ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

कोरोनाले थला पर्‍यो सामुदायिक घरबास

२०७८ माघ, १४  
गण्डकी प्रदेश
Image Not Found

बागलुङ । कोदोको ढिँडो र बाँकोको गुन्द्रुकले परिचित बागलुङको बरेङमा रहेको सिग्दी सामुदायिक घरबास कोरोना महामारीका कारण थलिएको छ । ०७६ सँगै सञ्चालनमा आएको घरबास ९ महिनामै बन्द भएपछि पुनः सञ्चालनमा आउन नसकेको घरबास सञ्चालक समिति अध्यक्ष हीराबहादुर थापाले बताए ।

उक्त घरबास सञ्चालन भएकोे छोटो समयमै चर्चामा आएको थियो । कोरोना महामारी फैलिने त्रासमा बन्द भएपछि घरबास सञ्चालकले पेसा नै परिवर्तन गरेका छन् । युवा पुस्ता गाउँबाहिर रहेको र घरमा रहेका वयस्कले पनि त्रास कायम रहेको भन्दै घरबास पुनः सञ्चालनका लागि आनाकानी गरेको उनको भनाइ छ । ‘लामो समय कुर्न सकिनँ । अहिले बाख्रापालन गर्न थालेको छु’, सञ्चालक थापाले भने, ‘अब बाख्रा पाल्न छोड्नु कि घरबास सञ्चालन गर्न छाड्नु भएको छ ।’

सिग्दीमा पहिचानका रूपमा रहेको सांस्कृतिक कार्यक्रमका कलाकारले दुई वर्षको अवधिमा विवाह गरे । पुराना कलाकार विवाह गरेर बाहिरिने र नयाँ कलाकार तयार गर्ने समय नभएकाले घरबास सञ्चालनमा ल्याउन अर्को समस्या परेको छ ।

‘हामीले पटक–पटक प्रयास गर्दै आइरहेका छौं । छलफल भइरहेको छ । पहिले सहभागी घरबाहेकका घर समावेश गरेर भए पनि सञ्चालन गर्नुपर्छ भनेका छौं’, उनले भने, ‘तर समुदाय तयार नभएसम्म नहुँदो रहेछ । कलाकार नभए सांस्कृतिक कार्यक्रम नहुने, सांस्कृतिक कार्यक्रमबिनाको घरबासको कोही काम आउँदैन । कोरोनाको समयमा अन्य व्यवसायसँगै  थालिएका घरबास सञ्चालक अझै  सहज रूपमा घरबास सञ्चालनमा फर्किन तयार भएका छैनन् ।

यहाँको घरबासमा लोकल कुखुराको झोल र कोदोको ढिँडो खाने भन्दै छोटो समयमा धेरै पर्यटक त्यहाँ आएको तथ्यांक छ । सबैभन्दा धेरै आन्तरिक पर्यटकको रोजाइ बनेको घरबास कोरोनाका कारण थलिएको हो ।

गुल्मीको सिमानासँग जोडिएको बरेङमा बागलुङ, पर्वत, पोखरा र गुल्मीबाटभन्दा धेरै पर्यटक बुटवलबाट आउने गरेका थिए ।

ठूलो बजार नरहेको गाउँपालिकामा घुम्न आउनेदेखि काम विशेषले आउनेको आश्रयस्थल बनेको घरबास एक वर्ष पनि सञ्चालन नहुँदै बन्द भएको गाउँपालिकाले जनाएको छ । ‘घरबास पुनः सञ्चालनका लागि पहल भइरहेको छ’, गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, ‘कोरोना फैलिएकाले जोडबल गरेका छैनौं तर यसलाई त्यसै मर्न दिँदैनौं ।’

गाउँपालिकाले १० लाख खर्चेर घरबासमा सांस्कृतिक कार्यक्रमका लागि सभाकक्ष बनाइदिएको छ । त्यही कक्षमा अहिले विवाह, व्रतबन्ध र अन्य धार्मिक कार्यक्रम हुने गरेका छन् । त्यस्तै, गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको अनुदान रकम पदमार्गमा खर्चिएको उनले बताए ।

घरबास सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गर्ने क्रममै रहेका बेला महामारीले थला पारेको अध्यक्ष शर्माको  भनाइ छ । ‘हाम्रो प्राकृतिक सम्पदा कौडेको धुरी हो । त्यहाँ घुम्न जानकै लागि सजिलो बनाउन पदमार्ग बनाएका छौं’, उनले भने, ‘यस धुरीबाट अनगन्ती सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।’

सिग्दी घरबासमा एकै पटकमा ३० जनासम्म पर्यटक बस्न सक्छन् । कौडेधुरी नजिकै डाँडामा भ्यूटावर निर्माण गरिएको छ । सत्यावतीको मन्दिर र पौराणिक दरबारका अवशेष र यहाँको प्राकृतिक सम्पदा पर्यटक पुग्नै पर्ने ठाउँ रहेका छन् । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement