ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

जलविद्युत्मा नेपालको सम्भावना कति ?

२०७८ माघ, ९  
लेख | दृष्टिकोण
Image Not Found

जलविद्युत् नेपालको महत्त्वपूर्ण प्राकृतिक स्रोत भएकाले यसका बारेमा जान्ने, बुझ्ने र विद्युत्बाट भविष्यका सुनौला योजना बनाउन हाम्रा नदी बेसिनहरूबाट कति विद्युत् निकाल्न सकिन्छ भनी तथ्य निर्धारण गर्न सकेमा आउने सन्ततिले सजिलैसँग यसबाट के गर्न सकिन्छ भनी विकासका गोरेटाहरू कोर्न सक्छन् । ८३ हजार मेगावाट विद्युत् उत्पादन सम्भव छ भनिँदै आए पनि १९०८ मेगावाट जलविद्युत् मात्रै उत्पादन भएको छ ।

यो यात्राको शुरुआत विसं १९६८ मा राणा प्रधानमन्त्री चन्द्रशमशेरले ५०० किलोवाटको फर्पिङको चन्द्रज्योतिबाट गरेका थिए । यद्यपि यो आयोजना २०३८ बाट उत्पादन बन्द छ । पछिल्लोपटक माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले उत्पादन दिएपछि नेपालमा सवैभन्दा ठूलो विद्युत् फड्को देखिएको छ ।

प्रश्न अहिले पनि यही छ कि नेपालका नदीको विद्युत् उत्पादन क्षमता वास्तवमा कति छ ८३००० मेगावाटको तथ्याङ्क हरिमान श्रेष्ठको थेसिसबाट लिइएको हो । इ. खिमानन्द कँडेलले लेखेको पुस्तकका अनुसार १ लाख ५० हजार मेगाावाट छ । त्यसैगरी हाइड्रो सोलुशन नामक संस्थाले एक विदेशी विश्वविद्यालयसँग गरेको अध्ययनअनुसार सबै नदीबाट २ लाख मेगावाट विद्युत् उत्पादन क्षमताको अनुमान छ ।

काठमाडौंबाट ३५ किलोमिटर पर पनौतीको खोपासी भन्ने ठाउँमा एक विद्युत् आयोजना छ, जसबाट अहिले २ दशमलव ४ मेगावाट विद्युत् उत्पादन भएको छ । त्यसपछि त्यो पानी त्यसै खेर गएकाले त्यसबात फेरि पनि विद्युत्् निकाल्न सकिन्छ होला ? त्यसको गणना ८३००० को हिसाबमा आएको छ छैन ।

यसबारेमा राज्य जानकार हुनुपर्छ । अहिले नेपालका लागि माथिल्लो तामाकोशी ४५६ मेगावाट, १४४ मेगावाट कालीगण्डकी ए २०५६ स्याङ्जा, मध्यमस्र्याङदी ७० मेगावाट २०६४ लमजुङ, मस्र्याङदी जलविद्युत् ६९ मेगावाट तनहुँ २०४५ (अर्ध जलाशययुक्त आयोजना) कुलेखानी १, २, ३ बाट १०६ मेगावाट मकवानपुर (जलाशययुक्त) लगायत आयोजनाबाट जलविद्युत् उत्पादन भएको छ ।  १२०० मेगावाटको बूढीगण्डकी गोरखा, अरुण तेस्रो संखुवासभा ९०० मेगावाट, रसुवागढी रसुवा १११ मेगावाट, मध्यभोटेकोशी सिन्धुपाल्चोक १०२ मेगावाट, ७४८० मेगावाटको पञ्चेश्वर आयोजना, १८०० मेगावाटको कर्णाली चीसापानी, ७५० मेगावाटको सेती, ६६० मेगावाटको कालीगण्डकी २, १०८० मेगावाटको कर्णाली १ जस्ता आयोजनाबाट २५,६२२ मेगावाट विद्युत्् उत्पादन गर्ने प्रक्रियामा निर्माणको चरणमा रहेका आयोजना हुन् ।

 पन्ध्रौं आवधिक योजना २०७६–२०८१ ले मा ५००० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसका लागि ३ वर्षभित्र नै ३२०० मेगावाट विद्युत् थप्नुपर्ने आवश्यकता देखिन्छ । २०७८ सालमा पहिलोपटक ३९ मेगावाट विद्युत् भारतलाई विक्री गरियो ।  मागतर्फ हेर्दा यही २०७८ पुस १४ गते अहिलेसम्मकै सबैभन्दा बढी १६९९ मेगावाट विद्युत् माग भयो । । उपत्यकामा ४५० मेगावाट विद्युत्को माग भएपछि ११ केभी वितरण क्षमता भएका ट्रान्सफर्ममरहरू नै जलेर फेर्नुपर्ने अवस्था आएको छ । नेपाल विद्युत् प्राधिकरणले ३४५ विद्युत् आयोजनाबाट उत्पादन हुने ६१६२.८ मेगावाट जडितक्षमताका लागि खरीद विक्री सम्झौता गरिसकेको छ ।

उत्पादित विद्युत् प्रसारण गर्नका लागि विद्युत् प्रसारणलाइन बनाउनुपर्छ जसलाई विद्युत् राजमार्ग भनिन्छ । उत्पादन स्थलबाट विद्युत् प्रसारण गरी सबस्टेशनसम्म पुर्‍याउन ३३ केभी, ६६ केभी, १३२ केभी, २२० र ४०० किलो भोल्टेजका पाँचथरी प्रसारण लाइनबाट विद्युत् प्रसारण गरिन्छ । २०७६/७७ सम्म ६६ केभीको ५१४ किलोमिटर, १३२ केभीको ३२४० किमी, २२० केभीको ४३७ किलोमिटर, ४०० केभीको ७८ किलोमिटर (यस्तो सर्किट किलोमिटर भन्ने गरिन्छ) जडान भएको छ । नेपालमा हालसम्म ४८७४ सर्किट किमी प्रसारण लाइन बनेको छ । यी सबै उत्पादन र निर्माणका आँकडाहरू दिन प्रतिदिन बढ्दै गएका छन् ।  आगामी २ वर्षभित्र नेपालका सबै घरमा उज्यालो पुर्‍याउने लक्ष्य सरकारले लिएको छ । मङ्सिर १, २०७८ बाट २० युनिट विद्युत् उपभोक्तालाई निःशुल्क दिने र यो २० युनिटका लागि जम्मा रू. ३० तिर्नेगरी विद्युत् नियमन आयोगले मूल्य निर्धारण गरेको छ । विद्युत् खरीद विक्री गर्न विद्युत् प्राधिकरणको अधिकांश शेयर रहनेगरी ‘विद्युत् व्यापार कम्पनी’ स्थापना गरिएको छ ।

यी सबै घटनाले के देखाउँछ भने जलविद्युत् नेपालका लागि अति महत्त्वपूर्ण ऊर्जाको स्रोत र सम्पन्नताको आधार हो ।

तापनि पूँजी, प्रविधि र बजारको कमीको कारणले नेपालमा जलविद्युत् उत्पादन त्यो लेभलमा हुन सकेको छैन जुन तहमा यो हुन पर्दथ्यो । अहिलेसम्म सबैभन्दा ठूलो जलविद्युत् आयोजना चीनमा रहेको छ । थ्री गर्जेज हाइड्रो पावर प्लान्टको उत्पादन क्षमता २२५०० मेगावाट छ । याङ्जे नदीमा ३२ टर्वाइन बाट ७०० र २ टवाईनबाट ५० मेगावाटका दरले विद्युत् उत्पादन गरिन्छ ।

त्यसैगरी ब्राजिल र पराग्वेबीचको इटापु आयोजना १४००० मेगावाट, गुरी, भेनजुयलाबाट १०००० मेगावाट विद्युत् उत्पादन गरिएको छ । यसैगरी ब्राजिलको टुक्युरी ८३७०, अमेरिकाको ग्रान्ड क्युली ६८०९, रूसको ६४०० मेगावाट स्यानो–सक्साया, चीनकै लङटाङ ६३०० मेगावाट, रूसको क्रास्नोयास्र्क रसिया ६००० मेगावाट र रबर्ट– बौरासा ५६१६ क्यानडा र चर्चहिल फल्स क्यानडा ५४२८ मेगावाट क्यानडा विश्वका ठूला आयोजना हुन् । नेपालमा यस्ता ठूला आयोजना नबन्नुका पछाडि पानी, भूगोल, प्रविधि, पूँजी वा जनशक्ति के बाधक हो, पत्ता लगाई जनताको जीवनस्तर नै परिवर्तन गर्ने सोचका साथ काम गर्न पनि हाम्रो वास्तविक विद्युत् उत्पादन क्षमताका बारेमा आधिकारिक क्षमता खोजीमा लागौं ।

पछिल्ला दिनमा भारतको गौतम अडानी समूहलाई नेपेक्स समुहले ५०० मेगावाट विद्युत् बेच्ने सम्झौता र २४५ मेगावाट भारत सरकारले नै किन्ने साथै विद्युत् प्राधिकरणको एकाधिकार तोडिने निर्णयले गर्दा अब जल विद्युत्का शेयर पनि किन्दा राम्रै हुने अवस्था छ ।

लेखक कैलाशकु्ट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्दछन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement