ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

आधुनिक भवनमा युरोपेली वास्तुकलाको प्रचलन

२०७८ पौष, ३०  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found

काठमाडौं । आर्किटेक्चरको नेपाली अर्थ हुन्छ, वास्तुकला । आर्किटेक्ट वा वास्तुकला भन्नासाथ भवन भन्ने बुझिन्छ । वास्तुकलामा भवन शब्दले मात्र पूर्णता पाउन सक्दैन । भवनसँग सम्बन्धित जग्गाजमिन, नक्सा पास, इन्टेरियर डिजाइन, इन्जिनियर, कला, शैली आदि सबै पर्दछन् ।

भवन जीवन निर्वाहको क्रममा सुरक्षासँग जोडिएर आउँछ । धन–सम्पत्तिको सुरक्षा, आत्मरक्षा, आरामदायी बसोबास, सुखशान्ति र स्थिरता नै भवन निर्माणको सुरुआत हो भन्न सकिन्छ । यसमा सौन्दर्यको कुनै भाव पाइँदैन किनकि यो त्यस समयको जीवन पद्धति हो, जुन समय ओडारको कष्टकर बसाइँबाट भर्खर स्थायी बसोबासको थालनी भएको थियो ।

वास्तुकलामा नयाँ–नयाँ शैली, कलाकृति, आर्किटेक्ट डिजाइन र इन्टेरियर डिजाइनको सुरुआत युरोपको ग्रिकबाट भएको मानिन्छ । यसले पूरा युरोपभर आफ्नो कला, संस्कृतिको रूपमा फैलिने अवसर प्राप्त गर्‍यो । वास्तुकलामा कला, धर्म, संस्कृति, रहनसहन, वस्तुको उपलब्धता, जाति विशेष आदिको ठूलो भूमिका र प्रभाव रहेको देखिन्छ ।

वास्तुकला एउटा दृष्य कला हो, जसमा विभिन्न शैली प्रयोग गरिन्छ । शैलीमा बनावट, निर्माण विधि, निर्माण सामग्री र क्षेत्रीय चरित्रजस्ता तत्व समावेश हुन्छन् । यसले संरचनालाई उल्लेखनीय वा ऐतिहासिक रूपमा पहिचानयोग्य बनाउँछ ।     

प्रविधि र सूचना तथा सञ्चारको विकाससँगै संसार साँघुरियो । एक देशको वस्तु अर्को देशमा सजिलै हस्तारण हुने अवसर प्राप्त भयो । एक देशको प्रविधि, विकास र कला, संस्कृतिको नक्कल वा सिको गर्ने संस्कारको विकास भयो । सिको गर्ने सिलसिलामा नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । यसको फलस्वरुप युरोपियन शैलीका भवन बन्न थाले । विशेषगरी नेपालमा यसको सुरुआत जंगबहादुर बेलायत गएर फर्केपछि भएको पाइन्छ । यहाँ यिनै युरोपियन शैलीमध्येको एक रेनेशाँ कलासम्बन्धी छोटो चर्चा गर्ने जमर्को गरिएको छ ।
 
युरोप क्लासिकल शैलीको आर्किटेक्चरका लागि प्रसिद्ध छ, जुन प्राचीन ग्रिसमा विकसित भएको थियो । मध्य युगको १४ औंदेखि १६ औं शताब्दीसम्म यो शैली इटालीको रोममा विकसित भएर युरोपभर फैलन सफल भयो । युरोपमा प्रचलित केही आर्किटेक्चर शैली बाइजान्टाइन, रोमानिस्क, गोथिक, रसियन, रेनेशाँ, ब्रान्कोभेन्स आदि हुन् ।

रेनेशाँ आर्किटेक्चर शैलीले प्राचीन ग्रिक र रोमन विचार, धार्मिक, सांस्कृतिक र भौतिक संस्कृतिको प्रतिनिधित्व गर्दछ । यो शैली पहिलो पटक फ्लोरेन्स सहरमा फिलिप्पो ब्रुनलेस्चीले आविष्कार गरेका थिए । यो पछि इटालीको रोममा फैलियो । समयक्रममा यसले युरोपको स्पेन, फ्रान्स, जर्मनी, इंग्ल्यान्ड, रुस आदि देशमा सहरको रूपमा विकसित हुन पुग्यो । यस शैलीमा सिमेट्री, प्रोप्रसन, जियोमेट्रीजस्ता म्याथमेटिक्स मेथड प्रयोग गरिएको छ । यी शैली विशेषगरी चर्च, नागरिक भवन र अन्य संरचनामा देख्न सकिन्छ । कोलम, पिलास्टर, लिनटेल्स आदि पिल्लर वा विमको रूपमा प्रयोग भएको छ । यसले भवनलाई हेराइमा सुन्दर र आकर्षक बनाउँछ । भवनको झ्याल, ढोका, पोर्टल र फायरप्लेसमा विभिन्न महँगा गरगहनाद्वारा आकर्षक ढंगले सजाइएका हुन्छन् । सेमिसर्कल आर्कस, हेमिसफेरिकल डोम्स, निचेस, आदिकुलाजस्ता आर्किटेक्चर प्रयोग गरी विविध धार्मिक मठमन्दिर निर्माण गरिएका छन् । धार्मिक मन्दिर र भवनमा अर्ध वर्गाकारका छाना, पिल्लर प्रयोग गरी बनाइएका हुन्छन् । भवनको माथिल्लो भागमा गुम्बज आकारको शैली प्रयोग गरिएको हुन्छ । यसमा विशेष कलात्मक शैली बढी प्रयोग भएको छ ।

इटालियनले गोथिक शैली नस्वीकारेको देखिन्छ । उनीहरू भवनको बाहिरी आकर्षणलाई बढी प्राथमिकता दिएको देखिन्छ । यसको उदाहरण हो, फ्लोरेन्स बाप्टिसटेरी र पिसा क्याथेड्रल । जुन धार्मिक भवनको रूपमा प्रतिनिधित्व गरेको छ र आकर्षक र कलात्मक बनावटले मनमोहक बनाएको छ । यसको आर्किटेक्चरमा भर्टिकल, क्लस्टर साफ्ट, अलंकृत ट्रेसरी र कम्प्लेक्स रिब्द भोल्टिङ यसका प्रमुख विशेषता हुन् । यस शैलीले युरोपको सबै क्षेत्र जस्तै, धार्मिक, सांस्कृतिक, राजनीतिक, ब्यापारिक, दार्शनिक, नागरिक रूपमा प्रभाव पारेको देखिन्छ ।

शैलीगत विशेषता
रेनेशाँ आर्किटेक्ट डिजाइन भन्नु नै दृश्यावलकनको आधारमा स्क्वायर र सिम्याट्रिकल मोडलको प्रयोग हुनु हो । यस्तो मोडलमा प्रायः  फराकिलो प्वाल रहेको हुन्छ । यसको फेस भाग ठाडो गोलाकार अक्षमा घुमेको हुन्छ, जसको पिल्लर, आर्क र इन्टाविलेचर ट्रियान्गुलर आकारमा हुन्छ । पिल्लर रोमन र ग्रिक शैलीका प्रयोग गरिएका हुन्छन् । जस्तै, चुस्कान, डोरिक, आयोनिक, कोरिन्थियन र कम्पोजिट । यिनीहरू संरचनागत रूपमा आर्किट्राभ वा शुद्ध रूपमा सजावट गरिएका हुन्छन् । आर्केज, भाउल्ट, डोम्स प्रायः सबै सेमिसर्कलमै रहेका हुन्छन् । यसको छाना फराकिलो सनकिन प्यानलबाट बनेको हुन्छ, जुन गोलाकार, र्‍यागट्यांगुलर र ओक्टागन आकारमा छाइने गर्छ । यिनीहरू आकर्षक रंगरोगन र सजावटयुक्त हुन्छन् । यसका ढोका वर्गाकार लिन्टेल हुन्छन् । तिनीहरू आर्कमा सेट गर्न सकिन्छ वा त्रिकोणीय वा सेगमेन्टल पेडिमेन्टद्वारा माउन्ट गर्न सकिन्छ । यिनीहरु प्रायः साइजमा ठूलो र सजावटी हुन्छन् । झ्याल पनि सेमिसर्कल आर्कमा रहेको हुन्छ । झ्याल पनि ढोकाजस्तै त्रिकोणीय वा सेगमेन्टल पेडिमेन्टद्वारा माउन्ट गर्न सकिन्छ । भवनका वाल प्रायः इँटाले बनेको हुन्छ । साथै, भवनको मुख भाग रेन्डर र  राम्रोसँग फिनिसिङ गरिएका ढुंगाबाट बनेका हुन्छन् । वालका कर्नर क्वाइन गरिन्छ, जसले वालमा सुन्दरता थप्ने काम गर्दछ ।

यो त्यस समयको आकर्षक शैलीमा बनेको कलात्मक र सौन्दर्यमा आधारित भवन आधुनिक नयाँ शैलीका भवनको डिजाइनमा उपयुक्त हुन सक्छ । नयाँ–नयाँ शैलीका भवनको सौखिनका लागि यो आर्किटेक्चर शैली उपयुक्त हुन सक्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement