ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

४ ओटा अग्ला हिमाल आरोहण गरेकी बारिष्टा : सानो क्याफेमा बुन्दै छिन् ठूला सपना*

२०७८ पौष, २७  
लेख | दृष्टिकोण
Image Not Found

शहर बजारमा बढ्दै गरेको कफि कल्चरका कारण कुनै पनि बहाना बनाई कफि मिटिङमा गफिनु हाम्रा लागि नौलो होइन । 

केही समय पहिलेसम्म ठूला पर्यटकीय होटल र रेष्टुराँमा मात्र सुन्न पाइने अमेरिकानो, क्यापचिनो, मोका, डबल वा सिंगल सट् जस्ता कफि सम्बन्धित जार्गनहरु अहिले हामी आम व्यक्तिको बुझाइको विषय बनिसकेको छ ।

कफिको अनेक स्वादसँगै बारिष्टाको क्षमताको समेत चर्चा हुने गर्दछ ।  रहर र लगाव भए छोटो अवधिको तालिम पछि नै विभिन्न स्वादका कफि बनाएर सर्भ गर्न सक्ने बारिष्टा हुन सकिन्छ ।  यो पेशा अहिले आम युवा माझ आकर्षक पेशा मध्यमा पनि पर्छ । 

कफिका विभिन्न स्वादसँगै छिटोमिठो खाना र नास्ता पाइने अन्य थुप्रै क्याफेहरु जस्तै राजधानीको बौद्धबाट फूलबारी टोल तर्फ जाँदा नजिकै अस्थाई ढंगले निर्माण गरिएको कालिम्पोङ्ग प्लाजामा रहेको छ हिमाल आरोही शर्मिला लामाको क्याफे ‘इपिक’ ।  अरु कफि शपमा जस्तै यहाँ पनि विभिन्न स्वादको कफि पाइन्छन अनि चुस्त स्फुर्त रुपमा आफ्नै हातले कफि बनाएर सर्भ गर्छिन क्याफे सञ्चालिका शर्मिला ।  उनी विश्वको सर्बोच्च शिखर सगरमाथा सहित चार वटा ८ हजार मिटर अग्ला हिमाल सफलतापूर्वक आरोहण गर्ने थोरै नेपाली चेली मध्येकी हुन् । 

यस मध्ये अन्नपूर्ण हिमालको सफल आरोहण गर्ने ६ सदस्सीय पहिलो नेपाली महिला आरोही मध्येकी एक हुन् उनी ।  आरोहण मार्फत उच्च साहस देखाए बापत नेपाल सरकार पर्यटन मन्त्रालयले प्रदान गर्ने तेञ्जिङ् हिलारी पुरस्कार २०२१ की विजेता मध्येकी एक पनि हुन्  शर्मीला । 

मुस्किलले एक दर्जन जति ग्राहक अट्ने सानो इपिक क्याफेमा ग्रहाकको सेवा दिन खटिई रहने यी महिलालाई झट्ट भेट्दा एउटा अर्को बारिष्टा भेटिएको भन्दा अन्य केही भेउ पाइन्न । 

काउन्टरको पछाडी भित्तामा टाँगिएको सगरमाथा टुप्पोमा पुगेको फोकस आउट भएको सामान्य फोटो बाहेक उनले पाएका पुरस्कार वा उनीबारे लेखिएका कुनै सामाग्री त्यहाँ देखिन्नन् ।  

यी सबैका बावजुद चुस्त तरिकाले कफि मेसिन वा चिया कपहरुमा औला खेलाईरहदा अनि ग्रहाकको सेवामा ओहोरदोहर गरिरहदा उनी भित्र भने आफूले विगतमा प्राप्त लक्ष्य भन्दा अझ ठूलो सपना पनि उनीसँगै तरङ्गित भइरहेको हुन्छ । आफ्ना चिनजानका आरोही सहकर्मीहरु आउने वित्तिकै अब आउने सिजनमा को कहाँ कुन हिमाल चढ्न जाँदै छ भन्ने नै उनको गफको विषय हुन्छ ।  नयाँ आगन्तुकसँग पनि चिनापर्ची र सोधखोज पछि बिस्तारै खुल्न थाल्छ उनको साहासिक यात्राको कथा अनि भविष्यका लागि बुनिएको अझ ठूलो सपनाको राज ।  

स्थायी घर काभ्रेको रोशी गाउँपालिका ११, भिङ्खोरी भएकी शर्मिला लामा २२ वर्षको उमेरमा घरजम गरेर सामान्य जीवन जिउने तरखर गर्दै थिइन् ।  अहिले ६ वर्षको छोरो नवजात शिशु हुदाँ नै उनको वैवाहिक जीवनमा दरार आयो । 

आफू स्कुले केटी हुँदै सुनेकी पासाङ ल्हामू शेर्पाको अदम्य शाहसको कथाले उनमा सहासिक कार्य गर्न गहिरो प्रभाव छाडेको थियो ।  एका तिर पारिवारिक झमेला, अर्को तिर राष्ट्रिय विभुति शेर्पाको गाथाले उक्साई रहेको एड्भेन्चरमा सहभागि हुने हुट्हुटी । 

आखिर दुधे वालक छोरो १४ महिनाको हुदाँ सन् २०१७ को वसन्त ऋतुमा शर्मिला सगरमाथाको टुप्पो तिर लम्किइन ।  तेतिबेला उनी सुत्केरी ज्यानबाट भरखरै तङ्रिदै थिइन् ।  उनको यो पहिलो हिमाल आरोहण सफलतामा भने टुङ्गिएन ।  विश्वको शिर सगरमाथाको चुचुरोको १५० मिटर मुनि पुगेर आफ्नो लक्ष्य त्याग्नु पर्दा उनले आँशु थाम्न सकिनन् ।  त्यो क्षण सम्झेर शर्मिला अहिले पनि भन्छिन ‘त्यो क्षण आँशुका दानाहरु आँखाबाट भुँइमा झर्दा नझर्दै आइस भएर जमे ।’  तैपनि उनले हिम्मत भने हारिनन् । फेरी खर्च र शाहस बटुलेर उनी अर्को वर्षको आरोहण याममा सगरमाथा तर्फ नै लम्किइन । 

मे २२, २०१९ मा भने उनले विश्वको अग्लो शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेरै छोडिन् ।  उनको जीवनमा त्यो ऐतिहासिक घटना मात्र थिएन, उनकै शब्दमा ‘हिमाल आरोहणमा उनले आफूले आफैलाई  पाएको क्षण पनि थियो त्यो ।’

 

विश्वको शिर सगरमाथा चुमेको हौसला र खुशीमै उनी रोकिनेवाला थिइनन् । त्यसपछि उनको यात्रा अरु हिमाल तिर बढ्यो । फलतः उनले अहिलेसम्म रसियामा रहेको युरोपकै अग्लो शिखर एलब्रस ५६४२ मिटर, विश्वको आठौं अग्लो मनास्लु ८१६३ मिटर र कोभिड महामारीकै बीच विश्वको दशौं अग्लो अन्नपूर्ण प्रथम ८०९१ मिटर र त्यसको २८ दिन पछि नै विश्वकै चौथो अग्लो ल्होत्से हिमाल ८५१६ मिटरको आरोहण गर्न सफल भइन । 

हिमाल आरोहण अभियानकै क्रममा उनले थोरै आरोहीले मात्र आरोहण गरेको सिन्धुपाल्चोकको ग्याल्जेन पिक लगायत अन्य साना हिमाल पनि आरोहण गरेकिछिन् । अन्नपूर्ण प्रथमको आरोहण अझ विशेष थियो ।  

उनीसँगै हिमाल आरोहणको तिर्सना मेटाउन र अन्नपूर्ण प्रथम आरोहण गरी पहिलो नेपाली महिला बन्न अन्य चर्चित आरोहीहरु माया शेर्पा, पासाङ ल्हामु शेर्पा, पुर्णिमा श्रेष्ठ, दाबुटी शेर्पा र दावा याङ्जुम पनि अन्नपूर्ण अभियानमा थिए ।  उनीहरु सबैले अन्नपूर्ण प्रथमको आरोहण गरेर नेपाली आधा आकशको तर्फबाट इतिहास पनि रचेका थिए ।  

फुर्सद र खर्च जुट्ने वित्तिकै हिमाल तिर लम्किने शर्मिलाका ठूलो सपना भने विश्वका सबै १४ ओटा उच्च हिमालहरु आरोहण गर्ने हो । 

इटलीका भेट्रान आरोही रेन्होल्ड मेस्नरले सन् १९८६ मा ७  वर्षको अथक प्रयासपछि सम्पन्न गरेको यी १४ हिमाल आरोहण गर्ने पहिलो मानव बनेको ३४ वर्ष पछि नेपाली सपुत निर्मल पुर्जा ‘निम्स दाई’ ले ७ महिनामै विश्वको १४ वटै हिमाल आरोहण गरेर अद्भुत रेकर्ड राखेको ताजै छ ।  खबरहरुमा यति छोटो अवधिमा मै यी हिमालहरु चढ्नुले कतै यो काम सोचे जति  जटिल होइन की जस्तो लाग्न पनि सक्छ । तर हिमाल आरोहण साच्चिकै चुनौतिपूर्ण कार्य हो । 

किर्तिमानी आरोही निर्माल पुर्जाको आरोहण सम्बन्धि हालै नेटफ्लिक्समा रिलिज भएको फोर्टिन पिक बृत्तचित्रमा नै उनको आरोहणको क्रममा सगरमाथा, कञ्चनजङ्घा, अन्नपूर्ण लगायतका चुचुराहरुमा आङ् नै सिरिङ्ङ हुने दुर्घटना र आरोहीहरुले ज्यान गुमाएकोसम्मका घटनालाई समेटिएको छ ।  यसबाट हिमाल आरोहण ख्यालख्यालको विषय होइन भन्ने जगजाहेर हुन्छ । त्यहाँ जुनसुकै बेला पनि अप्रिय घटना घट्न सक्दछ ।  त्यस्ता चुनौतिका चाङ् भएपनि रेन्होल्ड मेस्नर र निर्मल पुर्जाको पदचाप पछ्याउदै सहासी आरोहीको रुपमा आफूलाई स्थापित गर्ने शर्मिला लामाको धोको भने उच्च छ । 

शर्मिला जस्ता आरोहीको लागि प्राकृतिक जटिलताले सिर्जित चुनौतिका साथमा हिमाल आरोहण अभियानको लागि जुटाउनु पर्ने आर्थिक श्रोत त्यतिनै ठूलो चुनौति हो ।  आठ हजार मिटर माथिको एउटा हिमाल आरोहण गर्न सस्तै कम्पनी  मार्फत सेवा लिदाँ पनि २० लाख रुपैयाँ हाराहारी खर्र्च चाहिन्छ ।  यस हिसाबले शर्मिला लामाको लागि बाँकि ८ वटा हिमाल आरोहणको खर्च मात्रै पनि करौडौं रुपैयाँ पुग्न सक्छ ।  तर पनि उनले हिम्मत हारेकी छैनन् ।  

एकल अभिभावकको रुपमा साथमा रहेको छोराको पढाई र पारिवारिक खर्च धान्न उहि सानो क्याफे इपिकमा सञ्चालिका र बारिष्टाको रुपमा आफूलाई व्यस्त राख्दै गर्दा त्यहीं उनले आफ्ना भाई, बहिनी सहित ५ जनालाई रोजगारी पनि सिर्जना गरेकी छन् । 

१४ उच्च शिखर मध्येको बाँकि आठ हिमाल मध्ये कम्तीमा एउटा आगामी आरोहण सिजनमा (यसै वर्ष) फत्ते गर्ने उनको लक्ष्य छ ।  त्यसका लागि अहिले उनी आर्थिक सहयोग जुटाउन लागि रहेकी छिन्  ।  

अहिलेसम्मको आरोहण अभियानहरुमा प्राप्त सफलताले उनलाई शसक्त आरोहीको रुपमा  स्थापित गरिसकेको भएता पनि उनले आफ्नो सहासिक अभियानको लागि दीर्घकालिन प्रायोजक कम्पनी वा व्यवसायिक संघ संस्था  भेट्टाउन सकिरहेकी छैनन् । यद्यपी उनी आफ्नो लक्ष्य प्राप्तिको लागि दत्तचित्त छिन् । गुजाराको लागि साधारण बारिष्टाको रुपमा कार्यरत यी आरोहीको असाधारण सपना सफल होस् र सहासिक सफलताका थप कथा हामीले पढ्न पाऔं, शुभकामना। * ४ ओटा हिमाल आरोहण हुनुपर्नेमा ६ ओटा भएकोले शीर्षक सच्याइएको छ-सम्पादक । (लेखक- अम्बर लामा)

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement