ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

५ अर्बको लागतमा नारायणी नदीमा तटबन्ध निर्माण शुरु, पहिलो खण्डको बोलपत्र आह्वान

२०७८ माघ, १३  
वाग्मती प्रदेश विकास
Image Not Found

माघ १३, चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रू. चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण शुरु गरिएको छ । 

तटबन्ध निर्माणका लागि पहिलो खण्डको बोलपत्र आह्वान भइसकेको छ । बाँकी चार खण्डको आउँदो दुई साताभित्र बोलपत्र आह्वान गर्ने गरी काम अघि बढाइएको छ ।

सिँचाइ विभागका महानिर्देशक शुशिलचन्द्र आचार्यका अनुसार दुई साताभित्र सबै खण्डको बोलपत्र आह्वान भइसक्ने छ । उनका अनुसार पहिलो खण्ड भरतपुर महानगरपालिका वडा नं २६ र २७ मा पर्ने पाँच किलोमिटर ६७२ मिटरको बोलपत्र भइसकेको छ । 

नारायणी नदी तटबन्धन व्यवस्थापन आयोजना भरतपुरका प्रमुख रविन्द्रकुमार थापाका अनुसार अन्य खण्डको बोलपत्र प्रकाशनको तयारी गरिएको छ । उनले भने ‘अहिले म विभागमै रहेर बोलपत्रका लागि आवश्यक प्रक्रियाका काममा जुटेको छु, १०/१२ दिनभित्र सबै बोलपत्र प्रकाशित हुन्छन् ।’

पाँच खण्डमा विभाजन गरेर बोलपत्र आब्हान गरिंदै छ । हरेक वर्ष बाढीले दुःख दिने गरेको सिसई क्षेत्रको बोलपत्र चाँडो प्रकाशित गरिएको हो । यसै वर्षको वर्षात्मा बाढी रोक्न सकियोस् भनेर काम थालिएको उनको भनाइ छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शिवजी साहका अनुसार कंक्रिटको ब्लक, जाली र साना ठूला ढुंगा राखेर त्यहाँ तटबन्ध गरिंदै छ । तीन मिटरदेखि चार दशमलव पाँच मिटरसम्म उचाइको तटबन्ध निर्माण गरिंदै छ । 

महानगरपालिका प्रमुख रेनु दाहालले अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता भइसकेकाले अब बहुवर्षिय ठेक्कामार्फत् काम सम्पन्न हुने बताइन् । नारायणी नदी तटबन्ध गरी पश्चिम चितवनलाई सुरक्षित गराउन सम्बन्धित निकायमा निरन्तररुपमा लागि परेकै कारण उपलब्धी भएको उनको भनाइ छ । 

नदी तटबन्धका लागि गुरुयोजना तयार भएको छ । गुरुयोजनालाई सिँचाइ विभागले स्विकृत गरी अर्थ मन्त्रालय पठाएको हो । त्यसमा चितवन र नवलपरासीतर्फ तटबन्धका लागि रू. २३ अर्ब ५८ करोड ४३ लाख खर्च लाग्ने प्रस्तावित लागत आएको छ । 

सोमध्ये पहिलो चरणमा रू. पाँच अर्बको कामका लागि बहुवर्षिय खरीद कार्य अघि बढाउन बजेट सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल पठाइएको थियो । 

नारायणी नदीले चितवनतर्फ भरतपुर महानगरपालिका र नवलपरासीतर्फ गैंडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका एवम् बिनयत्रिवेणी गाउँपालिका प्रभावित हुँदै आएका छन् । कार्यालयका सिनियर डिभिजनल इन्जिनियर दिनेश पौडेलले गुरु योजनाअनुसार चितवनतर्फ ३५ किलोमिटर र नवलपरासीतर्फ ५७ किलोमिटर तटबन्ध र स्पर निर्माण गरिने छ । 

चितवनका लागि रू. नौ अर्ब ५५ करोड र नवलपरासीका लागि रू. १४ अर्ब ४३ करोड खर्च लाग्ने प्रस्तावित लागत रहेको बताए । हालसम्म चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ ११ किलोमिटर तटबन्ध गरिसकिएको छ । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement