ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

भारतको मीरगञ्जमा रहेको पुल भासिंदा विराटनगर भन्सारको साढे १४ करोड राजस्व प्रभावित

चार वर्षपछि दोश्रो पटक भासियो पुल

२०७८ पौष, २४  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

पुस २४, विराटनगर । नेपाल भारत सीमानाकाबाट चार किलोमिटर दक्षिण पश्चिममा रहेको मीरगञ्ज पुल भासिएपछि विराटनगर भन्सारको राजस्व संकलन प्रभावित भएको छ ।

विराटनगर भन्सारको दैनिक १४ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको छ । बिहीवार पुल भासिएपछि आवतजावत ठप्प भएको छ।२०७४ सालको साउन महिनामा पहिलोपटक पुल भासिंदा ११६ किलोमिटर पश्चिम सुनसरीको भन्टावारीबाट मालवाहक सावारी आवात जावत गर्नु परेको थियो ।

मीरगञ्जको पुल सो बेलामा तीन महिनापछि मर्मत भएर सञ्चालनमा आएको थियो । बेलीब्रिज भासिएपछि भारत सरकारले भासिएको पुलभन्दा एक किलोमिटर उत्तरतर्फ नयाँ पक्की पुल निर्माण गरेको छ । तर उक्त पुलको निर्माण सम्पन्न भएर हस्तान्तरण हुन अरु दुई महीना समय सीमा रहेको छ ।

विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाका अनुसार २४ घण्टादेखि उक्त पुलबाट आउजाउ बन्द रहेपनि भन्सार भित्रिएका मालबस्तुको राजस्व भने संकलन भइरहेको छ । नेपाल सरकारले नयाँ नाकाको लागि अनुमति नदिएसम्म आफुखुसी मालवस्तु अन्य नाकाबाट ल्याउन नमिल्ने पनि उनले बताए ।

भाण्टावारी नाकाबाट मालवस्तु आयात र निर्यात गर्दा ११६ किलोमिटरको दुरी तय गर्नु पर्ने भएकाले १२ किलोमिटरको छोटो दुरी पत्ता लगाएर सिफारिस गरिएको र उक्त रुटका लागि भारतीय अधिकारीले स्वीकृती दिएमा १२ किलोमिटर घुमेर विराटनगर आईसीपीमै मालवाहक आउन सक्ने उनले जानकारी दिए ।

भारतीय भन्सार जोगवनीका प्रमुख अशोककुमार दासले डिस्ट्रिक मजिस्ट्रेटलाई अररियाको कुर्सीयाकाटा, मेहन्दीपुर, पगडेरा हुँदै कलहवा निरपुरबाट जोगवनी प्रवेश गर्ने १२ किलोमिटरको नयाँ रुटको स्वीकृतीका लागि पठाएका छन् । उक्त रुट स्वीकृती भएर आए शनिवारबाट नै नेपाल भारत नाकामा मालवाहकको आवत जावत सहज हुन्छ ।

नेपाल उद्योग परिसंघका प्रदेश नं १ अध्यक्ष भीम घिमिरेको नेतृत्वमा गएको उद्योगी व्यवसायीहरुको टोलीले भारतीय भन्सार प्रमुख दासलाई भेटेर मिरगञ्ज पुलको सट्टामा बनिसकेको पक्की पुलको सञ्चालन चाँडो गर्न र तत्कालका लागि नयाँ रुटबाट आवतजावत सुचारु गर्न आग्रह गरेको छ । टोलीले पुलकोसमेत निरीक्षण गरेको थियो । 

त्यसैगरि मोरङ व्यापार संघ र उद्योग संगठन मोरङका उद्योगी व्यवसायीहरुको टोलीले समेत भासिएको पुलको निरीक्षण गरेको थियो । उनीहरुले पनि नेपाल र भारतका भन्सार प्रमुखहरुलाई भेटेर छोटोबाटोबाट तत्काल आवतजावत सुचारु गर्न माग गरेका छन् ।   

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्