ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

रोगले सुन्तलाको बगैंचा मासिएपछि उत्पादनमा कमी

२०७८ पौष, ३०  
गण्डकी प्रदेश
NA

लमजुङ । लटरम्मै हुनेगरी फल दिने सुन्तलाका बोटले फल दिन नसक्दा पकेट क्षेत्रमा सूचीकृत स्याउत गाउँमा केही वर्षदेखि बोट मात्रै बाँकी रहन थालेकोे छ । सुन्तला विक्रीबाट मात्रै वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गर्दै आएका बेँसीशहर नगरपालिका–११ साविक चिती–२ स्याउत गाउँका रमेशराज पन्तको सुन्तला बगैंचाबाट विगतमा वार्षिक चार लाखभन्दा बढी आम्दानी हुन्थ्यो । तर रोगले सुन्तला बगैंचा मासिँदै जादा केही वर्षदेखि वार्षिक ४०/५० हजार मात्र आम्दानी हुन थालेको उनले बताए ।

पन्तको भन्दा फरक छैन सुरेशबाबु पाण्डेको गुनासो पनि । सोही गाउँका सुन्तला किसान पाण्डेले केही वर्षदेखि सुन्तलाको बोटले फल दिन छाडेको बताए । सोह्र/सत्र वर्षअघिबाट करिब ४०० रोपनीमा तीन सयभन्दा बढी बोटले फल दिँदै आएको र यसबाट वर्षेनि तीन लाखदेखि चार लाखसम्म आम्दानी हुने गरे पनि केही वर्षदेखि भने ती सुन्तलाका बोट मर्दै जाँदा यतिबेला सबै बोट रोगले सखाप भइसकेको छ ।

गाउँमा रहेका करिब ८० घरधुरले नै विगत लामो समयदेखि सुन्तला लगाउँदै आए पनि सुन्तलाको बोटमा रोग लागेपछि अधिकांश मरिसकेको छ । तेह्र वर्षको अन्तरालमा ग्रिनिङ भाइरसका कारण सुन्तलाको जरा मर्ने, पात सुक्ने, हाँगा सुक्दै जाने, साना दाना लाग्ने र कम फल्नेजस्ता समस्या किसानले झेल्दै आएका थिए । तर समस्या समाधान गर्न नसक्दा गाउँभरिका सुन्तला बगैंचा सखाप भइसकेको अर्का किसान उत्तमराज पाण्डेको भनाइ थियो ।

कत्ले कीरा, पँतेरोलगायत कीराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन (उत्पादनमा ह्रास हुने रोग) र ग्रिनिङ भाइरसजस्ता रोग लागे पनि गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोटजस्ता काममा सुन्तला किसानले ध्यान नपुर्‍याएकाले सुन्तला बगैंचा मासिँदै गएको कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाले बताए ।

साविकको जिल्ला कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचीकृत साविक चितीको स्याउत गाउँ बाहेक करापुटारको बेतिनी, तार्कुको गहते, भोर्लेटारको लामासोती, भोटेओडार, उदीपुरको घिमिरे गाउँलगायत क्षेत्रमा रोग लागेर सुन्तलाका बोट मर्दै गएपछि बगैंचा पनि मासिँदै हो । लमजुङमा उत्पादन भएका सुन्तला काठमाडौं, पोखरा, चितवनलगायत सहरमा राम्रो खपत हुँदै आएको थियो । तर सुन्तला उत्पादनमा कमी हुँदै जाँदा जिल्लामै पनि पुर्‍याउन मुश्किल हुन थालेको सम्बद्ध किसानको भनाइ थियो ।

गतवर्ष ३०२ हेक्टर जमिनमा सुन्तला लगाइएकोमा २१३ हेक्टरमा मात्र उत्पादन भएको केन्द्रले बताएको छ । यस वर्ष २२५ हेक्टर जमिनमा सुन्तला लगाइएकोमा १८० हेक्टर जमिनमा मात्र उत्पादन भएको केन्द्र प्रमुख खतिवडाले बताए । आर्थिक वर्ष २०७७/७८ मा एक हजार ४२४ मेक्ट्रिकटन सुन्तला उत्पादन भएकोमा यस आर्थिक वर्ष एक हजार २४० मेक्ट्रिकटन सुन्तला उत्पादन भएको थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्