजरायलको प्रतिष्ठित बेन गुरिअन विश्वविद्यालयअन्तर्गको याजामुट ३६० आन्तरप्रेनरसिप सेन्टरकी डाना गाभिसले इजरायलमा कसरी शैक्षिक संस्थाबाटै नवउद्यमी र प्रविधि विज्ञहरू उत्पादन गरिन्छ र तिनले इजरायलको अर्थतन्त्रमा कस्तो योगदान पुर्‍याइरहेका छन् भन्नेबारे भर्चुअल प्रविधि जुमबाट जानकारी दिएकी थिइन् ।

‘इजरायलका १० प्रतिशत कामदार हाई–टेक कम्पनीमा काम गर्छन्,’ इन्नोभेसन अथोरिटी अफ इजरायलले हालै सार्वजनिक गरेको तथ्यांकलाई उदृत गर्दै उनले भनिन्, ‘हाल देशभर ७० हजार ओटा स्टार्टअप कम्पनी सञ्चालनमा छन् । देशको अर्थतन्त्रको ठूलो हिस्सा हाई–टेक प्रविधिमा निर्भर छ ।’

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्