ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

वैदेशिक रोजगारबाट फर्केका धनकुटाका युवा तरकारी खेतीमा आकर्षित

२०७८ माघ, १  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

माघ १, धनकुटा । धनकुटा नगरपालिका ४ ठोकाका श्रवण कुमार आठपहरिया बारीमा रहेका काउली, खोर्सानी टिपेर बेच्ने तयारीमा छन् । ‘पैसा त आफ्नै गाउँमा फल्न थाल्यो, म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिएँ,’ काउली काट्दै गरेका आठपहरियाले भने, ‘अहिले तरकारी खेतीमै व्यस्त हुने गरेको छु ।’

आठपहरियालाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ । तरकारी बेचेर यो वर्ष ७ लाख घर भित्रिने उनको अनुमान छ । अहिले उनले ६ रोपनी बारीमा तरकारी खेती गरेका छन् । आठपहरिया मात्रै होइन, ठोकाका अधिकांश कृषकले सिजन अनुसारको तरकारी बाली लगाउने गरेका छन् । 

केही क्षेत्रफलमा अकबरे खोर्सानी लगाउँदै आएका सोही ठाउँका सुजन आठपहरियाको परिवारले ६ महीनाको अवधिमा ७ लाखको अकबरे खोर्सानी बेचिसकेका छन् । ‘विक्री नहुने सम्भावना नै छैन,’ उनले भने, ‘बारीमै अकबरे खोर्सानी उठाउन आउँछन् ।’

श्रवण र सुजनजस्ता वैदेशिक रोजगारीबाट फर्केका धनकुटाको ठोकाका युवाले गाउँ नै तरकारीमय बनाएका छन् । ठोकाका अधिकांश युवा वैदेशिक रोजगारबाट फर्केर अरुलाई प्रोत्साहन गर्दै तरकारी खेती गरिरहेका हुन् । धनकुटामा वैदेशिक रोजगारबाट फर्केका युवा कृषि कर्ममा लाग्ने चलन बढ्न थालेको छ । 

तरकारी खेतीमा लागेर धनकुटाको ठोकाका युवाले गाउँलाई नै तरकारीमय बनाएका छन् । युवाले आलु, काउली, बन्दा, प्याज, टमटर, अकबरे खुर्सानी लगायत तरकारी उत्पादन गरेर राम्रो आम्दानी गर्न थालेका छन् । विदेशमा हुने कमाइभन्दा तरकारी खेतीबाट यहीँ राम्रो आम्दानी हुने गरेको उनीहरुको अनुभव छ ।

तरकारी विक्री गरी कमाएको पैसाले दैनिक घरखर्च चलाउन, चाडपर्व मनाउन र बालबच्चाको पढाइ खर्च त मज्जाले टरेकै छ । खर्च कटाएर बचेको पैसा बचत गर्न थालेका छन् ।

विदेशको रोजगारी छोडेर स्वदेशमै अर्गानिक तरकारी खेतीमा धनकुटाको ठोकाको युवाको आकर्षण बढ्न थालेको छ । व्यवसायिक रुपमा तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि आकर्षण बढेको हो । छोटो समयमा राम्रो आम्दानी हुन् थालेपछि विदेशिन लागेका युवा पनि तरकारी खेतीमा आकर्षित हुन थालेका छन् । 

रसायनिक विषादी प्रयोग गरेका तरकारीले स्वास्थ्यमा प्रतिकुल असर परेकोले विदेशबाट फर्केका युवाले अर्गानिक तरकारी खेतीमा ध्यान दिएको कृषक अगमशेर आठपहरियाले बताए । रसायनिक विषादी प्रयोग बन्द गरेर वनस्पतीका पातहरुबाट बनाइएको जैविक विषादी प्रयोग गरिरहेको उनको भनाइ छ ।

धनकुटा नगरपालिका वडा नं. ४ ले ठोका क्षेत्रलाई तरकारी पकेट क्षेत्र घोषणा गरेपछि खेती गर्नेको संख्या बढेको छ । धनकुटा नगरपालिका–४ का वडाध्यक्ष जमशेर आठपहरियाका अनुसार ठोकाका स्थानीय किसानले तरकारी बेचेर मात्रै वार्षिक एक करोड रुपैयाँभन्दा बढी गाउँ भित्र्याउने गरेका छन् ।

‘कृषि पकेट क्षेत्र कार्यक्रम मार्फत वडाले केही बजेट विनियोजन गरेको छ ।’ वडाध्यक्ष आठपहरियाले भने, ‘त्यस्तै कृषि ज्ञान केन्द्रबाट मिनिटिलर टनेल लगायतका सामग्री वितरण भएको छ । यसले कृषकको आम्दानी झन् बढ्ने अनुमान छ ।’ 

ठोकाका अधिकांश स्थानीयले तरकारी खेती गरिरहेका छन् । किसानले उत्पादन गरेका तरकारी धनकुटा बजारसहित तराईका विभिन्न जिल्लामा पुग्ने गरेको छ । किसानले उत्पादन गरेको तरकारी लिन व्यापारीहरु गाडी लिएर गाउँमै आउने गरेको वडाध्यक्ष आठपहरियाले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement