ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

सडक आयो, बनेन पुल

२०७८ पौष, २९  
गण्डकी प्रदेश
NA

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीको सिमखेत र फलेवास नगरपालिका–३ शंकरपोखरी जोड्ने मल्याङ्दी खोलामाथि झोलुंगे पुल निर्माण गर्न स्थानीयवासीले माग गरेको झन्डै आधा शताब्दी बितेको छ । तर पनि अझै उनीहरूको माग पूरा हुन सकेको छैन । वर्षौंदेखि पुलको माग गर्दा पनि अझै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ ।     

पुल नहुँदा स्थानीयवासी जोखिमपूर्ण रूपमा खोला वारपार गर्न बाध्य भएका छन् । गाउँ नजिकैको सिसाठाँटीमा पुल बनाइदिन आग्रह गर्दै तत्कालीन अञ्चलाधीशको कार्यालय बागलुङ गएको फलेबास–३ सिमखेतका ५६ वर्षीय शालिग्राम अधिकारीलाई अझै सम्झना छ । ‘उतिबेला अहिलेको जस्तो गाडीको सुविधा थिएन,’ उनले भने, ‘बाटो खर्च बोकेर बुबा दुई दिन लगाएर बागलुङ पुगी अञ्चलाधीशको कार्यालयमा पुल बनाइदिन बिन्ती गरेर आउनुभएको थियो, तर अहिलेसम्म पुल बनेन।’ २०३६ मा बनेको ज्ञादी सिँचाइ आयोजनाको नहर उद्घाटन गर्न आउँदा तत्कालीन राजा वीरेन्द्रले लट्ठा बोक्न सके पुलका लागि बजेट पठाउने आश्वासन दिएका थिए ।

‘लट्ठा बोक्न भने बुटवल पुग्नुपर्ने अवस्था थियो । त्यो आँट कसैले नगरेपछि राजाले आश्वासन दिए पनि पुल बन्न सकेन,’ स्थानीय अगुवा महेन्द्रबहादुर कार्कीले भने । कुश्मा–१० को पीपलटारी र फलेबास–३ को शंकरपोखरीलाई जोड्ने मल्याङ्दी खोलामा पुल नहुँदा स्थानीयवासी काठको साँघु बनाएर वारपार गरिरहेका छन् । अञ्चलाधीशको कार्यालय हुँदै तत्कालीन जिविस, विभाग, मन्त्रालयलगायत सबैजसो सरकारी निकायमा पुल बनाइदिन माग गर्दै स्थानीय डेलिगेसन गइसकेका छन् । तर अहिलेसम्म कतैबाट पनि पुल निर्माणका लागि पहल भएको छैन ।     

मल्याङ्दी खोला वर्षातका पाँच महिना तर्नै नसकिने गरी उर्लिन्छ । त्यही समय धान, कोदो रोप्न र घाँस दाउरा गर्नुपर्ने भएकोले खोला वारपार नगरी स्थानीयवासीलाई सुखै छैन । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्