ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

सुन्तला विक्री गर्न व्यस्त धनकुटाका कृषक, वार्षिक २५ लाखसम्मको कारोबार

रोगकिराका कारण बगान मासिने चिन्ता

२०७८ पौष, २८  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

पुस २८, धनकुटा । धनकुटाको धनकुटा नगरपालिका, सहिदभुमि गाउँपालिका, पाख्रिवास नगरपालिका र चौविसे गाउँपालिका अहिले सुन्तलाले पहेंलै भएको छ । 

बोटरभरी लटरम्म सुन्तला फलेका छन् । व्यापारी गाडी लिएर बगानमै पुग्ने भएकाले किसानलाई सुन्तला टिपेर विक्री गर्न भ्याइनभ्याइ छ ।  यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै सुन्तला हो । 

धनकुटा नगरपालिका ३ सिप्तिङ्गको कृषक जलन राईका अनुसार गाउँमा एक जना किसानले वार्षिक कम्तिमा एक लाखदेखि २५ लाख रुपैयाँसम्मको सुन्तला विक्री गर्छन् । 

यहाँ उत्पादन भएको सुन्तला सुनसरी, मोरङ, झापा सहित काठमाडौंसम्म पुग्ने गरेको छ । धेरै व्यापारी र ग्राहकको रोजाइमा सहिदभुमिको सुन्तला पर्ने गरेको छ । 

धनकुटा नगरपालिका ३ का कृषक राई पनि आफ्नो बारीमा उत्पादन भएको सुन्तला विक्री गर्ने तरखरमा छन् । २२ वर्षिय राई केहि वर्ष यता आमाबुवाले गर्दै आएको सुन्तला खेती स्याहार्दै आएका छन् । 

करीब २५ रोपनी क्षेत्रफलमा लगाएको सुन्तला खेतीबाट उनको परिवारले वार्षिक १५ लाख रुपैयाँ आम्दानी गदै आएको छ । आम्दानी र उत्पादन राम्रो भएकै कारण उनका साथीहरु विदेशिने क्रम बढीरहँदा पनि उनी भने सुन्तला खेतीमै रमाइरहेका छन । कृषि पेशा अन्तर्गतका अन्य खेतीभन्दा सुन्तला खेती गर्न सहज हुने उनको भनाइ छ ।

धनकुटा नगरपालिका ३ मा रहेका ५०५ घर परिवारमध्ये करीब ७५ प्रतिशत घर परिवार सुन्तला खेतीमा आबद्ध छन् । उनीहरुमध्ये धेरैको मुख्य आम्दानीको स्रोत नै सुन्तला हो । 

मंसिर १५ देखि माघ अन्तिमसम्म यो गाउँका किसान सुन्तला टिपेर विक्री गर्न व्यस्त हुन्छन । बोटबाट सुन्तला टिपेर खुल्ला ठाउँमा ल्याउने, ठूला–साना (ग्रेडिङ) छुट्याएर क्रेटमा राखिन्छ र क्रेटमा राखेको सुन्तला जोख्दै व्यापारीलाई दिइन्छ ।

रोगकिरा र बिचौलियाको समस्या
सुन्तला टिपेर विक्री गर्नमा व्यस्त रहेका किसानलाई बजार, बिचौलिया, रोगकिरा वर्षेनी समस्यामा पर्ने गरेका छन् । कहिले उपयुक्त मूल्य नपाउनु, कहिले बजार नपाउन त कहिले रोगकीराले बगान नै सखाप बनाइ दिँदा कृषक समस्यामा पर्ने गरेका हुन् । 

रोग किराको समस्या समाधानको लागि सम्बन्धित निकायले चासो नै नदिने गरेको धनकुटा नगरपालिका ३ का कृषक रेशकुमार राईले गुनासो गरे । सुन्तलाको खुद्रा मूल्य अहिले प्रतिकिलो ९० रुपैयाँदेखि १२० रुपैयाँसम्म छ । 

कृषि ज्ञान केन्द्र धनकुटाको तथ्यांक अनुसार जिल्लामा करीब ६०० हेक्टर क्षेत्रफलवाट वार्षिक ५ हजार मेक्ट्रिकटनभन्दा बढि सुन्तला उत्पादन हुने गरेको छ । तर, धनकुटामा सुन्तलाको उत्पादन भने वर्षेनि घट्दै छ ।

बोटै सुकेर सुन्तलाको उत्पादन कम हुन थालेपछि किसान चिन्तित छन् । ‘५/६ वर्षको वयस्क बोटमा पनि दाना कलिलैमा पहेंलो हुने, भित्रभित्रै कीरा पर्ने र बोट सुक्ने समस्या छ । यसको उपचार गर्नै सकिएन,’ सहिदभुमि गाउँपालिका–५ का किसान अनन्तर राईले भने । प्राविधिकले समेत समस्या पहिचान गर्न नसकेको उनले बताए । 

गत वर्ष ३ लाख रुपैयाँ आम्दानी गरेका राईले आफ्नो बगैँचामा यसवर्ष १० हजार पनि आम्दानी नहुने बताए । जरामा रातो कमिला लागेपछि बोट नै मर्ने गरेको उनको भनाइ छ सुन्तलाको बगान नै मासिन लागेपछि राईले नयाँ बगान नलगाउने बताए । 

सुन्तलाकै नामले परिचित सहिदभुमिको खोकुमा सुन्तला बगान मासिन थालेको छ । बर्सेनि एक करोड रुपैयाँभन्दा बढीको सुन्तला निकासी हुने खोकुमा यो वर्ष सुन्तलाको बोटै नरहने अवस्था आएको किसानहरु बताउँछन् । बोट नै सुक्ने रोगले किसानलाई चिन्तित बनाएको छ । 

कृषि ज्ञान केन्द्र धनकुटाले यो वर्षको सुन्तलाको उत्पादन सम्बन्धी तथ्यांक संकलन भइनसकेको जानकारी दिएको छ । केन्द्रकी प्रमुख पूर्णमाया गुरुङले फल झर्ने, बोट सुक्नेजस्ता रोगले सुन्तलाको उत्पादन बर्सेनि घट्दै गएको बताइन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्