ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

किसान सूचीकरण गर्दै कावासोती नगरपालिका

२०७८ पौष, ३०  
लुम्बिनी प्रदेश
Image Not Found

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले किसान सूचीकरण गर्न शुरुआत गरेको छ । सरकारले जारी गरेको किसान सूचीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ अनुसार विभिन्न पेशामा आबद्ध रहेका किसानको पहिचान गर्न किसान सूचीकरण शुरू गरिएको हो ।     

कृषि तथा पशुपक्षी विकास शाखाका प्रमुख डा. टेकराज पौडेलले नगरपालिकाभित्र रही कृषि, पशुपक्षी तथा मत्स्य व्यवसायमा आबद्ध किसानको लगत संकलनका लागि किसान सूचीकरण कार्यक्रम थालनी गरिएको जानकारी दिए । यसका लागि कावासोती नगरपालिकाले पहिलो चरणमा वडा नं ५ र १७ मा सहजकर्ता खटाएको समेत उनले बताए । सहजकर्ता नखटिएका क्षेत्रका किसानले आवश्यक कागजातसहित नगरपालिकाको कृषि तथा पशुपक्षी विकास शाखामा उपस्थित भएर किसान सूचीकरणको फाराम भर्न सकिने बताइएको छ ।

यसैगरी किसान सूचीकरण व्यवस्थापन प्रणालीको वेबसाइटमा गई आफ्नो विवरण प्रविष्ट गर्न सकिने समेत शाखा प्रमुख पौडेलले जानकारी दिए । किसान सूचीकरणका लागि आफ्नै व्यक्तिगत सम्पर्क नम्बर, नागरिकताको प्रतिलिपि, जग्गा पुर्जाको प्रतिलिपि र पासपोर्ट साइजको एकप्रति फोटो आवश्यक पर्नेछ ।
किसान सूचीकरणसँगै वर्गीकरण गरिनेछ । सूचीकरण र वर्गीकरणपश्चात् नगरपालिकाबाट किसानका लागि प्रदान गर्ने सुविधा पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने शाखा प्रमुख पौडेलले बताए । नगरसहित प्रदेश र संघीयरूपमा समेत यही तथ्यांक प्रयोग हुने भएकाले ती क्षेत्रबाट प्राप्त गर्ने अनुदानसहित अन्य सुविधा प्रदान गर्ने क्रममा व्यवस्थित बनाउन किसान सूचीकरणले सहयोग पुर्‍याउने उनले बताए ।

सरकारले किसानलाई पेन्सनको कुरासमेत उठाउने गरेको छ । अहिले गरिएको सूचीकरणले सो कार्यक्रमका लागि समेत सहयोग पुग्ने उनले बताए । कावासोती नगरपालिकामा हाल दुईवटा वडालाई प्राथमिकता दिएर सहजकर्ता खटाइएको भए पनि क्रमशः नगरपालिकाभित्रका सबै वडाबाट कोही पनि किसान सूचीकरणमा नछुट्ने गरी कार्य गरिने उनले जानकारी दिए । नगरपालिकाले किसानलाई प्राथमिकताका साथ सूचीकरण गराउनसमेत अनुरोध गरेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्