ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

गुरु एक चेला अनेक

२०७८ माघ, १४  
तीतो मीठो
author avatar मदन लम्साल

बाहिरबाट हेर्दा मुलुकमा कोही सत्ता पक्ष छन्, कोही विपक्ष छन् । तर भित्र यहाँ न कोही सत्ता पक्ष छ, न कोही विपक्ष । यथार्थमा यहाँ सबै सत्ता पक्षकै छन् । भन्नुहोला कोही सिंहदरबारमा तर मारिरहेका छन्, तर कोही माइतीघर मण्डलातिर कर कर गरिरहेका छन् । कोही भित्रभित्रै अण्डा खाइरहेका छन्, कोही सडकतिर डण्डा खाइरहेका छन् । यो के हो त ?

ज्वरो आउँदा जनताले सिटामोलसम्म नपाउने कार्टेलिङ चलाइएको छ देशमा । तर सत्ता पक्ष होस् वा विपक्षका नेता सामान्य बिरामी हुँदासमेत पृथ्वीभरिका जुन अस्पतालमा, जति दिन, जति खर्च लागे पनि हरेक सरकारले तुरुन्त खर्चपर्चको जोहो राज्यकोषबाटै गरिदिन्छ ।

यो केवल चटक मात्र हो । जसले राज्यभित्रको राज्य अर्थात् डिपस्टेटको कोठाचोटा देखेको छैन, उनीहरूले मात्र हो सत्ता पक्ष र प्रतिपक्ष भनेर देख्ने । तर एकचोटि दिव्यचक्षुले त्यो डिपस्टेट कोठा चहार्ने मौका पायो भने बल्ल तपाईंलाई पनि तत्त्वज्ञान हुन्छ अनि भन्नुहुनेछ कि ओहो ⁄ यहाँ त सबै सत्तापक्ष मात्रै पो रहेछन् भनेर ।

त्यो डिपस्टेटको दर्शन गर्न पाउनुभएन भने पनि केही छैन । ‘नेपालमा प्रतिपक्ष कोही छैनन्, यहाँ सबै केवल सत्ता पक्ष मात्र छन्’ भन्ने तमाम प्रमाणहरू यहाँ पनि छन् । लौ हेर्नोस् ।

  • चाहे बैठक बसेर वा बैठकै नबसे पनि भत्ता पचाउने कुरामा होस् या भूपू भीआईपीहरूलाई सेवासुविधा दिने, पैसा आउने कुरामा सत्ता र प्रतिपक्षबीच विवाद भएको कहिल्यै देख्नु वा सुन्नु भा छ ?
  • नेताका खेतालाहरू एकआपसमा टाउको फुटाफुट गर्छन् । तर नेताहरू एकआपसमा लडेर टाउको फुटाएको अथवा विचार, सिद्धान्त वा जनताका समस्या समाधानका खातिर दिमाग लडाएको कतै देख्नुभएको छ ? उनीहरूको काम त झगडा गरेजस्तो गरेर खेतालाहरूलाई भिड्ने वातावरण बनाइदिने पो हो त ।
  • ज्वरो आउँदा जनताले सिटामोलसम्म नपाउने कार्टेलिङ चलाइएको छ देशमा । तर सत्ता पक्ष होस् वा विपक्षका नेता सामान्य बिरामी हुँदासमेत पृथ्वीभरिका जुन अस्पतालमा, जति दिन, जति खर्च लागे पनि हरेक सरकारले तुरुन्त खर्चपर्चको जोहो राज्यकोषबाटै गरिदिन्छ । खेतालाहरू मात्रै हो गाउँघर, टोलछिमेकमा बोलचाल बन्द गर्ने त ।
  • अनि कतिपय ठूला ठेकेदार, बिचौलिया आदिसँग के सत्तापक्ष के प्रतिपक्ष सबैको मायाप्रेम बराबरी नै हुन्छ । हुरी आए पनि बतास आए पनि हिमालयबाट यति झरे पनि सबैलाई सबैले ओत दिइराखेकै हुन्छन् ।
  • चुनावमा टाउकेहरू नहार्ने सहमति पहिल्यै गरिएको हुन्छ, बत्ती निभाएर, खाली मतपत्र झिकाएर वा मतपत्र च्यातेरै भए पनि । अलि मुनिका यसो लडेजस्तो गर्छन् । क्रिक्रेट, फुटबलजस्ता खेलमा ‘म्याच फिक्स्ड’ भएको थाहा नपाएका दर्शकहरू वा डब्ल्यूडब्ल्यूएफको मारपिटको नाटकलाई साँच्चिकै भनी विनासित्तीमा उफ्रनेहरू झैं चुनावको चतुर्‍याइँ नबुझ्नेहरू मात्र एकआपसमा कुटाकुट, मारामार गर्छन् ।

अनेकतामा यस्तो एकता ? यो कसरी सम्भव भयो त ?

हेर्नुस्, बाहिरबाट हेर्दा कुकुर र बिरालाजस्ता देखिए तापनि यिनको भित्री चालढाल मात्र हैन बास, गोठ, पानी, पँधेरो, आहाल पनि सबै एउटै छ । किनकि के सत्तापक्ष, के प्रतिपक्ष सबैको गुरुकुल एउटै छ । फेरि यी सबै गुरुका परमभक्त हुन्, जो गुरुको आदेश शिरोपर गर्नुलाई जीवनकै परम कर्तव्य मान्छन् । त्यसैले गुरुले जे दिन्छन्, त्यसैमा चित्त बुझाउनु नै उनीहरूको गुरुप्रतिको सच्चा भक्ति हो ।

अनि यिनका गुरु पनि अद्भूत छन्, विश्वरूप जस्ता सबै थोक बन्न सक्छन् । कहिले कस्को र कहिले कस्को नजिक भएका देखाउन सक्छन् । सबैको हैसियत बराबरी छ भन्ने देखाउन पनि सक्छन् । यिनको गुरुत्व बुझ्नै गाह्रो ।

गुरुले पनि उनीहरूलाई सबैको पालो आउने विश्वास जो दिलाएका हुन्छन् । सबैको पालो पुगेपछि दोहोर्‍याएर, तेहेर्‍याएर पनि दिउँला भनी गुरुले वचन दिएका हुन्छन् । अहिलेसम्म गुरुको वचन न यिनीहरूले उल्लंघन गरेका छन्, न त गुरुले नै आफ्नो वाचा खासै तोडेका छन् । त्यसैले देख्नुभएन एक हुल मानिसलाई चुनावै नलडी गुरुले सांसद बनाइदिएको ? देख्नुभएन चुनाव हारेकोलाई पनि बडाकाजीको पगरीसमेत गुथाइदिएको ? हुँदा हुँदा थाहा पाउनुभएन र नियानिसाफ गर्ने काजीलाई पनि बडाकाजी बनाएर गुरुले आफ्नो चमत्कार देखाइदिएको ?

आलोपालो भूमिका दिनमा पनि गुरु बडा सिपालु छन् । एउटालाई हटाउने बेलामै उसलाई फेरि पालो आउने कुरामा आश्वस्त पार्न भ्याउँछन् । त्यसैले त गणेशले शिव–पार्वतीलाई परिक्रमा गरेझैं यी गुरुभक्तहरू सबै गुरुकै वरिपरि परिक्रमा गरिरहन्छन्, तर अदृश्य रूपमा । बेला बेलामा गुरुलाई आफ्नो पराक्रम पनि देखाउँछन्, गुरु दक्षिणाको पोको पनि देखाउँछन् । कुनै वचनमा तलमाथि पर्नासाथ वा गुरुले उन्नाईसको बीस र बीसको उन्नाईस गर्नासाथ सडकमा देशप्रेम छचल्क्याउन लगाउँछन् । अनि खेतालाहरूले पनि यसो काम पाउँछन् । तर भित्र भने यिनीहरूको गुरुभक्तिमा रत्ति पनि कमी आएको हुँदैन ।

त्यसैले सबैका गुरु एउटै भएपछि यहाँ न कोही सत्तापक्ष छ, न कोही प्रतिपक्ष छ । अर्थात् सबै एकै पक्षका छन्, ‘काले काले मिलेर खाऊँ भाले’ भन्ने पक्षका । त्यसैले यदि तपाईंले देशमा सत्तापक्ष र प्रतिपक्ष छ भन्ने ठानिरहनु भएको छ भने आजैदेखि जान्नुस् त्यो केवल भ्रम रहेछ भनेर । किनकि, यहाँ गुरु त छन् केवल एक, तर चेला छन् अनेक, जसले नेपालीको वर्तमान र भविष्य तय गर्न दशकौंदेखि सल्बलाइरहेका छन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement