ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

काभ्रेका तीन नगरमा वितरण हुँदै खानेपानी

२०७८ माघ, १३  
वाग्मती प्रदेश
NA

काभ्रेपलाञ्चोक । ११ वर्षअघि सुरु गरिएको काभ्रेपलाञ्चोक उपत्यका एकीकृत खानेपानी आयोजनाको काम करिब ९८ प्रतिशत सकिएको छ । खानेपानीको समस्याबाट गुज्रिएका धुलिखेल, बनेपा र पनौतीका बासिन्दाले अब केही महिनामै २४ सै घन्टा स्वच्छ खानेपानी पाउने भएका हुन् । तीन नगरका करिब ९३ हजार बासिन्दालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले ११ वर्षअघि सरकार र एसियाली विकास बैंक (एडीबी) बीच ऋण सम्झौता गरी आयोजना प्रक्रिया सुरु गरिएको थियो ।

सन् २०१० अक्टोबर २६ मा सम्झौता गरिएको खानेपानी आयोजना करिब १ अर्ब रुपैयाँमा सम्पन्न हुने जनाइएको छ । रिजर्भवायर ट्यांकी निर्माण र पाइप ओछ्याउनेलगायत भौतिक पूर्वाधारको सम्पूर्ण काम सम्पन्न भएको आयोजनाका सामुदायिक विकास अधिकृत कृष्णप्रसाद कायस्थले जानकारी दिए । कायस्थका अनुसार भौतिक पूर्वाधार निर्माण सकिएपछि परीक्षणस्वरूप हाल पनौतीको शारदा देवीस्थानमा पानी पुर्‍याइएको छ भने पानी वितरणका लागि व्यवस्थित गरिएका पाइपमा प्रेसर तथा चुहावट परीक्षणको काम भइरहेको छ ।

उनले भने, ‘मुख्य तथा अन्य पाइपलाइनमा प्रेसर जाँचको काम बाँकी छ, धमाधम घरमा धारा जडान प्रक्रिया थालिएको छ ।’ उनका अनुसार आयोजनाअन्तर्गत अन्तिम चरणमा तीनै नगरमा हाल सञ्चालित खानेपानी आयोजना तथा उपभोक्ता समितिमार्फत वितरण भएको पानीको पाइपमा नयाँ खानेपानीको पाइप जडान गर्ने (इन्टर कनेक्सन) को काम भइरहेको छ ।

तीन नगर र सडक विभागले सडक विस्तारका क्रममा कतिपय स्थानमा खानेपानीको पाइप फुटेकाले पछिल्ला केही महिना खानेपानी अयोजनाको काममा ढिलाइ भएको बताइएको छ । आयोजनाअनुसार क्षति पुर्‍याएका नगर र विभागले नै बनाइदिएका छन् । तीन नगरका १ हजार ११४ इन्टर कनेक्सन गर्नुपर्नेमा हाल ७ सय हाराहारी इन्टर कनेक्सन भइसकेको आयोजनाले जनाएको छ । उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन फिल्टर मिडिया जडानसमेत गरिएको छ ।

चिनियाँ ठेकेदार कम्पनी निम्वो निङसिङ इन्टरनेशनल इंकले केही महिनाभित्र काम सम्पन्न हुने जनाएको छ । आयोजना सम्पन्न भएपछि सन् २०२४ सालसम्मको लागि तीन पालिकाका करिब ९३ हजारका लागि ‘नेपाल स्ट्यान्डर्ड’ को पर्याप्त मात्रामा गुणस्तरीय स्वच्छ खानेपानी उपभोग गर्न पाउनेछन् । ‘अबको केही महिनामा तीन नगरका जनताले स्वच्छ पिउने खानेपानी पाउँदै छन्, यो निकै सुखद विषय हो’, धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले भने । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement