ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

चितवनमा १८ वर्षमाथिका ९०% ले लगाए कोरोना विरुद्धको खोप

२०७८ पौष, २७  
वाग्मती प्रदेश
Image Not Found

पुस २७, चितवन । चितवन जिल्लामा १८ वर्ष माथिका ९० प्रतिशतले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । 

ती उमेर समूहका चार लाख हाराहारी जनसंख्या रहेका जिल्लामा तीन लाख ७० हजार ५४४ जनाले खोप लगाएका हुन् । 

पहिलो मात्रा लगाएकामध्ये तीन लाख २० हजार नौ जनाले पूर्ण मात्रामा खोप लगाएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार पहिलो मात्रा कोभिसिल्ड ४० हजार ४४३, भेरोसेल दुई लाख ३७ हजार ६०२, अस्त्रजेनेका ५१ हजार ९६२, फाईजर बायोएनटेक एक हजार ८६७  र जोन्सन ३८ हजार ६७० जनाले लगाएका छन् । 

यसैगरी, पूर्ण मात्रा खोप कोभिसिल्ड÷अस्त्रजेनेका ८२ हजार ८५३, भेरोसेल एक लाख ९६ हजार ७२९, जोन्सन ३८ हजार ६७० र फाईजर बायोएनटेक एक हजार ७५७ जनाले लगाएका छन् । 

पहिलो मात्रा लगाएको तर दोस्रो मात्रा लगाउने समय भइनसकेको संख्या २० हजार हाराहारी छ । कतिपय पहिलो मात्रा यहाँ लगाएर अन्य जिल्लामा गएर दोस्रो मात्रा खोप लगाउने गरेको उनको भनाइ छ ।

पछिल्लो समय जिल्लामा अभियानका रुपमा खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ । जिल्लाका सातै पालिकाले हप्तामा एक दिन खोप लगाउने व्यवस्था गरेका छन् । १८ वर्षमाथिका सबैले खोप लगाउन पाउने गरी व्यवस्था गरिएको कार्यालयले जानकारी दिएको छ ।

विदेश जानेहरुको हकमा भिसा देखाएपछि सम्बन्धित पालिकाबाटै एक मात्रा लगाए पुग्ने जोन्सन खोप लगाउने व्यवस्था गरिएको छ । विदेश जानेहरुको संख्या पनि ठूलै रहेको उनको भनाइ छ ।

जिल्लामा १८ वर्षमाथिको जनसंख्या चार लाख हाराहारी रहेको अनुमान गरिएको छ । यस हिसाबले खोप लगाउन बाँकी संख्या न्यून देखिन्छ । तर जिल्लामा व्यापार व्यवसाय गर्न, पढ्न र कामको खोजीमा आउनेको संख्या अधिक रहेको छ ।

कार्यालयका प्रमुख भने, ‘पछिल्लो समय खोप लगाउन आउने बाहिरी जिल्लाबाट यहाँ आएका विद्यार्थी, कामदार, मजदूर बढी देखिएका छन् ।’ यसैलाई लक्षित गरी खोप कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिएको तिवारीले बताए । 

उनले खोपको अभाव नरहेको जनाउँदै भने, ‘जिल्लामा खोपको अभाव छैन, माग बमोजिम समयमै खोप आइरहेको छ ।’ पछिल्लो समय माग गरेको छोटो समयमा नै खोप आइपुग्ने गरेको उनले जानकारी दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्