ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा संक्रमण गर्छ : विज्ञ

२०७८ पौष, २८  
समाचार स्वास्थ्य र जीवन शैली
Image Not Found

पुस २८, काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी संक्रामक रहेको बताइएको छ ।

ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि संक्रामक दर गुणात्मक रुपमा फैलिने बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ओमिक्रोन भेरियन्टको अन्य भेरियन्ट जस्तै मानिसमा लक्षण हुने गरेको बताए ।

‘अहिले गरिरहेका अणुवांशिक अध्ययन (जीन सिक्वेन्सिङ) ले ओमिक्रोन भेरियन्ट बढ्दै गएको देखाएको छ, यो भेरियन्टमा अरु भेरियन्टका तुलनामा जटिलता कम भए पनि संक्रामण गुणात्मक रुपमा धेरै हुने भएकाले जटिल हुने अनुपात बढेर जान्छ’, उनले भने । 

अन्य भेरियन्टको तुलनामा यो भेरियन्ट तीव्र दरमा फैलिने गरेको छ । मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा संक्रमण हुने बताइन् । ‘अन्य भेरियन्टले तल्लो श्वासप्रश्वास नली वा फोक्सोमा संक्रमण हुने गर्दथ्यो’, उनले भनिन् । 

ओमिक्रोनले पार्ने असरका बारेमा थप अध्ययन अनुसन्धान भइरहेको उनको भनाइ छ । पछिल्लो एक हप्तामा कोरोना संक्रमण विश्वभर एक करोडमा पुष्टि भएको छ । यति धेरै संक्रमण हुनुको कारण ओमिक्रोन भेरियन्ट नै रहेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । 

ओमिक्रोनले कोरोना खोप लगाएका/नलगाएका दुवैलाई संक्रमण हुन सक्दछ । संक्रमित भएकामध्ये खोप नलगाएकालाई धेरै गाह्रो बनाउन सक्ने अहिलेसम्मको अध्ययनले देखाएको छ । खोप नलगाएका व्यक्तिको ज्यान जाने पनि खतरासमेत रहेको छ । जनस्वास्थ्यविद् डा सागरराज भण्डारीले ओमिक्रोन भेरियन्टले मानिसको घाँटीमा संक्रमण गराउने बताए ।

उनले घाँटी खसखस हुने, चिलाउने र श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण देखिने जानकारी दिए । यस्तै ओमिक्रोन भेरियन्टले मानिसमा बढी हाछिउँ आउने, हल्का ज्वरो आउने, धेरै रुघा लाग्ने जस्तो लक्षण पनि देखिने गर्दछ । 

बच्ने उपाय     
यसबाट बच्नका लागि कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाउनाका साथै जनस्वास्थ्य मापदण्ड अर्थात भीडभाड नगर्ने, सेनिटाइजरको प्रयोग र हात साबुनपानीले पटक पटक धुनु पर्दछ । सही तरिकाले मास्कको प्रयोग गर्न र एक व्यक्ति तथा अर्को व्यक्तिबीचको भौतिक दूरी एक मिटर कायम गर्नुपर्दछ । 

यस्तै संक्रमणबाट बच्नका लागि सरकारले १२ वर्षदेखि माथिका सबैलाई कोरोनाविरुद्धको खोप एक वर्षअघिदेखि नै लगाउन थालेको छ । अहिलेसम्म नेपालमा लक्षित जनसंख्याको ७६ दशमलव ५ प्रतिशतले पहिलो मात्रा र ५६ दशमलव ९ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । 

यस्तै कुल जनसंख्याको ५० दशमलव २ प्रतिशतले पहिलो मात्रा र ३७ दशमलव ३ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । सरकारले कोरोना भाइरसको संक्रमण बढदै गएपछि आगामी माघ १५ गतेसम्म बन्द गर्नुका साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी जस्ता कार्यक्रम बन्द गरेको छ । 

संक्रमण दर बढ्दै 
संक्रमण दरको प्रवृत्ति पनि वृद्धि भएको छ । यही पुस १९ गते २ दशमलव ६ प्रतिशतमा रहेको संक्रमण दर पुस २७ गते १८ दशमलव ६ प्रतिशत पुगेको छ । यस्तै पुस २६ गते १२ दशमलव ७ प्रतिशत, पुस २५ गते ९ दशमलव २ प्रतिशतमा मात्र संक्रमण दर रहेको थियो ।

पुस २० गते ४ दशमलव २ प्रतिशत, पुस २१ गते ४ दशमलव ३ प्रतिशत, पुस २२ गते ४ दशमलव ५ प्रतिशत, पुस २३ गते ६ दशमलव ५ प्रतिशत र पुस २४ गते ७ दशमलव १ प्रतिशत कुल संक्रमण दर रहेको थियो । 

पुस २७ गते १५ हजार ३३ जनाको परीक्षणमा दुई हजार ४४४ मा संक्रमण देखिएको थियो । पुस २६ गते एक हजार ४४६ संक्रमित र सात हजार ८५५ सक्रिय संक्रमित तथा पुस २५ गते संक्रमित एक हजार १६७ पुगेको र सक्रिय संक्रमित छ हजार ७५५ देखिएका छन् । 

ओमिक्रोन भेरियन्ट रोकथामको तयारी
सरकारले पहिलेको अनुभवबाट पाठ सिकेर अहिले सम्भावित तेस्रो लहरको जोमिख हुन नदिन अस्पताललाई तयारी अवस्थामा राखेको छ । मन्त्रालयका प्रवक्ता डा मिश्राका अनुसार ओमिक्रोन भेरियन्टको सम्भावित जोखिम रोक्न अस्पताललाई आवश्यक पर्ने अक्सिजन, सघन उपचार कक्ष (आइसियु), हाई डिपेडेन्सी युनिट (एचडियु), भेन्टिलेटर, आईसोलेशन र स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा राखेको छ । उनका अनुसार आइसियु दुई हजार ७९७, भेन्टिलेटर एक हजार आठ र एचडियु तीन हजार ८४६ रहेका छन् । 

यस्तै, अक्सिजन सिलिण्डर १३ हजार ९३९ र अक्सिजन कन्सट्रेटर ६९३ रहेका छन् । यसैगरी २५ अक्सिजन टयाङ्कमा १९ ओटा र १०७ मध्ये ८७ अक्जिसन प्लान्ट सञ्चालनमा आइसकेका छन् । उपत्यकामा दुई हजार ४९४ आईसोलेशन शय्या, ३२४ एचडियु, ४४५ सघन उपचार कक्ष र २५४ भेन्टिलेटर रहेका छन् । 

मन्त्रालयले समुदायमा ओमिक्रोन भेरियन्ट पत्ता लगाउनका लागि बढीभन्दा बढी एन्टिजेन किटबाट नै परीक्षण बढाउनुका साथै निगरानी बढाएको उनको भनाइ छ । ‘पोजेटिभ संक्रमण देखिएकामध्येबाट ओमिक्रोन पत्ता लगाउन अणु वांशिक अध्ययन (जीन सिक्वेन्सिङ) गरिरहेका छौ, मन्त्रालयका प्रवक्ता डा. मिश्राले भनिन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्