ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

कोरोना रोकथामका लागि सीसीएमीका १३ निर्णय

२०७८ पौष, २६  
समाचार
NA

काठमाडौं । आइतवार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले कोरोना संक्रमण रोकथामका लागि विभिन्न १३ निर्णय गरेको छ । केन्द्रका सहसचिव एवम् प्रवक्ता सुनिता नेपालका अनुसार बैठकले कोरोनाको रोकथाम, नियन्त्रण र उपचार थप प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिश गरेको छ ।

बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने गरी आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालयलाई सिफारिश गरेको छ । सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थिति हुने गरी प्रशासनिक, सामाजिक हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउन भनिएको छ । अर्को सूचना नभएसम्मका लागि सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनेगरी मेला, भेला तथा महोत्सव आयोजना नगर्न/नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालयमार्फत लेखी पठाउने निर्णय भएको छ ।     

सार्वजनिक स्थानहरू (कार्यालय, होटेल, रेष्टुराँ, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि)मा प्रवेश गर्दा अनिवार्य रूपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड साथमा राख्ने र ती निकायले खोप कार्ड हेरेर मात्र प्रवेशको व्यवस्था मिलाउने गरी आगामी माघ ७ गतेदेखि लागू गर्ने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरूलाई आग्रह गरिएको छ । यस्तै, माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरिएको छ ।

नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउने र त्यस्तो परीक्षणबाट सकारात्मक देखिएकालाई तत्काल संस्थागत आइसोलेशनमा राख्न सम्बन्धित जिल्लास्थित समन्वय गर्ने र विगतमा भएको अभ्यासअनुरूप भुक्तानी गर्ने स्रोत सुनिश्चितताका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने भएको छ । यस्तै, सार्वजनिक स्थानहरूमा नि:शुल्क एन्टिजेन टेस्ट बुथहरु स्थापना गर्ने र नियमित खोप केन्द्रमा खोपलाई अभियानको रूपमा अगाडि बढाइनेछ ।

विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेस्टर वार्षिक परीक्षाहरू जनस्वास्थ्यका मापदण्ड पालना हुने गरी जेड आकारमा बसाइँ व्यवस्था गरी सञ्चालन गर्ने, परीक्षा केन्द्रमा मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न भनिएको छ । भौतिक दूरीको प्रावधान कडाइका साथ परिपालना गर्ने व्यवस्था मिलाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिश गरिएको छ ।

यसैगरी आन्तरिक हवाई उडानमा अनिवार्य रूपमा खोप कार्ड बोक्नुपर्ने व्यवस्था गर्न लागिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक तथा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको भीडभाड कम हुनेगरी उडान तालिका मिलाइने भएको छ । आगामी माघ ७ गतेपछि आन्तरिक उडानमा खोप कार्ड हुने यात्रुलाई मात्रै बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्नेछ ।
    
पूर्ण मात्रा खोप लगाएको र बोर्डिङ पास जारी हुनुभन्दा ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको यात्रुलाई विदेशबाट नेपाल प्रवेशका लागि सम्बन्धित वायु सेवाले बोर्डिङ पास जारी गर्नेछ । कोरोनाका नयाँ ओमिक्रोन भेरियन्टको पहिलो पटक संक्रमण पहिचान भएका दक्षिण अफ्रिाकालगायत नौ देशबाट नेपाल आउने वा ती मुलुकहरूमा ट्रान्जिट बनाई नेपाल यात्रा गर्ने नेपाली नागरिक, कूटनीतिज्ञ तथा आधिकारिक राहदानीवाहक वा आवासीय प्रवेशाज्ञा प्राप्त यात्रुलाई मात्रै क्वारेन्टिन तथा आइसोलेशनको व्यवस्था लागू हुनेछ ।

अध्यागमन विभागले ट्राभल एड्भाइजरी सूचना जारी गर्दा गृह मन्त्रालय, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गर्नुपर्नेछ । त्यस्तो सूचनामा जारी भएको निश्चित मिति, समय र अवधिपछि मात्र लागू गर्ने व्यवस्था मिलाइएको छ । कोभिड–१९ संक्रमणको स्थानीय अवस्था हेरेर जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि, २०७८ र एकीकृत कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार कार्ययोजना, २०७८ कार्यान्वयन थप प्रभावकारी बनाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमार्फत निर्देशित गरिनेछ । यस्तै, ओमिक्रोन लगायत भेरियन्टको प्रभाव र ध्यान दिनुपर्ने विषयमा स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तिहरूमार्फत नागरिकस्तरमा सकारात्मक सूचना जानकारी उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले थप पहल गर्ने बैठकले निर्णय गरेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्