ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

म्याग्दीमा ५८ हजारभन्दा बढीले लगाए कोभिडविरुद्धको पूर्ण खोप

२०७८ पौष, ३०  
गण्डकी प्रदेश
NA

म्याग्दी । म्याग्दीमा कोभिड–१९ विरुद्धको पूर्ण खोप ५८ हजारभन्दा बढीले लगाएका छन् । गतवर्षको माघ १४ गतेदेखि जिल्लामा कोरोनाविरूद्धको खोप अभियान सञ्चालन भएको थियो । हालसम्म जिल्लामा ५८ हजार ३४३ जनाले कोरोनाको पहिलो र दोस्रो मात्राको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिए । जोन्सन एन्ड जोन्सन ‘ एकपटक मात्रै लगाए हुने’ समेत गरी पहिलो मात्राको खोप ६८ हजार ६४३ जनाले लगाएका थिए ।   

जिल्लामा १८ वर्षमाथिको लक्षित जनसंख्याको ९४ प्रतिशतले पहिलो मात्रा र ८० प्रतिशतले पहिलो र दोस्रो दुवै गरी पूर्ण मात्राको खोप लगाएको उनले बताए । पहिलो मात्रा लगाएर दोस्रो नलगाउने १४ प्रतिशत छन् ।   

जिल्लामा १८ वर्षमाथिका लक्षित जनसंख्या ७२ हजार ९७३ रहेकामा पहिलो मात्रा लगाएर दोस्रो नलगाउने र दुवै मात्रा नलगाउनेहरू समेत रहेकाले उनीहरूलाई तत्काल स्वास्थ्य संस्थाहरूको सम्पर्कमा आएर खोप लगाउने अनुरोध गरिएको स्वास्थ्य कार्यालयले दिएको छ ।   

यसैगरी १२ देखि १७ वर्ष उमेरसमूहका बालबालिकालाई समेत खोप अभियान सञ्चालन भएको छ ।   

जिल्लामा हालसम्म ११ हजार २७८ जना बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको स्वास्थ्य कार्यालय प्रमुख लम्सालले जानकारी दिए । उनका अनुसार, उक्त उमेरसमूहका १२ हजार ५४७ जना लक्षित जनसंख्या रहे पनि ९० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने उनीहरूलाई आगामी माघ दोस्रो साता दोस्रो मात्राको खोप लगाउने तयारी गरिएको छ ।   

उनले जिल्लामा खोप पर्याप्त रहेकाले छुटेका लक्षितसमूहका नागरिकलाई खोपको पहुँचमा ल्याउन स्थानीय तहहरूले पहल गर्नुपर्ने बताए । १८ वर्षमाथिका लक्षित जनसंख्यामध्ये अन्नपूर्ण गाउँपालिकामा ९५, रघुगङ्गामा ६०, धवलागिरिमा ७७, मालिकामा ७६, मङ्गलामा ७५ र बेनी नगरपालिकामा ८७ प्रतिशतले पहिलो र दोस्रो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्