ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

मकर संक्रान्तिले बढायो तरुलको व्यापार

२०७८ पौष, ३०  
लुम्बिनी प्रदेश
NA

पाल्पा । जिल्लामा व्यावसायिक रूपमा तरुलको खेती अझै हुन सकेको छैन । कन्दमूलअन्तर्गत पर्ने तरुलका लागि अझै पनि वनकै भर गर्नुपर्ने बाध्यता छ । तर, माघेसंक्रान्तिमा तरुल तथा चाकु खानैपर्ने हिन्दु परम्पराअनुसार पर्व नजिकिँदै जाँदा तरुलको व्यापार निकै फस्टाएको हो ।     

जमिनमुनि फल्ने फल रहेकाले तरुलमा कुनै विषादी हुँदैन । यसमा रोग तथा किराको आक्रमणसमेत नहुँदा खान उपयुक्त भएकाले पनि तरुलको माग बढेको हो ।     

 तानसेनका बजार क्षेत्रमा जंगल र खेतबारीमा उत्पादित तरुल तथा सखरखण्डको माग प्रशस्त छ । तरुल उसिनेर, आगोमा पोलेर तथा तरकारीका रूपमा खाने चलन छ । माघे संक्रान्तिका अवसरमा सामाजिक तथा सांस्कृतिक महत्वका कारण पनि तरुल खाने चलन रहिआएको छ ।     

तानसेन नगरपालिका–२ का कुशल पाण्डेयले पछिल्ला दुई दिनको अवधिमा २०० किलो तरुल र सखरखण्डको व्यापार गरेको बताए । ‘पहिला तरुलको माग यति धेरै थिएन । मकर संक्रान्तिमा बजारमा तरुलको माग बढेको छ’, उनले भने, ‘अन्य तरकारीभन्दा तरुल बिक्री बढी छ ।’  
   
तानसेन नगरपालिका–२ नारायणस्थानकै तरकारी व्यवसायी विक्रम अधिकारीले तरुलको मागअनुसार पूर्ति गर्न समस्या भएको बताए । तानसेन बजारमा स्थानीय जंगल तथा खेतबारीमा उत्पादित तरुल बिक्रीका लागि राखिएको छ ।

अहिले दैनिक ५० किलोभन्दा बढी तरुल बिक्री हुँदै आएको उनको भनाइ छ । मकर संक्रान्ति नजिकै आएपछि दैनिक ५० किलोग्रामसम्म तरुल बेच्न थालेको अधिकारीले जानकारी दिए ।     

 बगनासकाली गाउँपालिका–३ आर्यभन्ज्याङका यमबहादुर घर्तीमगरले अहिले गाउँमा उत्पादित तरुल सदरमुकाम तानसेनमा थोक मूल्यमा बिक्री गर्दै आएका छन् । उनले गाउँमा उत्पादित तरुल तानसेनमा मात्रै चार क्विन्टल बिक्री गरी आम्दानी लिए ।

तरुल थोक १२० रुपैयाँमा बिक्री हुन्छ । वनमा फलेको तरुल खनेर तानसेन बजारमा बिक्री गर्नेको पनि अहिले कमी छैन । डोकोमा बोकेर एक किलोग्रामका पोकामा तरुल हातमा झुन्ड्याएर बिक्री गर्नेहरूले पनि दैनिक राम्रो आम्दानी गरेका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्