ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बन्जीसँगै स्काई साइक्लिङ शुरू

२०७८ माघ, २  
गण्डकी प्रदेश
Image Not Found
author avatar रोशन तिवारी

पर्वत । कालीगण्डकी नदीमाथिको तारेभीरमा डोरीको सहायतामा साइकल चलाउने खेल (स्काई साइक्लिङ) व्यावसायिक रूपमा शुरू भएको छ । पर्वतको बन्जीजम्पको पारिपट्टि बागलुङको बलेवामा द क्लिफ प्रालिले स्काई साइक्लिङ शुरू गरेको हो । भीरैभीर साइकल चलाउने यो खेल साहसिक पर्यटनका लागि सञ्चालन गरिएको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

चार वर्ष पहिलेदेखि नै सञ्चालनमा रहेको साइक्लिङ कोरोनाका कारण रोकिएको थियो । अहिले कोरोनाको महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरेर साइक्लिङ शुरू गरिएको कम्पनीले बताएको छ ।

अध्यक्ष कार्कीका अनुसार साइक्लिङ गर्ने डोरी दुईतर्फी गरेर ६०० मिटर छ । साइक्लिङका लागि प्रतिव्यक्ति शुल्क ३ हजार ५०० रुपैयाँ रहेको छ । सञ्चालन शुभारम्भको अवसरमा  यसमा हजार रुपैयाँ छूट दिइएको छ । उक्त स्थानमा बञ्जी वा स्विङ गर्नेलाई अतिरिक्त २० प्रतिशत पनि छूट दिइएको बताइएको छ । साहसिक खेलप्रति पछिल्लो समय युवाको आकर्षण बढेकाले स्काई साइक्लिङ थपिएको कम्पनीका निर्देशक नेत्र पराजुलीले बताए ।

बागलुङको बलेवातर्फ २६ रोपनी जग्गामा रिसोर्टसहितका संरचना निर्माण भएका छन् । कालीगण्डकीमाथि पर्वतको कुश्मा जोड्नेगरी अलग प्रकृतिको झोलुंगे पुल निर्माण भएको छ । पर्वततर्फ रहेको तीन आना जग्गामा जोडिएको झोलुंगे पुलको बलेवा र कुश्माको पर्यटन व्यवसायमा टेवा पुर्‍याएको छ ।

क्लिफका संरचना नजिकै कुश्माका व्यवसायीको सक्रियतामा जिपलाइन समेत सञ्चालनमा छ । एक वर्षअघि निर्माण शुरू भएको जिपलाइनको काम सकिएर सञ्चालनमा आएको छ । कालीगण्डकी नदी साहसिक पर्यटनको हब भएको बलेवाका स्थानीयवासी भरत पौडेल बताउँछन् । आन्तरिक जस्तै विदेशी पर्यटकलाई समेत आकर्षण गर्न सके बलेवा र कुश्माका लागि यहाँको पर्यटन आर्थिक उन्नयनको स्रोत बन्ने उनको बुझाइ छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement