ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

नेपाली गाइड : ‘भिल्लको देशमा मणि !’

२०७८ पौष, २६  
लेख | दृष्टिकोण
Image Not Found

नेपालमा मात्रै नभएर विश्वभरि नै नावेल कोरोनाभाइरस नामक संक्रामक भाइरसले महामारीको रूप लियो, तब उक्त भाइरसको आक्रमणबाट आफ्ना देशका नागरिकलाई बचाउन विभिन्न देशले बन्दाबन्दी नीति लागू गरे । नेपाल सरकारले पनि शुरूमा ‘बन्दाबन्दी’ लागू गर्ने नीति लियो भने पछि गएर निषेधाज्ञा आदिको नीति पनि लागू गर्‍यो ।

नेपालमा नोवेल कोरोनाभाइरस शुरू हुँदा ताका नेपालको ताप्लेजुुङ जिल्लाको कञ्चनजंघा क्षेत्र, संखुवासभा जिल्लाको मकालु, सोलुखुम्बु जिल्लाको लुक्ला, नाम्चे, दोलखा जिल्लाको गौरीशंकर, सिन्धुपाल्चोक जिल्लाको हेलम्बु, रसुवा जिल्लाको गोसाइँकुण्ड, लाङटाङ त्यस्तै नुवाकोट–धादिङ–रसुवा जिल्लाभित्र पर्ने गणेश हिमाल क्षेत्र, गोरखाको चुम भ्याली, मनास्लु, मनाङ जिल्लाको नार–फु, थोराङपास, मुस्ताङ जिल्लाको माथिल्लो मुस्ताङ क्षेत्र, मुक्तिनाथ, जोमसोम, धवलागिरि, डोल्पा जिल्लाको पनि अझ माथिल्लो डोल्पाको शे गुम्बा, धो, तराप, तिनजे/तिल्जे, हुम्ला जिल्लाको सिमकोट, लिमी, दार्चुला जिल्लाको व्यास आदि पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकले भ्रमण गर्दै थिए । धेरैजसो विदेशी पर्यटक फर्किसकेका भए तापनि नेपालमा नोवेल कोरोनाभाइरस नामक संक्रामक भाइरसले महामारीको रूप लिँदासम्म केही केही विदेशी पर्यटक बाँकी नै रहेका थिए । उनीहरूका साथमा गाइडका साथै भरियाहरू पनि थिए ।

नेपाल सरकारको बन्दाबन्दी गर्ने घोषणाले उनीहरूलाई केही न केही असर पर्‍यो । उनीहरूका साथमा रहेका गाइड र भरियाहरूलाई त झन् धेरै असर पर्‍यो । ती क्षेत्रमा बाँकी रहेका विदेशी पर्यटकलाई नेपाल सरकार र सम्बद्ध देशले उद्घार गर्ने भनिए तापनि विदेशी पर्यटकको साथमा रहेका नेपाली गाइड र भरियाहरूलाई तत्कालका लागि केकसो गर्ने ? कुनै प्रभावकारी निर्णय भएन । तर, विभिन्न देशका नेपालस्थित राजदूतावासहरूले भने आफ्नो देशबाट नेपाल घुम्न आएका नागरिक कहाँ छन्, कुन अवस्थामा छन् ? तत्कालै सोधखोज शुरू गरे । साथै स्वदेश फर्कन चाहने आफ्ना देशका नागरिकलाई उद्धारको व्यवस्था पनि गरे । फतल: त्यो वेला लगभग ३१ हजार विदेशी पर्यटकलाई नेपालको विभिन्न क्षेत्रबाट उद्धार गरी उनीहरूको देश फिर्ता गरिएको थियो ।

तर, सरकारले त्यो बेला नेपाली गाइड र भरियाहरूलाई तत्काल केकसो गर्ने ? उनीहरूका लागि कुनै नीतिगत निर्णय लिएन । त्यसैले त्यो बेला विदेशी पर्यटकलाई तत्कालै उद्धार गरिएको भए तापनि नेपाली गाइड र भरियाहरूलाई त्यसै अथवा भनौं बेवारिसे अवस्थामा छाडियो ।

त्यसो हुनुमा नेपाललगायत धेरैजसो अल्पविकसित वा भनौं विकासशील देशतर्फ लम्कँदै गरेको भनिने देशमा ‘मानव पूँजी वा भनौं मानव स्रोत’ भनेको के हो ? र, त्यसको महत्त्व देशका लागि कति आवश्यक र महत्त्वपूर्ण छ ? यसको महत्त्व र गाम्भीर्य बुझ्ने सरकार, नीति निर्माण गर्ने तहमा बसेका कर्मचारी र देशका विद्वान् वा विषय विज्ञ भनिनेहरू स्पष्ट नहुँदा भएको भन्न सकिन्छ । तत्कालै सही निर्णय गर्न सक्ने सरकार, नीति निर्माता एवम् निजामती कर्मचारीतन्त्रमा नेतृत्व गर्न सक्ने व्यक्ति नभएसम्म यस्ता समस्याहरू भविष्यमा पटकपटक आउने देखिन्छ ।

नेपालमा गाइड गर्नेहरू (अलि पुराना ट्रेकिङ गाइडहरू) ले औपचारिक रूपमा कति पढेको ? भन्ने भन्दा पनि विदेशी पर्यटकलाई गाइड गर्ने गाइडहरूले आफ्नो मातृभाषा र राष्ट्रभाषाबाहेक कम्तीमा १ वा २ देखि माथि ३, ४ ओटा अन्य (विदेशी भाषा) भाषा जानेको हुन्छ । जुनसुकै देशका गाइडहरूले आफ्नो देशमा घुम्न आएका विदेशी पर्यटकलाई आफ्नो देशको समग्र स्थिति, आफ्नो देशको प्राचीन इतिहास, आफ्नो देशको ऐतिहासिक पृष्ठभूमि, आफ्नो देशको विभिन्न कालखण्डका शासक वा तिनका वंशहरू, आफ्नो देशको वर्तमान राजनीतिक व्यवस्था, यहाँका जातजाति, यहाँका अमूर्त सम्पदा, प्राकृतिक सम्पदा, भाषाभाषी, धर्म, संस्कार, संस्कृति, चाडबाड, उत्सव, महोत्सव, रीतिथिति, भूगोल, हिमाल, हिम ताल, हिम नदी, वातावरण, वन्यजन्तु, चराचुरुङ्गी, वनस्पति, झारपात, लेउ आदिका बारेमा तथ्यपरक, सही र वास्तविक सूचना दिएर आफ्नो देशको नाम उँचो राख्ने गर्छन् ।

यसो भनी रहँदा यस मामलामा नेपालका केही ट्रेकिङ गाइड र टुर गाइड साथीहरू चुक्ने गरेका छन् । किनभने, यो पंक्तिको लेखक स्वयम् पनि पर्यटन मन्त्रालय मातहत रहेको नाथमले आयोजना गर्ने ट्रेकिङ गाइड ट्रेनिङ गरेको (ट्रेकिङ गाइड लाइसेन्स नम्बर–४२४२/‘ग्रेड ए’ होल्डर हो ।) यसरी हेर्दा आफ्नो देशमा घुम्न आएका विदेशी पर्यटकलाई सही र तथ्यपरक जानकारी दिने प्रथम व्यक्ति नै गाइडहरू हुन्छन् । त्यसैले विश्वका सबै देशका सरकारले गाइडहरूलाई आफ्नो देशको ‘अवैतनिक राजूदत’का रूपमा पनि मान्यता दिएको छ । तर, हाम्रो देश नेपालमा भने त्यसरी लिने गरिएको छैन ।

अझ महत्त्वपूर्ण कुरो के छ भने, गाइड उत्पादन (ट्रेकिङ र टुर गाइड दुवैमा) मा हालसम्म राज्यको एक पैसा पनि लगानी परेको छैन । उल्टै ट्रेकिङ र टुर गाइड दुवै तालीम गर्दा ताका गाइड तालीम गर्न/लिन चाहने व्यक्तिहरूले राजस्व तिरेको हुन्छ । उनीहरू गाइड गर्न जाँदैपिच्छे आफ्नो तलबबाट निश्चित प्रतिशत राज्यलाई आय कर तिरेको हुन्छ । यसरी राज्यको एक पैसाविना उल्टै राज्यलाई फाइदा गराउने गाइडहरू, खास गरी ट्रेकिङ गाइडहरू ‘मानव पूँजी वा भनौं मानव स्रोत’को महत्त्व नबुझेका देशका सरकार र नीति निर्माताहरूका लागि ‘भिल्लको देशमा मणि !’ झैं भएका छन् ।

देशका लागि उनीहरू आवश्यक र महत्त्वपूर्ण छन् । यसको महत्त्व र गाम्भीर्य सरकार, नीति निर्माण गर्ने तहमा बसेका कर्मचारी र विद्वान् वा विषयविज्ञ भनिनेहरूले बुझेदेखि धेरै राम्रो हुने थियो । तर, उनीहरूले गाइडहरूको महत्व नबुझ्दा/नहुँदासम्म र केही होला भन्ने आशा गर्ने ठाउँ देखिँदैन ।

लेखक पर्यटन व्यवसायी हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्