ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

पोल र ट्रान्सफर्मर नआउँदा खानेपानी आयोजनामा ढिलाइ

२०७८ पौष, २६  
प्रदेश ०१
Image Not Found
author avatar ईश्वर थापा

धनकुटा । धनकुटाको मौनाबुधुक र बोधे खानेपानी उपभोक्ता समितिले विद्युत् प्रधिकरणलाई ट्रान्सर्फमर र पोल खरिदका लागि शुल्क बुझाएको आठ महिना हुन लाग्दा समेत काम भएको छैन । धनकुटाको चौबिसे गाउँपालिका–७ को मौनाबुधुकमा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी लिफ्टिङ गर्न विद्युत् प्राधिकरण धनकुटामा ३२ लाख ४ हजार ७५ रुपैया बुझाएको थियो । यस्तै चौबिसे गाउँपालिका–५ को बोधे बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले ३३ लाख ४५ हजार २५५ रुपैयाँ प्राधिकरण धनकुटालाई बुझाएको थियो ।

गत जेठमा रकम बुझाए पनि अहिलेसम्म काम नभएको बोधे लिफ्टिङ खानेपानी योजनाका अध्यक्ष भूमिराज देवानले बताए । नेपाल विद्युत् प्राधिकरण धनकुटामा कुरा गर्दा जहिले पनि एक हप्ता भनेर टार्ने गरेको गुनासो उनले गरे ।

बोधे र मौनाबुधुकमा खानेपानीको हाहाकार भएपछि ४ वर्षअघि दुवै खानेपानी आयोजनाको काम सुरु भएको थियो । हाल उक्त आयोजनाको काम प्रदेश सरकार अन्तर्गत खानेपानी डिभिजन कार्यालय धनकुटाले हेर्दै आएको छ । खानेपानी डिभिजन कार्यालयबाट सबै काम सम्पन्न भएको र विद्युत् प्राधिकरणमा रकम बुझाएको ८ महिना हुदा समेत उपकरण नपाएपछि आयोजनामा ढिलाइ भएको मौनाबुधुक लिफ्टिङ खानेपानी योजनाका अध्यक्ष नरहाङ लिम्बुले बताए ।

प्राधिकरणको मनोमानीले काकाकुल अवस्थामा रहेका स्थानीयलाई पीडा थपिएको बोधे लिफ्टिङ खानेपानी योजनाका अध्यक्ष देवानले बताए । विद्युत् प्राधिकरणले काम अघि नबढाउँदा लिफ्टिङ खानेपानी योजनाको सम्पूर्ण कार्यमा अवरोध आई योजना सञ्चालन स्थगित भएको उनको भनाइ छ । काम यथाशीघ्र सुचारु गर्न भन्दै ज्ञापनपत्र बुझाएको भए पनि प्राधिकरणले बेवास्ता गरेको उनको गुनासो छ ।

यता, विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख प्रह्लाद पोख्रेलले प्राधिकरणमा अहिलेसम्म पोल र ट्रान्सफर्मर नआएकाले काम नभएको बताए । पोल र ट्रान्सफर्मर धनकुटामा मात्रै नभई कतै पनि नभएको उनको भनाइ छ । धनकुटामा खानेपानी, सडक, टेलिकमको धेरैओटा काम बाँकी रहेको उनले बताए ।

‘५०–६० ओटा आएको पोल हिलेमा सडक मर्मतमा समस्या आयो भनेर पठाएको हो,’ पोख्रेलले भने, ‘अब आउँदै छ, जुन बुधुक र बोधेको खानेपानीकै लागि पठाउने हो ।’ खानेपानीको समस्या छ भन्ने थाहा भए पनि सामान नै नभएर काम गर्न नसकिएको उनले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्