ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

रि - रुट अनुमति पाएपछि भण्टावारी नाकाबाट शुरु भयो आयात निर्यात 

५ दिनपछि ११६ किलोमिटर घुमेर मालबाहक सवारी विराटनगर भन्सार आउन शुरु

२०७८ पौष, २७  
प्रदेश ०१ यातायात
Image Not Found
author avatar अभियान संवाददाता

पुस २७, विराटनगर । पाँच दिनदेखि निकासी पैठारी ठप्प भएको विराटनगर नाकाबाट मंगलवार साँझदेखि आयात निर्यात शुरु भएको छ 

मंगलवार साँझ सात बजेसम्ममा भारतबाट पाँच दर्जन मालवाहक सवारी नेपाल प्रवेश गरेका छन् । सोमवार नेपालको भन्सार विभागले र मंगलवार भारतीय भन्सार विभागले रि - रुटका लागि अनुमति दिएपछि ११६ किलोमिटर घुमेर मालबाहक सवारी विराटनगर भन्सार आउन थालेका हुन् । 

विराटनगर भन्सार कार्यालयबाट चार किलोमिटर दक्षिण पश्चिममा भारतमा रहेको मिरगञ्जको बेलीब्रिज भासिएपछि विराटनगर नाकाबाट हुने निकासीपैठारी ठप्प भएको थियो । जसका कारण विराटनगर भन्सार कार्यालयको दैनिक करीब १४ करोड ५० लाख रुपैयाँ राजस्व गुमिरहेको थियो । पाँच दिनमा विराटनगर भन्सार कार्यालयले संकलन गर्नुपर्ने ६० करोड रुपैयाँ राजस्व संकलन गर्न सकेन । 

पाँच दिनदेखि जोगवनी र भाण्टावारी नाका जाने सडकमा ६०० भन्दा बढी मालबाहक अलपत्र परेर बसेका थिए । ती सवारी विस्तारै सुपौल जिल्लाको विरपुरतर्फ लागेका छन् । जहाँ भारततर्फ भीमनगर भन्सार छ भने नेपालतर्फ भण्टावारी छोटी भन्सार छ । 

नेपालको भन्सार विभागले भारतीय पक्षबाट स्वीकृती आएमा तत्कालका लागि सुनसरीको नेपाल भारत सीमामा रहेको भण्टावारी नाका प्रयोगको अनुमति सोमवार साँझनै दिएको थियो । तर भारतको भन्सार विभाग र जिल्ला अधिकारीको कार्यालयले यस बारेमा माथिल्लो निकायमा पत्र लेखेपनि त्यसको जवाफ नआएकाले कुन नाका प्रयोग गर्न दिने भन्ने अन्यौलताका कारण नेपाल भारत निकासी र पैठारी रोकिएको थियो । 

विराटनगर भन्सार कार्यालय प्रमुख ताराप्रसाद सापकोटाका अनुसार भण्टावारी नाका हुँदै विराटनगरको आईसीपी सम्म आइपुग्दा मालवाहकलाई झण्डै ११६ किलोमिटरको यात्रा तय गर्नुपर्छ । चार वर्ष अघि पनि मिरगञ्जको पुल भासिदा मालबाहक सवारीलाई भण्टावारी नाकाबाटै नेपाल प्रवेश दिइएको थियो । 

भारतबाट भण्टावारी नाका हुदै मालवाहकले नेपाल प्रवेश पाएपनि भण्टावारीमा नै भन्सार भने काट्न मिल्दैन । त्यसैले नेपाल प्रहरीको सुरक्षा निगरानीमा मालवाहक सवारी सिल लगाएरै विराटनगर भन्सार कार्यालयमा आएपछि मात्र भन्सार जाँचपास भएर मात्र गन्तव्यसम्म जाने भन्सार प्रमुख सापकोटाले बताए । 

भन्सार अधिकृत अमित तिवारीका अनुसार विराटनगर भन्सारको दैनिक राजस्व संकलनको लक्ष्य १४ करोड ५० लाख रुपैयाँ भएपनि पुस भासिएपछि भारतलगायत तेश्रो मुलुकबाट दैनिक उपभोग्य वस्तु र कच्चा पदार्थसमेत नआएकाले पाँच दिनमा झण्डै ६० करोड रुपैयाँ राजस्व संकलन हुनु पर्नेमा संकलन हुन सकेन ।

 फलामको पुलभन्दा एक किलोमिटर उत्तरतर्फ मोटरेबल पुल बनिसकेकाले त्यो दुई महीना भित्रमा चालू भएपछि जोगवनी नाकामा आउजाउ गर्ने मालवाहकको समस्या स्थायी रुपमा समाधान हुने छ । विराटनगर नाकाबाट दैनिक ३०० ओटा मालबाहक आवतजावत गर्ने हुने गरेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement