ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

१६ करोड लागतमा खानेपानी आयोजना बन्दै

२०७८ पौष, २३  
कर्णाली प्रदेश
Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । पश्चिम सुर्खेतको बड्डीचौमा १६ करोड लागतमा बृहत् खानेपानी आयोजना निर्माण गरिने भएको छ । आयोजनाको बुधवार एक कार्यक्रमका बीच वराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले शिलान्यास गरेका छन् ।

वराहताल गाउँपालिकाका– ५, ६, ७ र ८ नम्बर वडाका करिब १२ सय घरधुरीलाई पानीको पहुँच पुर्‍याउने लक्ष्यका साथ आयोजना निर्माण गर्न लागिएको हो । आयोजनाको अनुमानित लागत १५ करोड ९३ लाख ७४ हजार रुपैयाँमध्ये ७० प्रतिशत अर्थात् ११ करोड १५ लाख ६१ हजार नेपाल सरकारको अनुदान रहनेछ । यस्तै १० प्रतिशतले हुने १ करोड ५९ लाख रुपैयाँ उपभोक्ताले बेहोर्नुपर्नेछ । थप अपुग रकम नगर विकास कोषसँग ३ करोड १८ लाख ७४ हजार ऋण सम्झौता गरिएको बड्डीचौर सहलगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष अर्जुनकुमार बुचामगरले जानकारी दिए ।

खानेपानीको समस्या दीर्घकालीन समाधानका लागि सहलगानीमा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको स्किम नं १ को शिलान्यास गरिएको उनले बताए । उनका अनुसार आयोजना अन्तर्गत स्किम नं १ को चेपाङ, रक्सेनी, वसन्तपुर र बुटीखण्डमा आयोजना सञ्चालन हुनेछ । ‘अब निर्माण हुने आयोजनाको पहिलो मुहानबाट प्रतिसेकेण्ड साढे १० लिटर, दोस्रोबाट ३ लिटर र तेस्रो मुहानबाट प्रतिसेकेण्ड ४ लिटर दरले पानी संकलन हुनेछ,’ उनले भने, ‘यसरी प्रतिसेकेण्ड १७ लिटर पानी रिजर्भ ट्यांकी मार्फत एकैपटक करिब १२ सय घरधुरीलाई खानेपानीको सुनिश्चितता गरिनेछ ।’

आयोजनाको शिलान्यास कार्यक्रममा वराहताल–५ का वडाध्यक्ष तिलकबहादुर मर्सांगी मगर, ७ नम्बर वडाध्यक्ष कुलबहादुर बुचा मगर, समाजसेवी प्रेमबहादुर बस्नेत, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय सुर्खेतका इन्जिनियर महेन्द्रसिं थारु, एन्फो संस्थाका प्रतिनिधि, उपभोक्ता लगायतको सहभागिता थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्