ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

उपमेयर दम्पतीको किबी खेती मोह

२०७८ माघ, १४  
प्रदेश ०१
Image Not Found
author avatar ईश्वर थापा

धनकुटा । तेह्रथुमको लालीगुराँस नगरपालिका–९ सोल्माका देवीप्रसाद पोखरेलले किबी खेती सुरु गरेको ठ्याक्कै ७ वर्ष पुग्यो । उनले टेलिभिजनमा किबी खेतीसम्बन्धी कार्यक्रम हेरेकै भरमा यसको खेती सुरु गरेका हुन् ।

किबी खेती सुरु गरेपछि आम्दानीभन्दा पनि उत्पादन कसरी बढाउने भन्ने चिन्तामा रहन्थे, उनी । इलामबाट २ सय किबीका बिरुवा ल्याएर मकै, कोदो लगाइरहेको जमिनमा उनले किबी खेती सुरु गरेका थिए ।

नयाँ खेती सुरु गर्दा अनुभव, ज्ञान र दक्षता केही नभएका कारणले लगानी माटोमै खेर जान्छ कि, राम्रो आम्दानी हुन्छ भन्ने ठेगान नभएको उनको भनाइ छ ।
पोख्रेलकी श्रीमती तिला पोख्रेल लालीगुराँस नगरपालिका उपप्रमुख हुन् । श्रीमान्ले सुरु गरेको खेतीमा तिलाले पनि साथ दिँदै आएकी छन् । नागरिकको सेवामै व्यस्त हुँदै आएकी उनी फुर्सदको समय बगानमा श्रीमान्लाई सघाउँछिन् ।

परम्परागतभन्दा नयाँ खेती सुरु गरेका दम्पतीलाई नगदेबालीमा बढी आम्दानी लिन सकिन्छ भन्ने ढुक्क छ । ‘मैले खेती सुरु गर्दै गर्दा गाउँलेले बौलायो भने । यति राम्रो अन्न फल्ने ठाउँमा केको सिन्का रोपेको पनि भने ?’ देवीले भने, ‘हौसला दिने बेला उल्टै हतोत्साहित बनाए । तर, म निरन्तर आफूले गरेको खेतीमा लागिरहेँ । जब किबीबाट आम्दानी दिन सुरु भयो, अहिले मेरो खेती देखेर लोभिन्छन् ।’

०७१ सालमा खेती सुरु गरेका पोखरेल दम्पतीले बिक्रीबाट मात्रै वार्षिक ३ लाख बढी आम्दानी लिँदै आएका छन् । थोरै क्षेत्रफलमा धेरै आम्दानी हुने खेती भएकाले उनीहरु आफ्नो खेतीबाट दंग छन् ।

देवी थप्छन्, ‘खेती सुरु गरेको तीन वर्षदेखि उत्पादन सुरु भयो । चार वर्षमा बजारमा पुर्‍याउन सफल भइयो । अहिले बजार राम्रो छ, फोनमार्फत नै माग आउँछ । ग्राहक मागअनुसार उत्पादन गर्न सकेको छैन । बगानलाई अझ विस्तार गर्दै जाने सोचमा छौं । अन्नबाली लगाउँदा बढीमा आठ/दस हजारको उत्पादन हुन्थ्यो तर किबी खेतीबाट वार्षिक ३ लाखभन्दा बढी आम्दानी हुँदै आएको छ ।’

देवीले अहिले जिल्लाकै उत्कृष्ट किसानको रूपमा परिचय बनाइसकेका छन् ।  बगानबाट वार्षिक दुई हजार किलोग्राम किबी उत्पादन हुँदै आएको छ । व्यावसायिक रूपमा उत्पादनमा जुट्दै आएका पोखरेलले बर्सेनि कृषि ज्ञान केन्द्र धनकुटामा कार्यक्रम प्रस्ताव लगे पनि कुनै सहयोग नपाएको गुनासो गरे ।

पोखरेल किबी किसान मात्र नभई प्रशिक्षकको रूपमा स्थापित भइसकेका छन् । यतिबेला गाउँ र विभिन्न जिल्लाबाट किबी खेतीसम्बन्धी सल्लाह र परामर्श लिन किसान उनको बगान आउने गरेका छन् । खेतीसँगै नर्सरीमा बिरुवा उत्पादन गरी बिक्री सुरु गरेका छन् । उनले रेड र ग्रीन जातका किबी खेती गर्दै आएका छन् ।

सुरुमा एक्लै खेती गरेका पोखरेलको सिको गरेर अहिले गाउँमा धेरैजसो किसानले किबी खेती थालेका छन् । पोखरेलको बगानमा उत्पादन भएको किबी राजधानी काठमाडौंलगायत पूर्वका विभिन्न जिल्लामा बिक्री हुँदै आएको छ ।  उत्पादित किबी प्रतिकिलो १ सयदेखि ३ सय रुपैयाँका दरले बिक्री हुँदै आएको छ ।

जिल्लाका ग्रामीण क्षेत्रमा पछिल्लो समय परम्परागत खेतीलाई छाड्दै किसान नगदे बालीतर्फ आकर्षित हुन थालेका छन् ।

कुनै समय नेपालको पहाडी जंगलमा पाइने ठेकी फल हो, किबी । जापानको रैथाने मानिने यो गुणकारी फललाई ‘किबी’ चराले चीन, नेपाल र न्युजिल्यान्ड पुर्‍याएको मानिन्छ । किबीको सबैभन्दा ठूलो व्यावसायिक खेती पनि न्युजिल्यान्डमै रहेको बताइन्छ । न्युजिल्यान्डबाट भारतमा मात्रै वार्षिक २ अर्ब डलरको किबी आयात हुने गरेको तथ्यांक छ ।

किबी पहिलो पटक नेपालमा अमेरिकी वैज्ञानिक नेथानियल वालिचले सन् १८२१ मा पत्ता लगाएका थिए । तर, कतिपयले किबीलाई जापानी रैथाने फल भन्ने गरेका छन् । चीनको याङत्जे उपत्यका किबीको पितृभूमि रहेको विश्वास छ । यो ठूलो झाङ हुने लहरा प्रजातिको काठयुक्त काण्डसहितको पतझड बिरुवा हो । नेपालको पहाडी जंगलमा पाइने ठेकी फल नै किबी हो । सन् १९६० पछि अमेरिकाको क्यालिफोर्नियामा किवीको व्यवसायिक खेती सुरु भएको र सन् १९७४ देखि किबीले अन्तर्राष्ट्रिय पहिचान पाएको बताइन्छ ।

उपयोग तथा औषधीय गुण फलको राजा किबीलाई यार्सा र ग्यानोडार्मा च्याउजत्तिकै औषधीय गुणयुक्त मानिन्छ । किबीलाई शक्तिवर्द्धक र क्यान्सरको औषधी बनाउन प्रयोग गरिन्छ । किबीबाट रक्सी, ब्रान्डी, वाइन, जेली, वियर, जुस, जाम, कस्मेटिक सामग्री आदि बनाउन सकिन्छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement