ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

साइबर अपराधका लागि सुखद वर्ष बन्यो २०२१, उत्तर कोरियाली ह्याकरले चोरे ४० करोड डलर क्रिप्टो

२०७८ माघ, २  
प्रविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सन् २०२१ मा उत्तर कोरियाली ह्याकरहरुले करीब ४० करोड डलर (४७ अर्ब रुपैयाँ) बराबरको क्रिप्टोकरेन्सी चोरेको नयाँ प्रतिवेदनले देखाएको छ । गत वर्ष साइबर अपराधीका लागि अहिलेसम्मकै आकर्षक वर्षमध्ये एक बनेको यसले स्पष्ट देखाएको छ ।

हयाकरहरुले गत वर्ष लगानी कम्पनी र केन्द्रीतकृत विनिमय गृहलाई लक्षित गर्दै फिशिङ्, मालवेयर र सामाजिक इञ्जिनियरिङ समेत गरि कम्तिमा पनि सात फरक फरक तरिका प्रयोग गरी साइबर हमला गरेको क्रिप्टोकरेन्सी हेर्ने कम्पनी चेनालिसिसको प्रतिवेदनले देखाएको हो । 

साइबर अपराधीहरुले संगठनको इन्टरनेटसँग आबद्ध भएको डिजिटल वालेट अर्थात् ‘हट’ वालेटमा पहुँच लिएर त्यहाँ भएको क्रिप्टोकरेन्सी उत्तर कोरियाको नियन्त्रणमा भएका खाताहरुमा पठाएको पाइएको छ ।

यी चोरीले भारी अन्तराष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको उत्तर कोरियाले घरेलु परमाणु कार्यक्रमहरुका लागि आवश्यक रकमको जोहो गर्न ह्याकरहरुको समूहमाथि निर्भर रहेको थप संकेत गरेको छ ।

संयुक्त राष्ट्र संघको एउटा गोप्य प्रतिवेदनमा पनि यस अघि हातहतियार किन्न र उत्तर कोरियाको अर्थतन्त्रलाई चलायमान राख्न त्यहाँका नेता किम जोङ उनको प्रशासनले वित्तीय संस्था र भर्चुअल मुद्रा विनिमय गृहहरुलाई तारो बनाइरहेको आरोप लगाइएको थियो ।

गएको फेब्रुअरीमा अमेरिकी न्याय मन्त्रालयले विश्वभरका बैंक र कम्पनीहरुबाट १ अर्ब ३० करोड डलरभन्दा धेरै रकम चोर्ने षडयन्त्र गरेको भन्दै तीन उत्तर कोरियालीमाथि अभियोग चलाएको थियो ।

अमेरिका र उसको विदेशी साझेदारहरुको नेतृत्वमा लामो समयदेखि लगाइएको आर्थिक प्रतिबन्धका कारण उत्तर कोरिया विश्वको वित्तीय प्रणालीबाट एक्लिएको छ । यसका कारण उसले हातहतियार कार्यक्रम, आणविक प्रसार र अन्य अस्थीर गतिविधिका लागि आवश्यक रकमको जोहो गर्न क्रिप्टोकरेन्सी चोर्न डिजिटल क्षेत्रलाई निशाना साँधेको ब्लकचेन बौद्धिकता कम्पनी टीआरएम ल्याब्स्का विश्लेषक निक कार्लसेन भन्छन् । 

क्रिप्टोकरेन्सीको भाउमा भइरहेको वृद्धिले उत्तरकोरियाको साइबर चोरीलाई लाभ पनि भइरहेको छ । क्रिप्टोकरेन्सीहरुको भाउमा भएको वृद्धिका कारण साइबर अपराधीका नजरमा यी मुद्रा झनै लोभ लाग्दो बनेको छ । फलतः गत वर्ष क्रिप्टो चोरीमा उच्च वृद्धि देखियो । चेनालिसिसका अनुसार गत वर्ष भएका अधिकांश चोरी लाजारस गु्रपबाट भएको छ । हयाकरहरुको यो समूह उत्तर कोरियासँग सम्बद्ध पाइएको छ  । यो समूहले सोनी पिक्चर्समा साइबर हमला गर्ने लगायत कयौं चोरी गरेको थियो । 

यो समूहमाथि पनि अमेरिकाले प्रतिबन्ध लगाएको छ । उत्तर कोरियामाथि लामो समयदेखि आर्थिक प्रतिबन्ध लगाइएको भएपनि यसले सञ्चालन गर्ने साइबर चोरीहरु रोक्न अमेरिका र अन्य देशहरुले व्यवहारिक रुपमा गर्न सक्ने खासै केही छैन ।

क्रिप्टोकरेन्सीको लोकप्रियता पछिल्लो समय चुलिँदै गइरहेको छ । क्रिप्टो बजार अहिले तरुण अवस्थामै रहेको र यसले साइबर प्रतिरक्षा अनि सम्पत्ति शुद्धिकरण नियन्त्रणका उपायहरुको विकास गरिरहेकोले भविष्यमा उत्तर कोरियाले क्रिप्टोकरेन्स चोरीलाई निरन्तरता दिएको देखिने दाबी कार्लसेनले गरेका छन् । (एजेन्सीको सहयोगमा)

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement