ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

खैरहनी नगरपालिकाले शुरु गर्‍यो अनलाईन राजस्व भुक्तानी सेवा 

२०७८ पौष, २५  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

पुस २५, चितवन । चितवनको खैरहनी नगरपालिकामा अनलाईन विद्युतीय प्रणालीबाट राजस्व तिर्न व्यवस्थाको शुरु भएको छ । यहाँका नगरवासीहरुले अब घरमै बसेर राजस्व तिर्न पाउने सेवा नगरपालिकाले उपलब्ध गराएको हो ।

विद्युतीय भुक्तानीमार्फत राजस्व तिर्न सक्ने सेवा उपलब्ध गराउने जिल्लाका स्थानीय तहमध्ये खैरहनी पहिलो समेत बनेको हो । एक महानगरपालिकासमेत रहेको चितनवनमा सात ओटा पालिका छन्, अन्यमा यो सेवा हालसम्म शुरु भएको छैन । 

खैरहनी नगरपालिका सूचना तथा प्रविधि अधिकृत सुरेश चौधरीका अनुसार पहिलोपटक वेबसाइटमार्फत भुक्तानी भएपछि सेवाग्राहीको अद्यावधिक हुने र दोस्रो पटकदेखि मोबाइलबाटै राजस्व तिर्न सकिन्छ । सिफारिसबाहेकका राजस्व यो सेवामार्फत तिर्न सकिनेछ । राजस्व बुझाएपछि राजस्व तिरेको सन्देश इमेल र मोबाइलमा आउने उनले जानकारी दिए । 

खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले विद्युतीय भुक्तानीको शुभारम्भ गर्दै यो सेवालाई प्रचारप्रसार गरेर अभियानका रुपमा नगरवासीमा पुर्‍याउनु पर्ने बताए । मेयर चौधरीले विज्ञान र प्रविधिले मान्छेको जीवनलाई सहज बनाउने भन्दै नगरपालिकाको सेवा सुविधा र शुसासन कायम गर्न यो प्रविधिले मदत पुग्ने बताए । 

साथै, सेवाले शासन प्रणाली जनमुखी, सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बन्नुका साथै सार्वजनिक सेवालाई भरपर्दो, सुलभ, गुणस्तरीय र पहुँचयोग्य बन्न सहयोग पुग्ने पनि मेयर चौधरीकोे भनाइ छ  । 

खैरहनी–२ का वडाध्यक्ष एवम् सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास समितिका संयोजक टीकादत्त इटनीको अध्यक्षतामा भएको सेवा शुभारम्भ कार्यक्रममा खैरहनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले राजस्व तिर्ने विषय महत्वपूर्ण भएकाले यो सेवाले नगरवासीलाई सहज हुने बताए ।

अहिले खैरहनीमा इलेक्ट्रोनिक सिस्टमबाट राजस्व तिर्ने व्यवस्था छ । केही दिनअघि मात्रै खैरहनी नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि आन्तरिक नियन्त्रण प्रणालीको समेत सेवा शुरु गरिसकेको छ । संघीय मन्त्रालयले गरेको स्वः मूल्यांकन र सूचना प्रविधि लेखाजोखामा खैरहनी नगरपालिका जिल्लामा प्रथम भएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्