ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

प्यासन इकोनोमी : महामारीले फस्टाएको नवीन क्षेत्र

बैंकिङसँग पारस्परिक हितमा आधारित अन्योन्याश्रित सम्बन्ध

२०७८ माघ, १३  
लेख | दृष्टिकोण
Image Not Found

कोभिड–१९ को महामारीपछि फस्टाउने मौका पाएका विधाहरूमध्ये सोखमा आधारित अर्थव्यवस्था (प्यासन इकोनोमी) पनि एक प्रमुख रूपमा रहेको पाइन्छ । महामारीले यसलाई कसरी फस्टाउने अवसर प्रदान गर्‍यो र त्यो अवसरलाई नेपालजस्ता देशहरूमा कसरी सदुपयोग गर्न सकिन्छ भन्ने विषयमा विस्तृतमा चर्चा नगरी यो आलेखमा भने प्यासन इकोनोमीको बारेमा परिचयात्मक चर्चा गर्ने प्रयास गरिएको छ ।

प्यासन इकोनोमीलाई बढावा दिन जसरी बैंकहरूको अहं भूमिका रहन्छ त्यसै गरी बैंकहरूको व्यवसाय विस्तारमा पनि यसले महत्वपूर्ण योगदान दिन सक्छ ।

सोखमा आधारित अर्थव्यवस्था बुझ्नु पहिले पठाओ, फूडमान्डु, फूडमारिओजस्ता डिजिटल रूपमा कुनै एपको माध्यमबाट सेवा प्रवाह हुने गरी अहिले विकसित व्यवसायको बारेमा चर्चा गरौं । यस्ता व्यवसायहरूमा सेवाप्रदायक व्यक्ति र उसलाई रोजगारी दिने कम्पनीको बीचमा आंशिक सम्बन्ध कायम रहेको हुन्छ र त्यो पनि उसले ग्राहकलाई सेवा दिने अवधिको लागि मात्र । एक किसिमले भन्ने हो भने अनलाइन माध्यमबाट आफूलाई कम्पनी र ग्राहकबीच आबद्धता कायम गर्न व्यक्तिहरू स्वतन्त्र हुन्छन् । कम्पनीहरूले स्वैच्छिक रूपमा उपलब्ध श्रमशक्तिलाई निश्चित कार्यका लागि अस्थायी रूपमा मात्र सम्बन्धन कायम गराउने प्रकृतिको हुने भएकाले नेपालमा पनि व्यक्तिगत सवारीसाधन हुनेहरूले समेत पठाओ सेवामा आफूलाई स्वैच्छिक रूपमा संलग्न गराएका छन् । डिजिटल माध्यमबाट हुने यस प्रकारको वस्तु तथा सेवासम्बन्धी कारोबारको व्यवस्थालाई चाहिँ ‘गिग अर्थव्यवस्था’ भनिन्छ । योभन्दा एक कदम अगाडि बढेर सोखमा आधारित अर्थव्यवस्थाले भने अझ केही बृहद् दायरा समेटेको छ ।

सोखमा आधारित अर्थव्यवस्थालाई आम रूपमा ‘प्यासन इकोनोमी’ भनेर भन्ने गरिन्छ । अपेक्षाकृत रूपमा यो शब्दावली विश्वकै परिप्रेक्ष्यमा समेत नौलो रहेकाले नेपाली सन्दर्भमा पनि यो त्यति धेरै चल्तीको पदावली बनिसकेको छैन । त्यसैले सबैभन्दा पहिले ‘प्यासन इकोनोमी’लाई सजिलो तरिकाले बुझ्ने प्रयास गरौं ।

के हो प्यासन इकोनोमी ?
यसलाई भविष्यको ‘कार्य पद्धति’ भनेर धेरैले भन्ने गरेका छन् । यसले कुनै पनि व्यक्तिलाई आफूले चाहेको वा आफ्नो सोखको काम आफूले भनेको समयमा भनेको स्थानबाट भनेको तरिकाले सम्पन्न गरी आय आर्जन गर्ने स्वतन्त्रता उपलब्ध गराउँछ । वास्तवमा यसले कुनै पनि व्यक्तिमा हुने क्षमतालाई मुद्रामा परिणत गराउने उपयुक्त माध्यमको रूपमा अहं भूमिका निर्वाह गरेको हुन्छ ।

अर्को शब्दमा भन्ने हो भने कुनै पनि व्यक्तिमा भएको उसको विशिष्ट प्रकारको शीप, सोख तथा क्षमतालाई डिजिटल प्लेटफर्मको माध्यम उपयोग गरेर मौद्रिक आम्दानीमा परिणत गर्ने व्यवस्थालाई नै ‘प्यासन इकोनोमी’ भनेर बुझ्न सकिन्छ ।

‘न्यू योर्कर’ का स्तम्भकार एडम डेविडसनले ‘प्यासन इकोनोमी’ नामक पुस्तकको माध्यमबाट यो शब्दावलीलाई पहिलोपटक व्याख्या गरेका थिए । त्यसैले यो शब्दावलीको उत्पत्तिको श्रेय पनि उनैलाई जान्छ । उक्त पुस्तकमा उनले व्याख्या गरेअनुसार अहिलेको अर्थ व्यवस्थामा आम रूपमा प्रयुक्त ‘व्यवसाय’ तथा ‘नाफा’ जस्ता चल्तीका ‘तत्त्व’हरूलाई कुनै पनि व्यक्तिले आफ्नो ‘सोख’,’ कला’ तथा ‘क्षमता’ सँग पनि एकाकार गरी दिगो तथा भरपर्दो रूपमा ‘आत्म–ब्रान्ड’को विकास गर्न सक्छ ।

प्यासन इकोनोमीका अवयवहरू
प्यासन इकोनोमीमा व्यक्तिमा निहित क्षमता, शीप तथा सोखलाई विकास र विक्रीयोग्य बनाउन सघाउने डिजिटल प्लेटफर्मको अस्तित्व हुनुलाई पहिलो शर्त मानिन्छ । तर, प्लेटफर्म मात्र उपलब्ध भएर भएन, त्यो प्लेटफर्मको सदुपयोग गर्न सक्ने वास्तवमै सोखिन तथा दक्ष व्यक्ति हुनु पनि अर्को महत्त्वपूर्ण पूर्वशर्त रहने नै भयो ।

प्लेटफर्म पनि छ र त्यसलाई उपयोग गरेर आफ्नो दक्षता विक्री गर्ने मानिसहरू पनि छन् भन्दैमा यस्तो व्यवस्था त्यतिखेरसम्म सफल हुन सक्दैन जतिबेलासम्म ती व्यक्तिहरूले उपलब्ध गराउने वस्तु तथा सेवाको महत्त्व बुझेर तिनको उपभोग गर्ने जमातको सृजना हुँदैन । त्यसैले यी तीन पक्षलाई सफल ‘प्यासन इकोनोमी’का त्रिखम्बा तथा विविध प्रकारका प्यासन इकोनोमीमा आवश्यक अवयवहरू मान्न सकिन्छ ।

अनलाइन ट्युसन पढाउने, अनलाइन कोर्स गराउने, तथा त्यस्तै प्रकृतिका अनलाइनको माध्यमबाट व्यावसायिक तथा प्राविधिक तालीम प्रदान गर्नेजस्ता क्रियाकलाप ‘प्यासन इकोनोमी’का ज्वलन्त उदाहरण हुन् ।

त्यसैगरी विभिन्न व्यावसायिक क्षेत्रका लागि उपयोगी हुने किसिमका न्यूजलेटरहरू प्रकाशित गरी त्यसबापत शुल्क असुल्ने तथा कसैकसैले पुस्तक नै निकालेर तथा मुद्रण गर्न मिल्ने प्रकृतिका कलाकृतिहरू समेत अनलाइनमा राखेर पनि आफ्नो कला तथा शीपलाई मौद्रिक आयमा रूपान्तरण गरिरहेका हुन सक्छन् । यी पनि पनि प्यासन इकोनोमीका उदाहरण हुन् ।

यसका लागि इन्टरनेटमा धेरै प्रकारका प्लेटफर्महरू उपलब्ध छन् । उदाहरणका लागि पोडिया भन्ने साइटले सर्जकहरूलाई डाउनलोड गर्न मिल्ने प्रकारका शैक्षिक सामग्रीहरू उत्पादन गर्ने र विक्री गर्ने मञ्च उपलब्ध गराउँछ भने रिभ्युले यस्तै प्रकारका न्यूजलेटर विकास गर्न मद्दत गर्छ । यस्ता वेबसाइटहरूले अनलाइन ग्राहक बनाउने जस्तो माध्यमबाट पनि सर्जकहरूलाई दिगो अर्थोपार्जनका लागि मद्दत गरिरेहेका हुन्छन् ।

 यस्तै एउटा ‘सबस्ट्याक’ नामक प्लेटफर्मका एक लेखकले पाठकहरूबाट प्राप्त शुल्कबाट मात्र वार्षिक ५ लाख डलरभन्दा बढी आम्दानी गर्ने गरेको बताइन्छ । त्यस्तै पोडियामा पनि महीना १ लाख डलरभन्दा बढी आम्दानी गर्नेहरू पनि प्रशस्त छन् भनिन्छ ।

यी माथि उल्लिखित साइटहरू मात्र होइन, इबे, इट्सी, यु टुब, इन्स्टाग्राम, त्विचजस्ता अनलाइन प्लेटफर्ममार्फत पनि व्यक्तिहरूले आम्दानी गरिरहेका छन् । एक अनौपचारिक तथ्यांकअनुसार अमेरिकामा मात्र यस्तो प्यासन इकोनोमीको माध्यमबाट करीब पौने २ करोड व्यक्तिहरूले ७ अर्ब डलरभन्दा बढी वार्षिक आम्दानी गर्छन् । क्षमता अनुभव र सम्बन्धलाई एकआपसमा जोडेर यस्ता प्लेटफर्महरूले उनीहरूलाई आम्दानी गर्न मद्दत गरेका छन् ।

‘गिग’ व्यवस्थामा जस्तो व्यक्तिलाई ऊ आबद्ध भएको संस्थाले आंशिक रूपमा भए पनि गर्ने गरेको नियन्त्रण यस्तो प्यासन इकोनोमीमा नहुने भएकाले पनि यो दिन प्रतिदिन लोकप्रिय हुँदै गएको पाइन्छ ।

प्यासन इकोनोमीलाई बढावा दिन जसरी बैंकहरूको अहं भूमिका रहन्छ त्यसै गरी बैंकहरूको व्यवसाय विस्तारमा पनि यसले महत्त्वपूर्ण योगदान दिन सक्छ । यसलाई अझ स्पष्ट रूपमा बुझ्नका लागि इत्सीकै उदाहरण लिन सकिन्छ । यो साइटले गतवर्ष करीब ४४ लाख व्यक्तिहरूको करीब १० अर्ब डलर बराबरको ‘सेवा तथा वस्तु’ विक्री गर्ने प्लेटफर्मका रूपमा भूमिका निर्वाह गरेको थियो । यसरी वस्तु तथा सेवा विक्री गर्नेहरू मध्ये ८१ प्रतिशतजति महिला रहेका थिए र तीमध्ये पनि ८३ प्रतिशत महिलाचाहिँ एकल व्यवसायी रहेका र ती एकल व्यवसायीमध्ये पनि ९७ प्रतिशतले आफ्नै घरबाट यस्तो वस्तु तथा सेवा विक्री गरेको तथ्य बाहिर आएको थियो । यस्तो तथ्यांकले आगामी दिनहरूमा बैंकहरूका लागि व्यवसाय विस्तारको नयाँ क्षेत्रतर्फ संकेत गरेको छ । यसरी बैंक तथा ‘प्यासन इकोनोमी’ बीच पारस्परिक हितमा कायम हुने अन्योन्याश्रित सम्बन्धका बारेमा आगामी दिनहरूमा थप चर्चा गर्नु सान्दर्भिक हुनेछ ।

लेखक बैंकर हुन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

tanka prasad lamsal

[Jan 30, 2022 05:06am]

very wonderful article sir!



   

Riddhi Siddhi Cement