ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

अझै सञ्चालनमा आएन इनरुवा बसपार्क

२०७८ पौष, २३  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

सुनसरी । करीब तीन वर्षअघि निर्माण सम्पन्न भएको सुनसरीको इनरुवास्थित बसपार्क अझै पनि सञ्चालनमा आउन सकेको छैन । संघीय सरकारले विनियोजन गरेको रकम उपलब्ध नभएको भन्दै इनरुवा नगरपालिकाले बेवास्ता गरेपछि बसपार्क सञ्चालनमा आउन नसकेको हो ।

इनरुवा नगरपालिका–४ मा निर्मित सुविधासम्पन्न बसपार्क सञ्चालनमा आउन नसकेपछि बसपार्क अहिले लागूपदार्थ दुर्व्यसनीको अखडा बन्दै गएको छ भने युवायुवतीले टिकटक बनाउने, डेटिङ गर्नेको स्थलको रूपमा परिणत भएको छ । ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनले निर्माण सम्पन्न गरेको नवनिर्मित बसपार्क २०७५ पुस २५ गते तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका थिए । निर्माण कम्पनीले २ वर्षमा सक्ने लक्ष्य राखेकोमा निर्धारित समयअगावै सम्पन्न गरेको थियो । इनरुवा नगरपालिका–५ का वडाध्यक्ष अञ्जनी पोखरेलको अध्यक्षतामा बसपार्क सञ्चालन समिति गठन भएको थियो । अहिले सो समिति पनि नेतृत्वविहीन बनेको छ ।

तीन वर्ष बितिसक्दा पनि बसपार्क सञ्चालन नहुँदा जग्गादाता सहित स्थानीयवासी आक्रोशित बनेका छन् । बसपार्क सञ्चालनका लागि निःशुल्क जग्गा दिएका स्थानीय रमेश श्रेष्ठले जग्गा फिर्ता हुनुपर्ने माग राखेका छन् । बसपार्क सञ्चालनका लागि उनले ५ कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए । बसपार्क सञ्चालन नगरे जग्गा फिर्ता दिनुपर्ने भन्दै उनले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । सबै जग्गादाताहरूसँग सल्लाह गरेर फिर्ता लिनुपर्ने बाध्यता आउने उनले बताए । बसपार्क सञ्चालनमा नगरपालिकाको चासो नरहेको उनको भनाइ छ । शहरी विकास मन्त्रालयले इनरुवा नगरपालिकालाई दिनुपर्ने रकम नदिएकाले विरोधस्वरूप बसपार्क सञ्चालनमा ल्याउन नगरपालिकाले तदारुकता देखाएको छैन ।

इनरुवा नगरपालिकाको डेढ बिघा जग्गामा निर्मित बसपार्कसहित इनरुवा नगरक्षेत्रको बाटो, ढल तथा अन्य पूर्वाधार निर्माण गर्न २ अर्ब रुपैयाँ बराबरको रकम पाउनुपर्नेमा टेन्डर १ अर्ब ८० करोडमा मात्र भएको थियो । बाँकीको २० करोड र शहरी स्मार्ट सिटी अन्तर्गतको थप रकम इनरुवा नपाले पाएमात्र बसपार्क सञ्चालनमा ल्याउने नगर प्रमुख राजन मेहताले बताउँदै आएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्