ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

देशभक्त जत्थाहरू

२०७८ पौष, २३  
तीतो मीठो
author avatar मदन लम्साल

उनीहरू संसद्तिर जाँदै छन् । राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ । उनीहरू एकअर्काविरुद्ध भोट हाल्न जाँदै छन् । उनीहरू सबका सब देशभक्त हुन् । उनीहरू एकअर्कालाई देशका शत्रु मान्छन् । भोट दिएर एकथरीलाई जिताउनु छ । अर्कोथरीलाई हराउनु छ । आफूले भनेकोेले जितेन भने देश अमेरिकाको बन्धक बन्छ । अर्कोथरीलाई हारियो भने चीनको बन्धक बनिन्छ कि भन्ने पीर छ । आफू हारे देश कमजोर हुन्छ भन्ने दुवैथरीलाई छ । यी सबैलाई देश बचाउनुपर्छ भन्ने विश्वास यति प्रबल छ कि उनीहरू एकअर्कालाई वर्गशत्रु मान्छन् र पर्‍यो भने र सकेदेखि अर्काथरीलाई सिध्याउने मौका चुकाउन चाहन्नन् । देशभक्तिको यो उपक्रम वर्षौंदेखि जारी नै छ । देशभक्तिको यस्तो हुटहुटी त केही समयपछि हुने स्थानीय निकायको निर्वाचनमा पनि देखिने नै छ ।

सबै देशभक्त जत्थाहरूको एउटा कुरामा भने समानता छ । त्यो हो– कहिले अर्कोलाई सिटबाट हटाऊँ र आफू बसौं । अझ जेलबाट छुटेर भर्खर नयाँ जत्था बनाउन भ्याएका वा भर्खर तोडफोडको देशभक्ति शुरू गरेका नेताहरू जसको टोले मुन्द्रेहरू र छिमेकी बन्दुकेहरूसँग पकड छ, उनीहरूको अलग्गै अकड छ ।

थुप्रै मानिस देशको मुख्य राजधानीमा बस्छन् । भनिन्छ– प्रायः देशभक्तहरू बस्ने शहर यै हो । तर यति धेरै देशभक्तहरू एकैपटक एकै ठाउँमा अहिलेसम्म देखिएका थिएनन् । एकै ठाउँमा बसे पनि देशभक्तहरू झुन्ड–झुन्ड, गुट–गुटमा बाँडिएका छन् । कुनै जत्था साना छन्, कुनै ठूला । जोसँग जति मान्छे छन्, त्यति नै लिएर उनीहरू देश बचाउन हिँडेका छन् । यो महासंग्राममा प्रत्येकको मूल्य छ । कोही कोही त एक्लै पनि हिँडिरहेका छन् । एक्लै हिँड्नेको मूल्य पनि धेरैसँग हिँड्नेको भन्दा कम छैन ।

देश बचाउने युद्धमा सबैभन्दा अग्रपंक्तिमा छ कम्युनिष्टहरूको जत्था । ऊ आफूलाई सबैभन्दा उग्ररूपमा देशभक्त मान्छ । उ ब्यालेन्स गर्न माहिर छ । त्यसैले दक्षिणको सिता खाए पनि उत्तरको गीता गाउन कहिल्यै बिर्सन्न । ऊ पुरानै देशभक्त हो । २००४ सालदेखि नै ऊ देशलाई माया गरि नै रहेको छ । झुन्ड–झुन्डमा, गुट–उपगुटमा, अनेक रंगमा, अनेक ढंगबाट ।

ऊ गतिमा विश्वास गर्छ, चलायमान हुनुमा विश्वास गर्छ । त्यसैले स्थिरतालाई अस्वीकार गर्छ भने बाँकी सबै कुरा स्वीकार गर्छ । चार सालदेखि नै ऊ सबै कुरा स्वीकार गरेरै त हिँडिरहेको थियो । महँगी बढ्न लाग्थ्यो कि उसले वक्तव्य जारी गरिरह्यो । समृद्धिको नारा लेख्यो, गरीबी नघटेकोमा उसले प्रधानमन्त्रीलाई चिठी लेख्दियो । पेट्रोलियमको मूल्य बढेको विरोधमा सानोतिनो जुलुस नै निकाल्यो । देशका खातिर यो जत्थाले के मात्र गरेन, रत्नपार्कका रेलिङ भाँच्नेदेखि टेलिफोनमा बुथ जलाउनेसम्मका महान् कामहरू गरेको छ ।

त्यतिमात्रै कहाँ हो र ? त्यै जत्थाभित्रका देशप्रेमले अति ओतप्रोत भएको एउटा जत्था त जंगल पनि पस्यो, भारत पस्यो, दरबार पस्यो । कहाँकहाँ पस्यो पस्यो । त्यै क्रममा हजारौंलाई संसारबाटै बिदा गर्नेमा कर्तुतमा पनि ऊ फस्यो । यो जत्थाको मनोवृत्ति कस्तो हँदोरहेछ कुन्नि, सरकार बाहिर हुँदा देशभक्तिकै कारण होला उसले संसद् कहिल्यै चल्नै दिएन । जब सरकारमा पुग्यो, ऊ देशका लागि थप केही गर्न चाहन्थ्यो रे । तर उसलाई उसकै दलभित्र र बाहिरकाले कामैै गर्न दिएनन् रे । तर बिचरा ! कम्युनिष्टहरू देशभक्तिमा यसरी डुबिरहे कि ३ दशक कसरी बित्यो पत्तै पाएनन् ।

अर्को ठूलै देशभक्त, प्रजातान्त्रिक समाजवादवाला जत्था पनि छ देशमा । ऊ आफूलाई कांग्रेस भन्छ क्यारे । ऊ अहिले बडो आत्मविश्वासका साथ देशभक्तिमा डुबेको देखिन्छ । यसका अगुवाहरू पनि गम्भीर मुद्रामा कछुवातालमा सही, हिँडि नै रहेका छन् । बीच बीचमा एकाध युवाहरू बुढाहरूका बीचमा नारा लगाउन पनि आइपुग्छन् । पत्रकारहरू प्रश्न गर्छन् कि अहिलेको जमानामा यो प्रजातान्त्रिक समाजवाद भनेको के हो ? युवा कांग्रेस नेताहरूसँग यसको कुनै जवाफ छैन । अनि एमसीसी के हो नि ? कांग्रेस सांसद जवाफ दिन्छन्, ‘यो एमसीसी जे सुकै होस्, देशको हितमा छ । एमसीसीविना हाम्रो देशले प्रगति गर्नै सक्दैन ।’

देशमा अर्को सानो जत्था छ, जो आफूलाई सबैभन्दा बढी देशभक्त मान्छ र देशमा राजाविना सबै थोक अपुरो अधुरो हुने ठान्छ । विगतमा राजाहरूकै कारण देश यो हालतमा पुगेको हो भन्ने तथ्यलाई ऊ तोडमोड भएको र भ्रमपूर्ण ठान्दछ ।

वैकल्पिकको नारा दिएर आएका तर विकल्प दिन नसकेका नयाँ जत्थाहरू पनि आएका छन् देशमा । तर यी जत्थाहरूको विचार र क्रियाकलाप हेर्दा यस्तो लाग्छ कि यिनीहरूले समूह बनाएको यिनका परिवारले समेत पत्याएका छैनन्, कार्यकर्ताहरूले पत्याउने त परको कुरा भयो । शायद त्यै रिस फेर्न घर बाहिर आएर आफू आफूमा एकअर्कालाई लात्ती मुड्की प्रहार गर्छन् । तर आफूहरू चैं खरो देशभक्त हुँ भन्दै फेसबुक र ट्विटरका भित्ता रंग्याइरहन्छन् ।

सबै देशभक्त जत्थाहरूको एउटा कुरामा भने समानता छ । त्यो हो– कहिले अर्कोलाई सिटबाट हटाऊँ र आफू बसौं । अझ जेलबाट छुटेर भर्खर नयाँ जत्था बनाउन भ्याएका वा भर्खर तोडफोडको देशभक्ति शुरू गरेका नेताहरू जसको टोले मुन्द्रेहरू र छिमेकी बन्दुकेहरूसँग पकड छ, उनीहरूको अलग्गै अकड छ । उनीहरूको काम कारबाही, गतिविधि हेर्दा मानौं, उनीहरूले यसो भन्न जोखिरहेका छन् जस्तो लाग्छ– ‘हामी जेलमा थियौं त के भो ? देशहितका कुरामा कोहीभन्दा पछाडि छैनौं त ।’

यी तमाम नयाँ पुराना जत्थाहरूको देशभक्तिका कारानामाहरू त महालेखाले हरेक वर्ष प्रतिवेदन निकालेरै सार्वजनिक गर्छ । अख्तियारका दराजभित्र फाइलहरूमा थन्क्याइएका यिनीहरूले विगतमा गरेका देशभक्तिका गाथाहरू त यहाँ उल्लेख गरिसाध्यै छैन । कहाँ छचल्किँदैन यी जत्थाहरूका देशप्रेम ? किसानका खेतमा हेर्नुस् वा गाईगोठहरूमा । उद्योगहरूमा हेर्नुस् वा विदेश जाने युवाका कलिला ओठहरूमा ।

यो सबै देख्दा बेला बेलामा मभित्र पनि देशभक्तिको भावना भयंकर उम्लिएर आउँछ । तर सोच्न सकिरहेको छैन कुन जत्थामा सम्मिलित होऊँ भनेर । सबैको आँखामा नशा देख्छु । सबैको हातमा रगत देख्छु । अनि मनमनै सोच्छु, ‘बाबु ! यो एक्काईसौं शताब्दी हो । अब देशभक्त हुन पहिले जस्तो सजिलो रहेन । यसका लागि सबैभन्दा पहिलो आफै कुनै एउटा नयाँ जत्था बनाउन सक्नुपर्छ ।’ के तपाईं देशभक्तिको खातिर मेरो जत्थाको सदस्य बन्न आउनुहुन्छ त ?

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्