ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

लघुवित्तले आर्थिक र सामाजिक क्षेत्रमा पार्ने प्रभाव

२०७८ पौष, २७  
लेख | दृष्टिकोण
Image Not Found

लघुवित्त सेवालाई विश्वका अधिकांश देशले गरीबी निवारणको महत्र्वपूर्ण अंगका रूपमा अवलम्बन गर्दै आएका छन् । हाम्रो जस्तो विकासोन्मुख देशमा बैंक तथा वित्तीय संस्थाले वित्तीय पहुँचभित्र समेट्न नसकेका ग्रामीण तथा दुर्गम क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न लघुवित्त संस्थाहरू उपयुक्त वित्तीय सेवाप्रदायक बन्दै आएका छन् । मूलधारका बैंक तथा वित्तीय संस्थाहरूले विपत्र तथा पिछडिएका वर्गको वित्तीय सेवाको मागलाई पर्याप्त मात्रामा सम्बोधन गरेको पाइँदैन ।

लक्षित वर्गलाई वित्तीय पहुँचको माध्यमबाट आर्थिक क्रियाकलापमा संलग्न गराई स्वरोजगारिताको विकास गर्ने भएकाले गरीबी निवारणसँग सम्बद्ध अन्य कार्यक्रमहरूभन्दा लघुवित्त कार्यक्रम बढी प्रभावकारी बन्दै आएको छ । लघुवित्तीय संस्थाबाट प्रदान गरिएका कर्जाबाट स्थानीयस्तरमा सञ्चालन गरिने आर्थिक गतिविधिले ग्रामीण अर्थतन्त्रलाई क्रियाशील बनाउन मदत गर्छ ।

जहाँ गरीब त्यहाँ लघुवित्त भन्ने नारालाई आत्मसात् गर्दै उद्यमशीलताको माध्यमबाट आयआर्जन गरिने कार्यक्रमलाई लघुवित्त क्षेत्रले समेट्नुपर्छ । कृषि, पर्यटन, जलविद्युत् तथा उद्योगव्यापारलगायत उत्पादनशील क्षेत्रमा गरिने लगानीले उत्पादन, आम्दानी र रोजगारीलाई दीर्घकालीन रूपमा नै सकारात्मक प्रभाव पार्ने भएकोले लघुवित्तीय सेवालाई पनि तीनै क्षेत्रसँग जोडेर लिएर जानसके पिछडिएको ग्रामीण अर्थतन्त्रलाई टेवा पुर्‍याउन सकिन्छ ।

कृषिक्षेत्र
कृषिक्षेत्रले दुई तिहाइ जनसंख्याको मुख्य पेशा र अर्थतन्त्रको झन्डै एक तिहाइ भाग ओगटेको छ । मुलुकमा सञ्चालित उद्योगधन्दा, पशुपालन, निर्यात व्यापार, आन्तरीक व्यापार आदि सबै कृषिमा नै आधारित भएकाले कृषिक्षेत्रलाई अर्थतन्त्रको मुख्य आधार मानिन्छ । कृषि उत्पादनले आयात प्रतिस्थापन गरी निर्यात वृद्धि गर्न सक्ने भएकाले मुलुकको व्यापारघाटालाई न्यून गर्न मदत गर्छ । त्यसैले लघुवित्त सेवालाई कृषि क्षेत्रसँग जोड्न सकेमा लक्षित वर्ग र मुलुकले नै लाभ लिनसक्ने देखिन्छ ।

कृषिक्षेत्रको यसै महत्र्वलाई मनन गर्दै राष्ट्र बैंकले लघुवित्त संस्थाले आफ्नो कुल कर्जा लगानीको एक तिहाइ अंश अनिवार्य रूपमा कृषिक्षेत्रमा प्रवाह गर्नुपर्ने र तोकिएबमोजिम कर्जा प्रवाह नगरेमा वा कम प्रवाह गरेमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम हर्जाना लगाउने व्यवस्था समेत गरेको छ । प्राप्त पछिल्लो तथ्यांकअनुसार लघुवित्त संस्थाले कुल कर्जाको ४१ प्रतिशत कर्जा कृषिक्षेत्रमा प्रवाह गरेका छन् ।

घरेलु तथा साना उद्योग
लघुवित्त सेवामार्फत स्थानीय स्तरमा उपलब्ध शीप, स्रोतसाधनको उपयोग गरी घरेलु तथा साना उद्योग सञ्चालन गर्न सकिन्छ । यसरी सृजना भएको रोजगारी दिगो हुन्छ । घरेलु तथा साना उद्योगबाट उत्पादित सामानहरू आन्तरिक र बाह्य बजारमा विक्री गरी सदस्य र मुलुक दुवैले आर्थिक लाभ प्राप्त गर्न सक्छन् । विकासोन्मुख मुलुकका ग्रामीण तथा दुर्गम क्षेत्रमा पूँजी, प्रविधि, दक्षतालगायत न्यूनताका कारण ठूला उद्योगधन्दाभन्दा साना तथा घरेलु उद्योगको प्रचुर सम्भावना हुने भएकाले लघुवित्त सेवालाई यस क्षेत्रसँग जोड्न सकिएमा मुलुकको आर्थिक विकासमा योगदान पुग्ने देखिन्छ । घरेलु तथा साना उद्योग सञ्चालन गर्नका लागि लघुवित्त वित्तीय संस्थाले रू.७ लाखसम्म कर्जा प्रवाह गर्नसक्ने व्यवस्था रहेको छ ।

वन तथा जडीबुटी क्षेत्र
पहाडी तथा हिमाली भेग बहुमूल्य जडीबुटीको भण्डार भएकाले सामान्य तालीम तथा वित्तीय स्रोतको व्यवस्थापन गर्न सकेमा ती अमूल्य जडीबुटी संकलन गर्न सकिने प्रशस्त सम्भावना रहेको छ । यस्ता जडीबुटीको प्रयोगबाट विभिन्न किसिमका औषधिको उत्पादन गर्ने, आन्तरिक बजारमा विक्री तथा मुलुकबाहिर निर्यात गरी प्रशस्त आय आर्जन गर्न र रोजगारीसमेत सृजना गर्न सकिने भएकाले आर्थिक विकासलाई दिगो रूपमा सहयोग पुग्ने देखिन्छ ।

पर्यटन क्षेत्र
नेपालका लागि पर्यटन व्यवसाय तुलनात्मक लाभ भएको क्षेत्र हो । पर्यटनसँग सम्बन्धी व्यवसायको माध्यमबाट रोजगारी सृजना तथा विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । स्थानीय स्तरका पर्यटकीय स्थलहरूको पहिचान, खोजी, प्रचारप्रसार, वासस्थान तथा खानाको व्यवस्थापन सानो लगानीबाट गर्न सकिने भएकाले लघुवित्त संस्थाबाट प्रवाह गरिने कर्जाको माध्यमबाट पर्यटन व्यवसाय सञ्चालन गर्न सकिन्छ । यसका साथै, राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रबाट विभिन्न प्रयोजनले भ्रमणमा आउने पर्यटकलाई स्थानीय उत्पादनको विक्रीवितरण गरी आय आर्जन गर्न र सामाजिक, सांस्कृतिक, धार्मिक संस्कारको समेत आदानप्रदान गर्न सकिन्छ ।

ऊर्जाक्षेत्र
जलस्रोतको धनी देश भएर पनि अधिकांश दुर्गम ग्रामीण क्षेत्रका सर्वसाधारण अँध्यारोमा जीवनयापन गर्न बाध्य छन् । त्यसैले लघुवित्त सेवामार्फत प्रदान गरिने विनाधितो कर्जाबाट जनसहभागितामा सामुदायिक ग्रामीण विद्युतीकरणमार्फत बिजुली उत्पादन गर्न सकिन्छ । यसबाट लक्षित वर्गको स्वस्थ्यमा सकारात्मक प्रभाव पर्नुको साथै प्रत्यक्ष/अप्रत्यक्ष रूपमा आर्थिक विकासमा सहयोग पुग्छ । लघुवित्त संस्थाबाट नवीकरणीय ऊर्जा प्रविधि प्रयोजनका लागि प्रतिपरिवार रू.३ लाखसम्मको लघुकर्जा उपलब्ध गराउन सकिने व्यवस्था रहेको छ ।

सामाजिक क्षेत्र
लघुवित्त संस्थाहरू वित्तीय सेवाप्रदायकका साथै सामाजिक संस्था पनि भएकाले नाफामा मात्र केन्द्रित नभई संस्थागत उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्छन् । यस अन्तर्गत मुख्यतया स्वस्थ्य, शिक्षा, महामारी, प्राकृतिक प्रकोपलगायत विपत्तिमा आर्थिक/मानवीय सहायताहरू पर्छन् । यसका साथै, समाजमा दैनिक रूपमा घटीरहने बहुविवाह, बालविवाह, चेलिबेटी बेचबखन, मद्यपान, धूम्रपान, जुवातासलगायत सामाजिक विकृतिविरुद्ध विभिन्न चेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरी समाजमा भएका विकृति र विसंगति नियन्त्रण गर्न लघुवित्तीय सेवा सक्रिय बन्दै आएको छ । लघुवित्तीय कार्यक्रमसँग आबद्ध भएका समूहसदस्य बीच सञ्चालन गरिने यस्ता जनचेतनामूलक कार्यक्रमले समाजमा भएका विकृति र विसंगति नियन्त्रण गरी सभ्य समाजको निर्माण गर्न सहयोग पुग्छ ।

कृषि, पर्यटन, ऊर्जा, जडीबुटी, घरेलु तथा साना उद्योगलगायत क्षेत्रहरू हाम्रा लागि आर्थिक विकासका दृष्टिकोणले तुलनात्मक लाभ र सम्भावना भएका क्षेत्र हुन् । ग्रामीण क्षेत्रमा उल्लिखित उत्पादनशील क्षेत्रहरूको प्रचुर सम्भावना हुँदाहुँदै पनि पूँजी अभाव कारण सही तरीकाले उपयोग हुन सकेको छैन । त्यसैले लघुवित्तीय सेवालाई उक्त क्षेत्रहरूसँग आबद्ध गर्दै अघि बढेमा सदस्यको जीवन गुणस्तरीय बन्ने र समग्र मुलुकको सन्तुलित विकासमा सहयोग पुग्ने देखिन्छ ।

लेखक लघुवित्तसम्बन्धी जानकार व्यक्ति हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement