ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

कमल दह, मिर्चैयामा पर्यटकीय सम्भावना

२०७८ पौष, २९  
लेख | दृष्टिकोण
Image Not Found

नेपालको प्रदेश नं. २ मा पर्ने सिरहा जिल्लामा अवस्थित मिर्चैया नगरपालिका तराई क्षेत्रको एक महत्त्वपूर्ण व्यापारिक, औद्योगिक तथा पर्यटकीय केन्द्रका रूपमा स्थापित छ । सिरहा इलाका पहिले सप्तरी राज्यअन्तर्गत पर्दथ्यो । सिरहा (सप्तरी) इलाका नेपालको पूर्वी क्षेत्रको चौदण्डी राज्यको मातहत रहेकोमा सुगौली सन्धिपछि सन् १७७३ देखि नेपाल अधिराज्यको एक भागका रूपमा गाभिएको देखिन्छ । मिर्चैया नगरपालिका क्षेत्रमा पहिलेपहिले खोर्सानीको बोटजस्तै झारका बोटहरू प्रशस्तै हुने र खोर्सानीलाई तराईमा मिर्च भन्ने चलनअनुसार खोर्सानीजस्तो झारको नामबाट यस स्थानलाई मिर्चैया भनी नामकरण भएको त्यहाँका स्थानीय बासिन्दाले भनाइ रहेको पाइन्छ ।

यस नगरक्षेत्रमा तीन प्रकारको भौगोलिक शृंखला रहेको पाइन्छ । उत्तरतर्फ पर्ने चुरेक्षेत्र जहाँ बलौटे र खुकुलो माटोको पत्र रहेको छ भने मध्य भागको चुरेको फेदीलाई भावर भनिन्छ । यो क्षेत्रमा वनजंगल कम भएकाले सुक्खा र पानीको अभाव रहेको छ । तल्लो समथर भूभागमा बाक्लो खालको दोमट माटो भेटिन्छ । यो क्षेत्र बढी उब्जाउ रहेको देखिन्छ । तर, समथर भएकाले बाढीको जोखिम बढी पाइन्छ ।

मिर्चैया नगरपालिकामा विभिन्न ऐतिहासिक तथा पर्यटकीय धरोहरहरू छन्, जस्तै : कमल दह, ढोल वजा, दुर्गा मन्दिर, सहलेश मन्दिर, राजदेवी मन्दिर, महादेव मन्दिर, कवीर मन्दिर, मस्जिद, महावीर मन्दिर, हनुमान (गदवा), मदर्सा आदि अवस्थित छन् । यसमध्ये प्रमुख ऐतिहासिक तथा पर्यटकिय धरोहर कमल दह विशेष रहेको छ । कमल दह मिर्चैया नगरपालिकाको भगवानपुर महलवोनामा अवस्थित छ । यो कमलदह धार्मिक एवं पर्यटकीय क्षेत्र हो । यस दहबाट देखिने हरियाली मनमोह, दृश्यले जो कोहीको मन नलोभ्याउने कुरै छैन । कमलदहमा जान सिद्धार्थ राजमार्ग घुर्मी बजारबाट ६ किमी र मिर्चैया कटारी चोकबाट ८ किमी उत्तरतर्फ पर्छ ।

स्थानीय जानकारका अनुसार कमल दह धेरै पुरानो धार्मिक एवं पर्यटकीय धरोहर हो । यस दहमा दह वार्ने माताले विराजमान गर्नुभएको किंवदन्ति छ । स्थानीय जानकारका अनुसार कमल दह देवपितृको वासस्थान हो । यहाँ ५६ करोड देवताको वास छ । यहाँ ३६५ दिनै पूजा हुन्छ । मुख्य मेला यहाँ कात्तिकको ठूलो एकादशीमा ३ दिन र नव वर्ष वैशाखमा २ र ३ गते विशेष भीडभाड हुन्छ । वैशाख २ गते पर्ने यस क्षेत्रको जुड शीतल पर्व पनि यहाँ विशेष रूपमा हजारौं भक्तजनले मनाउँछन् । उक्त समयमा यहाँ मेलाको आयोजना गरिएको हुन्छ । साथै, त्यस मेलामा खेलकुदको मुख्य आकर्षण कुस्ती हुन्छ ।

कमल दहको दक्षिणतर्फ केही मन्दिर र आकर्षणका रूपमा ठूलो शालीग्राम छ । यस क्षेत्रमा लगाएको नयाँ बाली सबैभन्दा पहिले पाकेपछि दह वार्ने मातालाई चढाएर खाने चलन छ । १०–१५ वर्षपहिले कमल दहको पानी त्यस भेगको मानव बस्तीले पिउने गर्दथे । कमल दह हाल मिर्चैया नगरपालिकाले माछा मार्ने ठेक्का लगाएको र ठेकदारले दहको कमलको फूल सबै हटाएर शोभा बिगारेको स्थानीयको ठूलो गुनासो भएको पाइन्छ । जानकारहरू यस धार्मीक एवं पर्यटकीय स्थलको उचित किसिमको संरक्षण छिटोभन्दा छिटो गरी कमल दहलाई आकर्षण धार्मिक एवं पर्यटकीय स्थाल प्रचारप्रसार गरी विकासमा अगाडि बढाउनुपर्ने स्थानीय सरकारसँग अपेक्षा राख्छन् ।

आआफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारका लागि उपयुक्त रणनीतिक एवं भूराजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि प्राप्त गर्नुपर्ने अवस्था छ । यसका लागि पर्यटन महत्त्वपूर्ण आधार हुन्छ ।

समृद्ध नगर तथा गाउँको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रविन्दु युवा जनशक्तिको विदेश पलायनतालाई रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगाारीको अवसर सृजना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भूधरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचनाप्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ कृषि पछिको मुख्य व्यवसायका रूपमा पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो ।

यस क्षेत्रमा तुलनात्मक रूपमा मध्यमस्तरको जनशक्ति एवं कम पूँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक पर्यटन उद्योगको विकासबाट यस क्षेत्रको आर्थिक सामाजिक विकास गरी गरीबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना स्पष्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवम् सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रूपमा रहेको छ । यसबाट यस क्षेत्रको जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्छ ।

यस क्षेत्रका लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा नगरपालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महŒवलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाका रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवासुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । यस क्षेत्रका पर्यटकीय सम्भावना बोकेको अधिकांश स्थलहरू नगरपालिकाका विभिन्न क्षेत्रमा छरिएर रहेका छन् । यहाँ पर्याप्त र राम्रो पर्यटकीय सेवासुविधा दिइने अवस्था अभैm कमी छ । कमजोर व्यवस्थापन, अपर्याप्त र खण्डित अवस्थाबाट ग्रस्त रहेको छ । यसबाट यहाँका बासिन्दाले खास रूपमा फाइदा लिन सकेको स्थिति छैन । त्यसैले, मिर्चैया नगरपालिका क्षेत्रका लागि पर्यटकीय सम्भाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसूस गरिएको छ । अतः पर्यटन विकास, पर्यटन सम्पदा तथा पर्यटन सेवासुविधालाई प्याकेजिङ गरी विकास गर्नुपर्ने आजको आवश्यकता हो ।

लेखक गुणस्तरीय जीवन सम्बन्धमा विद्यावारिधि हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement