ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

लमजुङमा धान उत्पादनमा वृद्धि

२०७८ पौष, ३०  
गण्डकी प्रदेश
NA

लमजुङ । लमजुङमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमै वर्षा, पर्याप्त मल र उन्नत जातका बीउ लगाएकाले यस वर्ष धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले बताएको छ । केन्द्रका सूचना अधिकारी मदन रेग्मीका अनुसार यस वर्ष १४ हजार २६० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट ४४ हजार ७७६ मेट्रिकटन धान उत्पादन भएको छ । गतवर्ष १४ हजार २८० हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीबाट ४४ हजार ४२५ मेट्रिकटन धान उत्पादन भएको थियो ।  

गतवर्षको तुलनामा यो वर्ष २० हेक्टर क्षेत्रफल कम जमिनमा धानखेती गरिए पनि ३५१ मेट्रिकटन उत्पादन वृद्धि भएको केन्द्रका सूचना अधिकारी रेग्मीको भनाइ छ । यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि जिल्लाका किसान उत्साहित भएका छन् । मौसम राम्रो भएको र समयमै पानी भएकाले उत्पादन राम्रो भएको रेग्मीले बताए ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०७५/७६ मा जिल्लामा १४ हजार २३० हेक्टर क्षेत्रफल जमिनमा लगाइएको धानखेतीबाट ४४ हजार १५५ मेट्रिक टन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७४/२०७५ मा १४ हजार ७९१ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट ४४ हजार ५४५ मेट्रिक टन उत्पादन भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७३/७४ मा १४ हजार ४९६ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट ४३ हजार ८३० मेट्रिकटन धान उत्पादन भएको थियो ।

जिल्लामा भोर्लेटार, चक्रतीर्थ, धमिलिकुवा, साइलीटार, अल्काटार, भोटेओडार, अलैंचेफाँट रामचोकबेँसीलगायत क्षेत्रमा बढी धान उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्रले बताएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्