ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

६ महीना बितिसक्यो, बाँकी ६ महीनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ : अर्थमन्त्री

२०७८ पौष, २७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २७, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/ ०७९ को बाँकी छ महीनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गरेका छन् ।

मंगलवार अर्थ मन्त्रालयमा आर्थिक वर्ष २०७८÷०७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरूलाई सो आग्रह गरेका हुन् । उनले आवश्यक परे मध्यरातमा पनि आफू सहयोग गर्न तयार रहेको भन्दै जसरी पनि खर्च गर्न आग्रह गरे ।

‘आर्थिक वर्षको छ महीना बितिसक्यो । बाँकी छ महीनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ’, उनले भने, ‘त्यसको लागि म रातको १२ बजे पनि तपाईंहरूलाई सहयोग गर्न तयार छु ।’
मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपायहरू खोज्न बताउँदै जसरी पनि खर्च बढाउन आग्रह गरे ।उनले ठूला योजनाहरूमा स्थानीय तह र स्थानीय जनतालाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्नेमा जोड दिए । ठूला योजनाहरूमा अपनत्वका लागि उनीहरूलाई सहभागी गराएर मात्र छिटो काम गर्न सकिने उनको भनाइ छ । 

त्यस्तै उनले विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता पनि औंल्याए । उनले फाइल हरेक मन्त्रालयमा बोकेर हिँड्दा ढिला हुने भन्दै अब डिजिटल माध्यममा लैजानुपर्ने बताए ।

‘फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुई/ चार दिन जान्छ । यहाँ पनि समय गइरहेको छ’, उनले भने, ‘यसलाई डिजिटल माध्यममा लैजानुपर्‍यो । डिजिटलमै अनुरोध गर्ने र स्वीकृति गर्ने हुनुपर्‍यो । टिप्पणी उठाएर राख्ने काम आफ्नो ठाउँमा गर्नुपर्छ ।’

पछिल्लो समय पूँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई ताकेता गर्दै आएको छ । यसैबीच सोमवारसम्मको तथ्याङ्कअनुसार पूँजीगत खर्च ९.३९, चालू खर्च ३८.९ र वित्तीय खर्च २५ दशमलव ४१ प्रतिशत खर्च भइसकेको छ । समग्रमा हालसम्म २९ दशमलव ११ प्रतिशत बजेट खर्च भइसकेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्