ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

कोटेश्वर–जडीबुटी सडक चैतसम्ममा सम्पन्न गरिने

२०७८ माघ, १४  
समाचार
NA

काठमाडौं । उपत्यकाको बढी सवारी चाप भएको सडकमा पर्ने कोटेश्वर–जडीबुटी विस्तार एकातर्फ सकिएको छ भने अर्कातर्फको काम चैतसम्ममा सकिने गरी अघि बढाइएको छ ।

दक्षिणतर्फ विस्तार सकिएको र उत्तरतर्फ काम भइरहेको डिभिजन सडक कार्यालय काठमाडौंले बताएको छ । दक्षिणतिर चिसो नआउँदा नै सकिएको तर उत्तरतर्फ तल्लो भागको काम सकाउँदा नै चिसो बढिसकेको डिभिजनका सूचना अधिकार इञ्जिनियर सुमित केसीले बताए । ‘चिसो सकिनासाथ कालोपत्र पनि गर्न सकिनेछ,’ उनले भने ।

उत्तरतर्फको निर्माणस्थलमा एउटा घर रहेको छ, जुन घरका कारणले पनि विस्तारमा समस्या भएको डिभिजनले बताएको छ । घरधनी स्थानान्तरणका लागि सहमत नभए पछि अहिले सो विषय मुद्दामा छ । कोभिड संक्रमणका लागि असर पुगेका अरू ठेक्का जसरी यो ठेक्काको अवधि आगामी चैतसम्मका लागि थप भएको छ । त्यति बेलासम्म निर्माण सकिने इञ्जिनियर केसीले बताए । काममा अवरोध नभए ‘बेस’ एक सातामा र ‘ओभरले’ एक साता गरी जम्मा दुई सातामा सम्पन्न हुने उनको भनाइ छ ।

काठमाडौं उपत्यका भित्रने एक प्रमख नाकाको रूपमा यो सडक रहेको छ । खासगरी प्रदेश १ र मधेस प्रदेशसँगै बागमती प्रदेशका विभिन्न जिल्लाबाट उपत्यका भित्रिनका लागि यही नाका छ । अरनिको, मध्यपहाडी, बीपीलगायतका राजमार्गका कारण पनि सडकको चाप बढिरहँदा यहाँ सडक घण्टौं जाम हुने गरेको थियो । सबैतिरबाट सवारीसाधन आउने, तर चोक सानो हुँदा भीडभाड हुने गरेको थियो । चोक चौडा गरेसँगै जाम नियन्त्रणमा सहज रूपमा हुने अपेक्षा गरिएको छ । कोटेश्वरबाट जडीबुटीतर्फ लाग्दा देब्रे (उत्तर)तर्फ एक लेन र दाहिने (दक्षिण)तर्फ दुई लेन थप्ने गरी निर्माण शुरू गरिएको थियो । विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तारलाई बाटो खुलेको थियो । सडक सम्पन्न भएपछि जडीबुटीबाट आएका सवारीसाधन कोटेश्वर हुँदै बालकुमारीतर्फ र कोटेश्वरबाट आएका सवारीसाधन जडीबुटी हुँदै पेप्सीकोलातर्फ जान रोकिने छैनन् । चोक नै पार गर्नुपर्दा केही समय रोकिए पनि चोक पार नगर्ने सवारीसाधन भने रोकिने छैनन् । सो सडक आगामी दिनमा मनोहरा पुलसम्म विस्तार गर्ने योजना छ ।

यो सडकमा दैनिक लामो समयसम्म जाम हुँदा यात्रु र सवारीचालक मारमा पर्ने गरेका छन् । तीनकुनेबाट लोकन्थलीसम्म नै जाम हुँदा केही किमी यात्रा गर्न घण्टौं लाग्ने गरेको थियो ।

अहिलेको सडक विस्तार ट्राफिक जामको अल्पकालीन समाधान भए पनि दीर्घकालीन समाधान ‘फ्लाइओभर’ नै भएको सडक विभागले बताउँदै आएको छ । रासस

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement