ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

अदुवाको मूल्य नपाएपछि सुठो बनाउँदै किसान

२०७८ पौष, ३०  
कर्णाली प्रदेश
NA

डोटी । डोटीको बडिकेदार गाउँपालिका–४ का किसानले काँचो अदुवाको मूल्य नपाउँदा सुठो बनाउन थालेका छन् । अदुवा तथा बेसारखेतीका लागि जिल्लाकै प्रसिद्ध मानिँदै आएको उक्त पालिकामा प्रायः सबै किसानले अदुवा र बेसारखेती गर्दै आएका छन् ।

यहाँ उत्पादन गरिने अदुवा तथा बेसारका लागि मुख्य व्यापारीक केन्द्र भारतको पलिया, गौरीफण्टा र बनबासा भएको र त्यहाँका व्यापारीले मूल्यमा घटीबढी गर्ने गरेका कारण यहाँका किसानलाई अदुवा विक्रीमा समस्या हुने गरेको बडिकेदार–४ का अदुवा व्यापारी खडक केसीले बताए । ‘हाम्रो अदुवा र बेसारको मुख्य व्यापारी भारतका हुन्, त्यहाँका व्यापारीले मूल्य घटाउने गरेका कारण हामीलाई समस्या भएको हो, हामीले उत्पादन गरेका चिज वस्तु हाम्रै सहरमा खपत हुन सके राम्रो हुन्थ्यो, किसानलाई पनि राहत हुन्थ्यो,’ उनले भने ।

यहाँका किसानले उत्पादन गरेको काँचो अदुवालाई गाउँकै व्यापारीले सस्तो मूल्यमा किनी सुठो बनाउन थालेको अर्का किसान नरेश मौनीले बताए । उनका अनुसार काँचो अदुवालाई कम्तीमा पनि एकदेखि दुई हप्तासम्म घाममा सुकाएर सुठो बनाइन्छ । तीन किलो काँचो अदुवा सुकेपछि एक किलो मात्रै हुने उनको भनाइ छ । सुकाएर बनाइएको सुठो वर्षौंसम्म पनि नकुहिने तथा नबिग्रिने भएकाले यहाँका किसानले उत्पादन गरेका अदुवा अहिले गाउँमै सुठो बनाउन थालिएको अर्का स्थानीयवासी दलबहादुर कलेलले जानकारी दिए ।

किसानले उत्पादन गरेको अदुवा स्थानीयस्तरमै विक्री वितरण तथा खपत गर्ने उद्देश्यले सुठो बनाउन थालिएको हो । काँचो अदुवा सुठो बनाउन गाउँका कम्तीमा पनि सात आठजना युवा परिचालन गरिएको बताइएको छ । यहाँका व्यापारीले अहिले गाउँमा उत्पादन गरिएको काँचो अदुवा प्रतिकिलो २८ मा खरिद गरी सुठो बनाउन थालेको बडिकेदार गाउँपालिका–५ का हर्कबहादुर बोहराले बताए ।

यहाँका किसान अहिले गाउँमै अदुवा विक्री गरी गाउँमै सुठो बनाउन थालेकाले यो निकै राम्रो काम भएको र किसानले पनि घरैमा मूल्य पाउँदा खुशी भएको सुनौलो किरण किसान समूह बडिकेदार–४ का अध्यक्ष नरेन्द्रबहादुर ताडीले बताए । ‘विगतमा भारी बोकेर अदुवा निकै टाढा रहेको बिपीनगर पुर्‍याउनुपथ्र्याे, त्यहाँ मूल्य नपाउँदा समस्या हुन्थ्यो, अहिले गाउँमै सुठो बनाउन थालिएपछि किसानले घरैमा पैसा पाउँदा खुशी भएका छन् ।’ सुठो बनाउँदा तापक्रम बढी चाहिने भएकाले अहिले यहाँ खासै घाम नलाग्ने गरेकाले समस्या हुने गरेको उनको भनाइ छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्