ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

सैनामैनामा थारू होमस्टे सञ्चालन

२०७८ पौष, २६  
लुम्बिनी प्रदेश
NA

बुटवल । रूपन्देहीको सैनामैना नगरपालिका–२ स्थित उचिडिहवामा थारू (घरबास) होमस्टे सञ्चालनमा आएको छ । घरबासबाट थारू खानपिन, कला–संस्कृति, वेशभूषाको संरक्षण एवं संवर्द्धन र प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ । होमस्टे सञ्चालनका लागि सैनामैना नगरपालिकाले पाँच घर निर्माण गर्न १० लाख अनुदान दिएको छ । यस्तै कार्यक्रम गर्ने सभाहल निर्माणका लागि लुम्बिनी क्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिबाट आर्थिक वर्ष २०७२/७३ मा चार लाख ७५ हजार, आव २०७३/७४ मा ६ लाख ६५ हजार निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रमअन्तर्गत आव २०७३/७४ मा १६ लाख ५७ हजार ५००, सैनामैना नगरपालिकाबाट आव २०७२/७३ मा एक लाख ९० हजार, ०७३/७४ मा रु सात लाख, ०७४/७५ पाँच लाख, २०७६/७७ मा ६ लाख र लुम्बिनी प्रदेश मुख्यमन्त्री ग्रामीण विकास परियोजनाबाट २०७७/७८ मा १२ लाख रकम प्राप्त भएको होमस्टे सञ्चालनका अध्यक्ष खुसीराम चौधरीले जानकारी दिए ।

त्यसैगरी ९ लाख ४६ हजार ५२६ लागत सहभागितामा सो सभाहल निर्माण गरिएको उनले बताए । ‘होमस्टेमा आउने पाहुनालाई स्थानीय कला संस्कृति, नाचगान प्रदर्शन गरिनेछ,’ उनले भने । दुई कोठा भएको पाँच घरमा होमस्टे सञ्चालन गरिएको छ । एउटा कोठामा दुईवटा शय्या छन् । हाल होमस्टेमा एक पटकमा २० जना बास बस्न सकिन्छ । थप १० घरमा पनि होमस्टे सञ्चालन गर्ने योजना रहेको होमस्टे सञ्चालक समितिका अध्यक्ष चौधरीले बताए । ‘समुदायको प्राचीन र ऐतिहासिक थलो हुँदाहुँदै विकासमा पछाडि पर्‍यो, थारू कला र संस्कृति पनि हराउँदै जान थालेपछि होमस्टे सञ्चालनलाई नगरपालिकाले पर्यटन प्रवर्द्धनसँग जोडेको छ,’ अध्यक्ष चौधरीले भने । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्