ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

धनी बन्ने सूत्र

२०७८ माघ, ७  
तीतो मीठो
author avatar मदन लम्साल

अहिले सबैलाई रातारात धनी बन्नु छ । जान्नेहरूले त कमाइरहेकै छन् । नदी, बगर, खोलामाथि नै सही सपनाका महल पनि ठड्याइरहेकै छन् । यो लेखक जस्ता नजान्नेहरू चैं समुन्नतिका किनारामा बसेर अरूको प्रगतिको महलमुनि थुक निलेर हेरिरहेका छन् । आफूले नजाने पनि धेरै धन कमाएकाहरूसँग संगत गर्दा गर्दै छिट्टै धनी बन्ने केही सूत्र भने फेला पारेको छु, तपाईंलाई पनि सुटुक्क भन्छु है !

सिस्नो पनि नउम्रिने भीर अहिले लाखौं रुपियाँ आनामा बिक्न थालेको छ । त्यसैले त बालुवाटारदेखि पशुपति, नारायणहिटीदेखि गोकर्ण सबैतिर सरकारी जग्गा हत्याउन यतिका मान्छेहरू हावा, हुरी, बतासझैं  लागेका । हो, बतासलाई पनि छेक्न मोटो पहाड सफल हुन्छ, कहिलेकाहीँ कार्बनडाइअक्साइड र अक्सिजनको गोलमालले बिगार हुन्छ ।

विना लगानी रातारात नाम र दाम कमाउने सबैभन्दा सजिलो पेशा चैं लाजनीति सरी राजनीति नै हो । यसमा केवल एउटा खुवी भए पुग्छ– त्यो हो सपना बेच्ने । तपाईं जति ठूलो सपना बेच्न सक्नुहुन्छ, त्यति नै ठूलो पदमा पुग्न सक्नुहुन्छ । अनि जति ठूलो पदमा पुग्नुहुन्छ, त्यति नै धेरै पैसा कमाउनु हुन्छ । त्यसैले त टोले गुण्डाहरू अलिकति पैसा कमाएपछि थप कमाउन जसरी पनि राजनीतिमा छिर्छन् र पद हात पार्छन् । नत्र अर्बपति समेत राजनीतिमै छिर्न मरिहत्ते किन गर्थे त ?

आफ्ना रगतमा राजनीति छैन भन्ने लाग्छ भने व्यापारमा पनि अपार पैसा हुन्छ है ! तर यसका लागि धन्धा गर्न जान्नुपर्छ । नत्र सरकार, राजस्वका कर्मचारी त मोटाउलान्, तर तपाईंको ढुकुटी चाहिँ मोटाउँदैन है ! त्यसैले व्यापारमा मालामाल हुनु छ भने विदेशबाट सुन मगाउनुस्, सुपारी झिकाउनुस् या पाम आयल आयात गर्नुस् । त्यो यहाँ आएपछि त्यसमा ‘मेड इन नेपाल’को ट्याग झुन्ड्याउन नबिर्सनुस् । अनि त्यसमा यति र उति भ्यालू एडिसन भएको भनेर लेबल पनि टाँस्नुस् र सरकारबाट छूट फुत्काउनुस् । अनि बेच्नुस् भारतमा । अन्य छिमेकी देशमा बेच्न त भारतको असल मित्रताले बाटो नै दिँदैन । यूरोप, अमेरिकातिर बेच्न चैं गुणस्तरको कुरा ल्याउँछन् गोरा मोराहरूले ।

हैन, काँ यो व्यापार स्यापारमा लाग्नु भन्नुहुन्छ भने घरजग्गामा लाग्नोस् । जग्गामा लगानी गर्ने पैसा छैन भने पनि चिन्ता नलिनोस् । दलाली शुरू गर्नोस् । दलाली भन्ने शब्दसँग नझस्कनोस् । किनकि यहाँ पाए र भ्याएसम्म मै हूँ भन्नेले पनि जग्गा दलाली गरेर कमिशन कुम्ल्याउन बाँकी राख्दैनन् । छोराले बाबुसँग पनि दलाली भाग खाने युगमा अरू के कुरा गर्नु ? ‘पैसा देखेपछि महादेवको पनि तेस्रो नेत्र खुल्छ’ भन्छन् । यहाँ को र कुन काममा छैन दलाली ? अझ विदेशीका पैसामा खुलेका वा चलेका कतिपय मिडिया वा पार्टी नामधारी कतिपय पसलभित्र निहारेर हेर्नुस् त, त्यहाँभित्र के के देखिन्छ ।

त्यसैले होला हाम्रा बाउबाजेले सकेदेखि माटोमा पैसा खन्याउनू, उम्रन्छ भन्थे । सिस्नो पनि नउम्रिने भीर अहिले लाखौं रुपियाँ आनामा बिक्न थालेको छ । त्यसैले त बालुवाटारदेखि पशुपति, नारायणहिटीदेखि गोकर्ण सबैतिर सरकारी जग्गा हत्याउन यतिका मान्छेहरू हावा, हुरी, बतासझैं  लागेका । हो, बतासलाई पनि छेक्न मोटो पहाड सफल हुन्छ, कहिलेकाहीँ कार्बनडाइअक्साइड र अक्सिजनको गोलमालले बिगार हुन्छ । तर जसलाई समात्न हिँडेको हो, आवेशमा ऊभन्दा छिटो कुद्न खोज्दा आफै लड्न नि बेर लाग्दैन है !

तपाईं भन्नुहोला कृषिप्रधान देश, जहाँ १५० मुलुकबाट वर्षमा झन्डै ४ खर्बको खाद्यान्न, तरकारी र फलफूल आयात हुन्छ, त्याँ जग्गा जमिन प्लटिङ गर्दै बेच्नु त ठीक होइन । हेर्नुस्, उद्देश्य त जसरी पनि पैसै कमाउनु न हो । जमिनमा तरकारी, खाद्यान्न फलाउन मल, बीउ, पानी छैन । काम गर्नेहरू सबै जवानी बेच्न मुग्लानतिर पसिसके, थप खुट्टा उचालेर बसेका छन् । अनि कसले गर्ने खेती ? बरु प्लटिङ गर्‍यो बेच्यो । विदेश जान ५ लाखमा जग्गा बेच्यो र पछि पैसा कमाएपछि त्यस्तै जग्गा २५ लाखमा किन्यो । यस्तो पो त तरिका । सरकारलाई राजस्व आउने, किन्ने, बेच्ने र बिचौलियाले टकाटक नगद पाउने व्यापार गर्न छाडेर केको खेती गर्ने नि ! तरकारी–सरकारी त त्यै जग्गा बेचेको पैसाले किनेर खाए भैहाल्छ नि ।

त्यसो भए सरकारले वर्षौंदेखि कृषिमा दिइरहेको अनुदान, सहुलियत ऋण कहाँ गयो भन्नुहोला । यी अनुदान, छूट सबै चुनावी रेल हुन्, जुन पटरी नबिछ्याइकनै चल्छन् । यसबाट कुनै कृषि रेल कुदाउनु नै छैन । अँ, पैसा कमाउने यसमा पनि काइदा रहेछ । झोलामै खोल्नोस् झोले कृषि कम्पनी, आफ्ना परिवारका सबै सदस्यको नाम शेयर होल्डरमा राखेर । लिनोस् बैंकबाट सस्तो ब्याजमा ऋण । सरकारी अनुदान पनि पाउन सक्नुहुन्छ । त्यै पैसा लगेर राख्नोस् कुनै सहकारीमा । बैंक पनि खुशी, तपाईं पनि खुशी ।

कृषिमा पनि जाँगर चल्दैन भने नेपालमा शेयर बजार जत्तिको सुरक्षित र भरपर्दो लगानीको क्षेत्र अन्त कतै छैन है ! घरै बसी कुटुकुटु नगद झर्ने । २–४ हजारमै बजारमा छिर्न सकिने, खल्तीमा सुको छैन भने पनि बैंकले मार्र्जिनमा लगानी गर्दिने । अझ आईपीओ चिट्ठा परे तुरुन्तै २ को शेयर कमसेकम ४ मा बेच्न सकिने ।

आफ्ना लगानी डुब्न लाग्यो भने एउटा लगानीकर्ताको समूह बनाउने र ‘हाम्रो लगानी सुरक्षित गर’ भन्दै धितोपत्र बोर्ड, नेप्से, अर्थ मन्त्रालय, राष्ट्र बैंक धाउने । सडकमै धर्ना दिने । सरकारी हाकिमहरू तपाईंको लगानी सुरक्षित गर्न सधैं तम्तयार भैहाल्छन् र पर्‍यो भने नीति परिवर्तनदेखि बोली परिवर्तन गर्नसम्म तुरुन्तै भ्याइहाल्छन् ।

त्यसैले त हिजोआज कम्पनीले आफ्नो उत्पादन वा सेवा बेचेर भन्दा बढी नाफा ऋण बेचेर वा शेयर बेचेर कमाउँछन् । नत्र अहिलेसम्म टाट पल्टिएको घोषणा गर्नुपर्ने स्थितिमा पुगिसकेका झन्डै ३० प्रतिशत हाइड्रोपावर कम्पनीहरू शेयर बजारमा अझै पावरफुल कसरी रहिरहन सक्थे होला र ? कसरी ‘इन्साइडर ट्रेडिङ’ भन्ने नबुझेका सोझा लगानीकर्तालाई ‘फुल’ बनाइरहन सक्थे होला र ?

हैन यो पूँजीबजारको बारेमा ज्ञान, रुचि छैन भने सकेदेखि एउटा म्यानपावर एजेन्सी खोल्नोस् र बेरोजगार युवालाई विदेश पठाउनतिर लाग्नोस् । हाम्रा हरेक श्रममन्त्री र राजदूतसमेत त्यै व्यापारमा लागेका छन् । देशका अस्पतालहरूमा नर्सहरूको अभाव छ । तर श्रममन्त्रीले १० हजार नर्स त बेलायतै निर्यात गर्ने रे । आखिर व्यापार त व्यापारै हो । अहिलेका श्रममन्त्री त आफै व्यापारी पनि हुन क्यारे । बेच्न रामै्र जानेका छन् ।

कथं म्यानपावरको लाइसेन्स फुत्काउन सक्नुभएन भने आफै लाग्नोस् कुनै देशतिर । देशमा रोजगारी, व्यापार नभएर के भा छ र ? मलेसियामा सेक्युरिटी गार्ड बन्न वा कोरियातिर कुखुरै काट्न गए पनि भो । महिनामा १–२ लाख त कमाइहालिन्छ क्यारे ! गएकाहरु त्यसै भन्छन् । अरू केही गर्न सक्नुभएन भने ‘धनी बन्ने सूत्र’ भनेर एउटा किताब लेख्नुस् । किताब मारामार बिक्छ । अनि बनिँदैन त छिट्टै धनी । कसो ?

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement