ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

कृषि उत्पादन र उत्पादत्वमा वृद्धि

२०७८ माघ, १४  
प्रदेश ०१
NA

विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन भएपछि कृषि उत्पादन र उत्पादकत्व बढेको पाइएको छ । स्वदेशी सोच र स्वदेशी पूँजी एवं ज्ञान खर्चिने यो परियोजना सञ्चालनमा आएपछि बालीनालीमा विविधता आएको र उत्पादन बढी रोजगार पनि सृजना भएको सहभागीले बताएका छन् ।

सो परियोजनाको प्रदेश कार्यान्वय एकाइ मोरङद्वारा सुनसरीको झुम्कास्थित कृषि व्यावसायिक प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रमा आयोजित क दोस्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीमा सहभागीले सो धारणा राखेका हुन् । सुपर जोन, जोन, ब्लक तथा पकेट क्षेत्र निर्धारण गरी सञ्चालित यो परियोजनाबाट साना सिँचाइ, बीउबिजन, प्रशोधन, यान्त्रिकीकरणको विस्तार, समूहको गठन, चक्लाबन्दी खेतीको विस्तार भएको पाइएको छ । कम लागतमा बढी उत्पादन गर्न परियोजनाले कृषकलाई अनुदान दिने, यान्त्रिकीकरणमा सहयोग गर्ने, खेत खनजोत गर्न पावर टेलर, ट्र्याक्टरजस्ता अन्य उपकरणमा सहयोग र प्राविधिक ज्ञान दिने गर्दछ ।     

परियोजनाका प्रमुख विनोद मण्डलले यस प्रदेशमा धान सुपर जोन एक, अलैंची जोन पाँच, मकै जोन तीन, आलु जोन, दुई, तरकारी जोन पाँच, सुन्तला जोन पाँच, अदुवा बेसार जोन तीन रहेको प्रष्ट पार्दै चालु आवको दोस्रो त्रैमासिक अवधिमा कुल १२ करोड ८२ लाख ३१ हजार खर्च भएको जानकारी दिए । उनले प्रदेश १ मा कृषिका ५२ वटा ब्लक र पशुका २९ ओटा ब्लक रहेको स्पष्ट पार्दै परियोजना कार्यान्वयनमा देखिएका समस्यामा नीतिगत, प्राविधिक र व्यवस्थापकीय सुधार हुनुपर्ने बताए ।

तेह्रथुम र धनकुटा परियोजना एकाइका प्रमुख बौआलाल चौधरीले चालू आवको दोस्रो त्रैमासिक अवधिमा आफ्ना कार्यक्षेत्रमा सुन्तला ९ करोड ८७ लाख ५२ हजार र अलैंची १६ करोड २० लाख मूल्य बराबरको उत्पादन भएको जानकारी दिए । परियोजना कार्यान्वयन एकाइ संखुवासभाको प्रमुख लक्ष्यबहादुर चौधरीले यस जिल्लामा अलैंची दुई हजार २५० हेक्टर र सुन्तला ९०० हेक्टर लगाइएको जानकारी दिए । यहाँ समूह २३, सहकारी १० कृषि फर्म १३८ रहेको उनले बताए ।     

परियोजना कार्यान्वयन एकाइ झापाका प्रमुख रवीन्द्र सुवेदीले परियोजनाबाट सामूहिकरुपमा खेती गर्ने परम्परा बढेको जानकारी दिए । यस्तै बंगुर नश्ल, माछा भुरा, धान बीउ स्रोत केन्द्र सञ्चालन भएको र बीउमा आत्मनिर्भर भएको उनले बताए । कोशी क्षेत्रमा खेर गएको बलौटे जग्गामा कागती खेती विस्तार एवं माछा पोखरी निर्माण हुनु परियोजनाको उपलब्धि भएको उनले बताए । सो अवसरमा परियोजना व्यवस्थापन एकाइ खुमलटारका वरिष्ठ कृषि अधिकृत डा. जित चन्दले परियोजनाले नेपाली जनतालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने र प्रशस्त रोजगारी सृजना गर्ने उद्देश्य रहेकाले यसमा सबैले आ–आफ्ना दायित्व पूरा गर्न आग्रह गरे । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement