ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

‘प्रदेश २ को नाम र राजधानी माघ ३ गते टुंगो लाग्ने’

२०७८ पौष, २९  
मधेश प्रदेश
NA

जनकपुर । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशको नाम र राजधानी माघ ३ गते टुंगो लाग्ने बताएका छन् । प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाम उपमहानगरपालिका–७ मा बुधवार आयोजित कार्यक्रममा मन्त्री साहले उक्त जानकारी दिएका हुन् । माघ २ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रस्तुत हुने र माघ ३ गते मतदानद्वारा टुंगिने उनले बताए ।

‘प्रदेशको नामकरण र राजधानीसम्बन्धी आएका प्रस्तावमाथि छलफल भइरहेको छ,’ मन्त्री साहले भने, ‘प्रदेशको राजधानी जनकपुर नै हुनुपर्नेमा वीरगञ्जका केही प्रदेश सांसद बाहेक सबै सांसद एकै ठाउँमा छन्, नामको सन्दर्भमा पनि छलफल भइरहेको छ ।’ प्रदेशसभाको समयावधि सकिन थोरै मात्र समय बाँकी रहेकाले सबै दलका प्रदेशसभा सदस्यलाई प्रदेशको नाम र राजधानी टुंगो लगाउनुपर्ने नैतिक दबाब रहेकाले जसरी पनि प्रदेशको नाम र राजधानीको विषय टुंगिने उनले विश्वास व्यक्त गरे ।

शीतलहरका बेला लत्ताकपडाको जोहो गर्न नसक्ने विपन्न, गरिब नागरिकलाई प्रदेश सरकारले राहतस्वरुप कम्बल वितरणको कार्यक्रम शुरू गरेको भन्दै सञ्चारमन्त्री साहले चिसो र शीतलहरबाट नागरिकको ज्यान जोगाउन सरकारले आवश्यक तयारी गरिरहेको समेत बताए ।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता परमेश्वर साहले जाडोबाट प्रभावित विपन्न नागरिकको जीवन रक्षा गर्नु राज्यको दायित्व भएकाले तीनै तहको सरकार तत्काल यसप्रति गम्भीर हुनुपर्ने बताए । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रीता मिश्र तथा स्थानीय पवन ठाकुरले प्रदेश सरकारले विपन्न नागरिकलाई कम्बल वितरण गरी सराहनीय कार्य गरेको बताए । कार्यक्रममा सञ्चारमन्त्री साहले जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडाका ५०० गरिब, विपन्न परिवारलाई कम्बल वितरण गरेका छन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्