ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

ओरालो लागेकै हो त नेटफ्लिक्स ?

२०७८ माघ, १२  
समाचार अन्तरराष्ट्रिय
Image Not Found
author avatar अभियान संवाददाता

माघ १२, काठमाडौं । नेटफ्लिक्समा एउटा कमेडी फिल्म छ ‘डन्ट लूक अप’ । नेटफ्लिक्सको अवस्था पनि यो फिल्मको जस्तै छ । अहिले कम्पनीको शेयर मूल्य दुई महीना अघिको कीर्तिमानी उचाईबाट ४० प्रतिशतभन्दा धेरैले घटिसकेको छ ।

सब्सक्राइबरहरु दुःखै लाग्ने गरी सुस्त दरमा बढिरहेको छ । प्रतिस्पर्धा चर्को बन्दै गइरहेको छ । यी सबैको लागि कम्पनीको उत्तर छ, आफूले भर्खरै उत्तर अमेरिकी उपभोक्ताहरुमा पैसा बढाएका छौं । 

स्ट्रिमिङको जगतमा नेटफ्लिक्स सबैभन्दा उच्च स्थानमा पुगिसकेको छ । यसका प्रतिस्पर्धीहरुको टेक्ने आधार बलियो बन्दै गइरहेको अवस्थामा आफू भएको ठाउँबाट थप माथि जान नेटफ्लिक्सलाई सकस गर्नु परिरहेको छ । कम्पनी म्याचुरिटीमा पुग्नै लागेको जस्तो देखिएको मोफेटनाथानसनमा सञ्चार विश्लेषक माइकल नाथानसन बताउँछन् ।

कम्पनीले आफ्नो मूल्य बढाइरह्यो अनि अहिले आफूसँग भएको सब्सक्राइबरहरुको संख्या घट्न नदिन निरन्तर बढीभन्दा बढी कन्टेन्ट थपिरहेको उनको भनाइ छ । कन्टेन्ट व्यवसायमा लाभ हुन्छ कि हुँदैन भनेर प्रक्षेपण गर्न अति नै गाह्रो मध्ये एक भएको नाथानसनले अझ अगाडि भनेका छन् । 
धेरै आशा नगर 
शेयर लगानीकर्ताहरुमा नेटफ्लिक्सको शेयरप्रति मोहधेरै पुरानो भएकै छैन । तर अहिले त्यो कुरा आकाशको फल जस्तो लाग्छ । कम्पनीको शेयर नोभेम्बरमा मात्रै प्रतिकित्ता ७०० डलरमा थियो । तर गएको मंगलवार बजार बन्द हुँदा यो ३६६ डलरमा थियो । पछिल्लो केही दिनयता शेयरको भाउ घट्ने क्रम रोकिएको छैन । 
किन घट्यो शेयर ?
नेटफ्लिक्सको शेयर मूल्य घट्नुको एउटा कारण यसको नयाँ सब्सक्राइबर थप्ने लक्ष्य पूरा नहुनु हो । अर्को चाहीं सञ्चालन मुनाफामा आएको उच्च कमी पनि हो । कम्पनीले नयाँ - नयाँ कन्टेन्ट बनाउन खर्च बढाउन थालेसँगै सञ्चालन मुनाफा गएको त्रैमासमा ८३ प्रतिशतले घटेको थियो ।

सो अवधिमा कम्पनीले नयाँ सब्सक्राइबर लक्ष्य पूरा गर्न सकेन । गत वर्षको अत्यमा कम्पनीका सब्सक्राइबर २२ करोड १८ लाख थिए । यो डिज्नीलगायत अन्य स्ट्रिमिङ कम्पनीका तुलनामा धेरै हो । तर नेटफ्लिक्सको सब्क्राइबर वृद्धि भने अरुको तुलनामा निकै सुस्त छ । सन् २०२० को अक्टोबरदेखि सन् २०२१ को अक्टोबरको बीचमा डिज्नीको सब्सक्राइबर ६० प्रतिशतले बढेको छ । तर सो अवधिमा नेटफ्लिक्सको सब्सक्राइबर ९ प्रतिशतले मात्रै बढ्यो । 

कन्टेन्टमा बढाएको खर्चका कारण सञ्चालन मुनाफामा उच्च कमी आएको छ । कम्पनीसँग भएको नगद सञ्चिति घट्दा पनि शेयर मूल्य प्रभावित भइरहेको छ । अमेरिकामा कम्पनीको वृद्धि सुस्ताएको छ । तर कम्पनीको व्यवसाय भारत लगायत एशिया प्रशान्त क्षेत्रका अन्य देशजस्ता बजारमा आक्रामक रुपमा बढ्न थालेको छ । 

कम्पनीको आम्दानीमा सब्सक्रिप्शनमाथि उच्च निर्भरता समस्याका रुपमा देखिएको छ । सब्क्राइबर वृद्धि संधै एकनाश हुँदैन । एक न एक दिन त सब्सक्रिप्शन नलिएका मानिसहरु पाइन छाड्नेछ । कम्पनीको वृद्धि क्षमताबारे चिन्तित लगानीकर्ताका लागि यो दुःखद खबर हो । 

नेटफ्लिक्सको शेयरमा आएको कमी कम्पनीमा व्याप्त समस्याभन्दा पनि वालस्ट्रिटको समस्या भएको अनुसन्धानमा आधारित सञ्चार कम्पनी म्यागिडमा प्रोग्रामिङ उपाध्यक्ष ज्याक शेख बताउँछन् । दीर्घकालमा नेटफ्लिक्सले आफूले सधैं सब्सक्राइबर थप्न सक्दिन भन्ने कुराको सामना गर्नु पर्ने ज्याक बताउँछन् । 

कम्पनीले वृद्धिमा आएको सुस्तीको प्रभाव उल्टयाउन गेमिङजस्ता अन्य क्षेत्रमा लगानी गर्न लागेको छ । अर्को तरिका मूल्य वृद्धि हो । तर प्रतिस्पर्धा चर्किदै जाँदा यो पनि कठिन साबित हुनेछ । कम्पनीले साइन अपमा देखिएको सुस्तीको प्रभाव कम गर्न मूल्य बढाएको हुनु पर्छ । तर यसले साइन अफ झनै स्थिर बनाउन सक्नेछ । 

केही उपभोक्ताका लागि थोरै नै भएपनि शुल्क वृद्धि भएपछि नेटफ्लिक्सको ढोकामा यति धेरै प्रतिस्पर्धीहरु छन् नि यही किन चलाउनु पर्यो भनेर पनि सोच्न थाल्छन् । डिज्नी प्लस, पिकक र एचबीओ म्याक्सले पनि स्ट्रिमिङ सेवा दिइरहेका छन् । यसले गर्दा एक डलर कम वा थोरै हुँदा पनि उपभोक्ताहरुले जिब्रो टोक्छन् अनि खल्ती छाम्छन् । 

प्रतिस्पर्धाका कारण आफ्नो मुनाफा मार्जिन प्रभावित भइरहेको नेटफ्लिक्स स्वयम्ले  पनि स्वीकार गरेको थियो । कोरोना भाइरसको महामारीको ओभरह्याङ र आर्थिक कठिनाईका कारण पनि कम्पनीको वित्तीय परिदृश्य कमजोर देखिएको नेटफ्लिक्सका सह–सीईओ रिट ह्यास्टिङ्सले केही दिन अगाडि बताएका थिए ।

यद्यपि, यस वर्ष कम्पनीको वृद्धिप्रति उनी निकै आशावादी देखिए । तर सन् २०२२ कम्पनीको वृद्धि र प्रतिस्पर्धाका लागि चिन्ता गर्नुपर्ने वर्ष हुनेमा नाथानसनले जोड दिएका छन् । एजेन्सीहरुको सहयोगमा

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement