ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

स्याङ्जाको सिरौसा गाउँबाट एक करोडभन्दा बढीको सुन्तला बेचबिखन

२०७८ माघ, १४  
गण्डकी प्रदेश
Image Not Found

स्याङ्जा । गल्याङ नगरपालिका–७ सिरौसा गाउँबाट यसपटक एक करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको छ । सिरौसा गाउँका किसानले यसपटक सुन्तला बिक्रीबाट १ करोड २५ लाखभन्दा बढी आम्दानी गाउँमा भित्र्याएका हुन् ।

सिरौसाको नवदुर्गा फलफूल तथा कृषि समूहमा आबद्ध किसानको मुख्य आम्दानीको स्रोत सुन्तला खेती भएको समूहका संयोजक भूपराज भण्डारीले बताए । सिरौसा गाउँमा सुन्तला खेती गर्ने किसान दुई समूहमा आबद्ध छन् । दुई समूहमा गरेर ६२ घरधुरी समावेश छन् ।     

‘गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा कमी भयो,’ संयोजक भण्डारीले भने, ‘गत वर्ष गाउँमा सुन्तला बिक्रीबाट डेढ करोडभन्दा बढी रकम भित्रिएको थियो ।’     

समूहमा आबद्ध प्रत्येक घरधुरीले सुन्तला बिक्रीबाट न्यूनतम एक लाखभन्दा बढी आम्दानी गर्ने गरेको उनले बताए । गाउँमा सबैभन्दा पहिलेदेखि व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका संयोजक भण्डारीले मात्रै यो वर्ष सुन्तला बिक्रीबाट १७ लाख आम्दानी गरेका छन् । ‘गाउँमा सुन्तला बिक्रीबाट न्यूनतम एक लाख कमाउने धेरै छन्’, उनले भने, ‘६/७ जनाले चार लाखदेखि १७ लाखसम्म सुन्तला बिक्रीबाट आम्दानी गर्छन् ।’
     
भण्डारीले मात्रै गत वर्ष सुन्तला बिक्रीबाट २२ लाख आम्दानी गरेका  थिए । यस वर्ष सुन्तला उत्पादनमा कमी भएका कारण आम्दानी घटेको उनले बताए । यहाँ उत्पादन भएको सुन्तला अहिले बोटबाट बिक्री भएको हो ।

यहाँको सुन्तला मुख्यगरी काठमाडौं र नारायणगढ बजारमा खपत हुने गरेको छ । ‘स्थानीय बजारमा पनि केही मात्रामा सुन्तला खपत भएको छ तर बाहिरी बजारमा बिक्री गरेको सुन्तलालाई मात्रै आम्दानीका रूपमा राखेका छौं,’ उनले भने, ‘यसपटक बजार मूल्य राम्रो पाएकाले पनि आम्दानी राम्रो भएको हो ।’    
अर्का व्यावसायिक किसान देवीप्रसाद भण्डारीले यस वर्ष सुन्तला बिक्रीबाट ९ लाख आम्दानी गरेका छन् । उनीजस्तै व्यावसायिक किसानले सुन्तलाबाट मनग्य आम्दानी लिन थालेसँगै सुन्तला खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउन किसान आकर्षित भएका छन् ।        

सुन्तलाका नयाँ बोट लगाउने र बगैंचा विस्तार गर्ने बढ्दो क्रममा रहेकाले आगामी वर्षमा उत्पादन बढ्न गई आम्दानीमा पनि वृद्धि हुने विश्वास समूहका संयोजक भूपराज भण्डारीको छ । यस वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनको क्षेत्रभित्र यो ठाउँलाई पनि समेटिएको छ । गल्याङ–७ मा करिब १७ हजार हेक्टर क्षेत्रफलमा सुन्तला बगैंचा रहेको छ । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement