ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

डब्लूटीओमा आवद्ध भएपछि झन् खस्कियो नेपालको निर्यात, आयात भने १० गुणा बढ्यो

२०७८ पौष, ३०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्लूटीओ)मा आवद्ध भएपछि नेपालको निर्यात व्यापार झन खस्किएको पाइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले डब्लूटीओको सदस्य राष्ट्र बनेपछि नेपालको निर्यात व्यापार झन खस्किएको बताए ।

यसैगरी, डब्लूटीओसँगै दक्षिण एशिया स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) र बीमस्टेकको सदस्य बनेर समेत निर्यात नसुध्रिएको उनले बताए ।

विषेश गरी डब्लूटीओको सदस्य राष्ट्र बनेलगत्तै नेपाल विभिन्न आन्तरिक राजनीतिक परिवर्तनसँग जुध्यो । सन् २००४ मा डब्लूटीओको सदस्य राष्ट्र बन्न हस्ताक्षर गर्दै गर्दा नेपाल जनआन्दोलनको भूमरीमा थियो ।

उक्त समयमा पूर्वाधार क्षेत्रमा नेपालको लगानी शून्यमा झर्नुका साथै उद्योगधन्दा कलकारखानामा लगानी पनि भएन । पछिल्लो दुई दशकयता नेपालबाट निर्यात नबढ्नुमा यही मूख्य कारण भएको गोल्छाको भनाई छ ।

‘सडक पूर्वाधार लगायत क्षेत्रमा लगानी नहुँदा उक्त समयमा नेपालको एउटा भूभागबाट उपत्यकामा सामान ल्याउनुभन्दा चीन र भारतबाट ल्याउन सस्तो पर्न थाल्यो,’ उनले भने, ‘अब व्यापकरूपमा व्यापार पूर्वाधारमा लगानी नगरे आगामी दिनमा आयातले विकराल रूप लिने छ ।’

वैदेशिक व्यापारमा निर्यातको हिस्सा घट्दै गएको तथ्य निर्यात– आयात अनुपातले पुष्टि गरेको छ ।

सन् १९९० को दशकमा नेपालको निर्यात–आयात अनुपात १:२.३ थियो अर्थात् निर्याभन्दा २.३ गुणामात्र बढी आयात हुन्थ्यो  । जुन अहिले १:१२.२ पुगेको छ । 
विश्व व्यापार संगठनको सदस्य राष्ट्र बनेसँगै अन्य मुलुकबाट आयात गर्न सजिलो भएपछि तथा आयातीत वस्तु सस्तो बनेपछि वैदेशिक व्यापारको डरलाग्दो तथ्य अगाडि आएको हो ।

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको तथ्यांक, विज्ञको मत र व्यवसायीको तर्क पनि बहुपक्षिय व्यापार सम्झौताका कारण दुईपक्षीय व्यापार मौलाएको भन्ने छ ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले नेपालको उत्पादन लागत महँगो हुँदा आयातीत वस्तुसँग प्रतिस्पर्धा गर्न नसकेको बताए । उनले भारतको तामिल नाडूबाट आउने केरासँग चितवनलगायतका अन्य जिल्लामा उत्पादित केराले प्रतिस्पर्धा गर्न नसक्ने स्थिती रहेको बताए । 

दातृ निकायले ल्याएको आफू अनुकुल व्यापारसम्बन्धी सन्धी सम्झौतामा आँखा चिम्लेर हस्ताक्षर गर्दा सरकारी कर्मचारी प्रिय बनेका हुन् । यस्तै, स्वेदशी उद्योग र निर्यात बढाउनुपर्छ भन्ने उद्योगी/व्यवसायी उनीहरूको आँखाको कसिंगार बनेको अधिकारीले बताए ।

यसैगरी, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दिपक श्रेष्ठले व्यापार सम्बन्धी गरेको दुईपक्षीय र बहुपक्षी सम्झौता निर्यात बढाउन वा आयात बढाउन भनेर प्रश्न गरे । 
‘अहिले भन्सार विभागले निकाल्ने आयातको तथ्यांक वास्तविक छैन । आयात हामीले देखेकोभन्दा पनि बढी छ,’ उनले भने, ‘ट्राजिन्ट प्वाइन्टहरूमा आयातकर्ताले तिर्ने रकमको भुक्तानी र ढुवानी खर्च उक्त तथ्यांकमा जोडिँदैन ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोबिन्द बहादुर कार्कीले निजी क्षेत्रको आरोप स्वीकारे । 

उनले नेपाल डब्लूटीओको सदस्य बनेपछि निर्यातको सट्टा आयात बढेको बताउँदै भने, ‘डब्लूटीओको सदस्य राष्ट्र बनेपछि आयातमा प्रतिबन्ध लगाउन नपाउने सम्झौता स्वतः हुन्छ । तर, यही समयमा नेपालबाट निर्यातयोग्य वस्तुको अभाव हुँदा समस्या भएको उनको जिकिर छ । 

विदेशबाट सस्तो मूल्यका सामान आउँदा यहाँका उद्योगधन्दा धरासायी बनेको उनको भनाई छ । 

पछिल्लो समय नेपाल–भारत, नेपाल–चीन लगायतका विभिन्न व्यापार सम्झौता पुनरावलोकन हुन लागेको र यसले निर्यात वृद्धिमा सहजता ल्याउने उनको आँकलन छ । 

पूर्व राजदूत तथा परराष्ट्रविद् मधुरमन आचार्यले राजनीतिकरूपमा पहल गर्न सकेमात्रै निर्यात व्यापार बढ्ने बताए । 

उनले चीन र भारतको उदाहरण दिँदै भने, ‘सिमा विवाद उत्कर्षमा पुग्दा पनि दुई देशबीच युद्ध भएन । बरू सोही समयमा दुई देशबीचको व्यापार, त्यसमा पनि भारतको आयात बढ्यो ।’ 

यसले व्यापारिक सम्बन्धले युद्ध नहुने समेत पुष्टी भएको उनको भनाई छ । 

व्यापारविद् पोषराज पाण्डेले आर्थिक विकास गर्ने एक मात्र माध्यम निर्यात भएकाले यो क्षेत्रलाई सुधार गर्नुपर्ने बताए ।

आयात प्रतिस्थापन गर्न उपभोग्य वस्तुको उत्पादन स्वदेशमै गर्नुपर्ने र आयातलाई प्रविधि भित्र्याउने माध्यम बनाउनुपर्ने उनको भनाई छ । 

त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभागका प्रमुख डा. रमेश कुमार पौडेले निजी क्षेत्रले वास्तविक समस्याग्रस्त क्षेत्रको माग लिएर आउनुपर्ने र सरकारी पक्षले त्यसलाई सुधार गर्नुपर्ने बताए ।

नेपालले वैदेशिक व्यापारसम्बन्धी विभिन्न मुलुकसँग १८ वटाभन्दा बढी सम्झौता गरेको र त्यसको प्रतिफल लिन नसकेको पौडेलको भनाई छ ।

‘यस्तो अवस्थामा विकाशसिल राष्ट्रमा स्तरोन्नती हुँदा वित्तिय क्षेत्रमा तरलताको अभाव हुँदैन,’ उनले भने, ‘विदेशी मुलुकबाट लगानी आउँदा वित्तिय क्षेत्रमा रकम अभाव हुँदैन ।’

यसैगरी, वैदेशिक व्यापारिक सम्बन्धी ऐन/कानून परिमार्जन गर्नुपर्ने समय आएको योजना आयोगका सदस्य रामकुमार फुँयालले बताए । यसका साथै, वैदेशिक लगानी बढाएर निर्यात नसुधारेसम्म आयात नखुम्चिने उनको भनाई छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को संयुक्त आयोजनामा भएको ‘बहुपक्षीय व्यापारमा दुईपक्षीय सम्बन्धको सन्तुलन’ विषयक अन्तरक्रियामा सहभागीहरूले डब्लूटीओको सदस्य बनेपछि नेपालको निर्यात ओरालो लागेको बताएका हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्